रोस्टम घेराउ पछि संविधानसभा वैठक स्थगित अर्को वैठक असार १५ गते बस्ने
काठमाडौं, June 28, 2008- निर्धारित समय भन्दा ६ घण्टा ढिलो शुरु भएको संविधान सभाको आजको
वैठक शुरु हुना साथ सकिएको छ ।
मधेशीवादी दलहरुले रोस्टम घेराउ गर्दै नारावाजी गरे पछि वैठक अघि बढ्न
नसकेको हो । उनीहरुले संयुक्त मधेशी लोकतान्त्रिक मोर्चासँग नेपाल सरकारले
२०६४ फागुन १६ गते गरेको सम्झौताका २ र ५ नम्बर बुँदा संविधान संशोधन
विद्येयकमा समेट्नु पर्ने माग गर्दै आएका छन् ।
मधेशी सभासदहरुले विरोध जनाएको नेपालको अन्तरिम संविधानको पाँचौ संशोधन
विद्येयक संविधान सभाको वैठकमा औपचारिक रुपमा भने प्रस्तुत गरिएको छैन ।
सरकारमा सहभागी सात राजनीतिक दलवीच असार ११ गते भएको सहमतीको आधारमा तयार
पारिएको सो विद्येयकको प्रतिलिपि सभासदहरुलाई वितरण गरिएको छ ।
व्यवस्थापिका संसदको हैसियतमा बस्न लागेको आजको वैठकमा कानुन न्याय तथा
संसदीय व्यवस्था मन्त्री नरेन्द्र विक्रम नेम्वाङले 'नेपालको अन्तरिम
संविधान पाँचौ संशोधन २०६५' प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो ।
व्यवस्थापिका संसदको हैसियतमा वस्न लागेको संविधान सभाको अर्को वैठक असार
१५ गते दिउँसो २ बजे बस्ने भएको छ ।