माओवादीबाट प्रजातन्त्र खतरामा पर्ने शंका
-पुर्वप्रधानमन्त्री कोइराला
काठमाडौँ, September 26, 2008- पुर्वप्रधानमन्त्री तथा नेपाली
काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अन्मिनले प्रमाणित गरेका हतियार
तत्काल माओवादीबाट नियन्त्रणमा लिन राष्ट्रसंघलाई आग्रह गरेका छन्।
काँग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघले सुरु गरेको 'जहाँ स्कुल त्यहाँ
नेविसंघ' अभियानको काठमाण्डौंमा असोज १० गते उद्घाटन गर्दै कोइरालाले
माओवादीले संयुक्त राष्ट्रसंघको छाप लागेको हतियार लिएर संविधान सभामा गएको
भन्दै विरोध जनाए ।
सभामुखको अधिकार क्षेत्र भित्र हतियार लिएर जाँदा पनि सभामुखले केही
नबोलेको टिप्पणी गर्दै कोइरालाले नेपाली सेनालाई राजनीतिकरण गर्न नहुने
धारणा राखे । माओवादी प्रजातन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको
काँग्रेस सभापति कोइरालाको आरोप छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष
पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूरानो संसदीय व्यवस्था नमान्ने बताएकाले
आफूलाई प्रजातन्त्र खतरामा पर्ने शंका लागेको कोइरालाले उल्लेख गरे ।