Inside

All Time Top 50 News

यस कारण हुन् लखन थापा मगर (द्वित्तीय) नेपालको प्रथम शहीद PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Trilok Singh Thapa magar   
Friday, 08 February 2013 14:17

१३६ औँ लखन थापा मगर स्मृति दिवसको उपलक्ष्यमा छोटकरी टिप्पणी
Exclusive: 1 photo:
काठमाडौं- इतिहास साक्षी छ । गोर्खा जिल्ला निवासी कप्तान लखन थापा मगर (द्वितीय) ले वि.सं. १९२७ सालमा जङ्गबहादुर राणाको निरुकुंश, हुकुमी, जहानिया तथा एकतन्त्रीय शासन व्यवस्थाको विरुद्ध शसस्त्र विद्रोह गरेका थिए । नेपालको इतिहासमा तानाशाही शासनको विरुद्ध यो पहिलो शसस्त्र विद्रोह थियो ।



१. पृष्ठभूमी

इतिहास साक्षी छ । गोर्खा जिल्ला निवासी कप्तान लखन थापा मगर (द्वितीय) ले वि.सं. १९२७ सालमा जङ्गबहादुर राणाको निरुकुंश, हुकुमी, जहानिया तथा एकतन्त्रीय शासन व्यवस्थाको विरुद्ध शसस्त्र विद्रोह गरेका थिए । नेपालको इतिहासमा तानाशाही शासनको विरुद्ध यो पहिलो शसस्त्र विद्रोह थियो । लखन थापा मगर (द्वित्तीय) को विद्रोहको सम्बन्धमा प्रख्यात इतिहासकार प्रमोद शमशेर राणाले आफ्नो चर्चित पुस्तकमा यसरी लेखेका छन्,

“The Gorkha uprising was a very significant because this was the first revolt against the dectorial rule of Rana. It was the revolt of people until then nobody had raised a finger against Rana rule." (1995-50)।

त्यस्तै जङ्गबहादुर राणाका छोरा इतिहासकार पदमजंग बहादुर राणाले पनि लखन थापा (द्वित्तीय) बारे आफ्नो पुस्तकमा यसरी उल्लेख गर्नु भएको छ, "... after assassinating Jung Bahadur to seize reins of Goverment and inaugurate the golden age of Nepalese history." (1974) उक्त दुवै इतिहासकारहरूले लखन थापा (द्वित्तीय)ले राणा तानाशाही प्रणाली विरुद्ध गरेको विरोध तथा विद्रोह नेपालको इतिहासमा पहिलो ऐतिहासिक घटना थियो । साथै राजनैतिक एंव सैद्धान्तिक पृष्ठभूमीमा विकसित थियो भनेर आफ्नो पुस्तकमा स्पष्ट संकेत गरेको पाइन्छ ।

 


Nepal's First Martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya for Laaphaa cultural magazine (www.laaphaa.com). Download large size image for poser print

२. जन विद्रोहका उद्देश्य

लखन थापा मगर (द्वित्तीय) ले जङ्गबहादुरको एकतन्त्रीय एंव पारिवारिक शासन प्रणालीको विरुद्ध शसस्त्र आन्दोलन गर्नुभन्दा अगाडि जनतालाई मानसिकरुपमा तयार गरेका थिए । जनयुद्धको लक्ष्य एंव उद्देश्यहरू स्पष्टरुपमा जनसमक्ष यस प्रकार राखेका थिए । “जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँ त्राहि–त्राहि पारिरहेको छ । छुवाछुत झन चर्किएको छ । जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्दछ । नेपालमा सत्ययुग फिराउँ, मनकामना देवी माताले मलाई वरदान दिएकी छिन् । भाइ हो तयार होऔ” (भीम भक्तमान सिंह २००५) उपरोक्त उद्देश्यअनुसार जंगबहादुरको विरुद्ध गरिएको शसस्त्र विद्रोहको राजनैतिक एंव सैद्धान्तिक आधारहरू यस प्रकारका थिए ।

क) षड्यन्त्र एंव जालझेलबाट सक्ता प्राप्त गर्न सफल भएका जङ्गबहादुरले आफ्नो शासन पुस्तापुस्ता सम्म कायम राख्न अंग्रेजहरू समक्ष नतमस्तक थिए । सो कुरा विचार गरि त्यही बेलादेखि नेपालमा विदेशी हस्तक्षेपको विरोध लखन थापा द्वित्तीयले शुरु गरेका थिए ।

ख) जङ्गबहादुरको अत्याचारी शासनबाट मुक्ति पाउन तथा तानाशाही शासनमा आमूल परिवर्तन ल्याई नेपालमा “सत्ययुग” अर्थात प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न चाहन्थे भन्ने कुरा उक्त उदघोषमा झल्किएको देख्न सकिन्छ ।

३. जनयुद्धका राणनीतिहरू

जङ्गबहादुरको पारिवारिक शासन प्रणाली विरुद्ध जनयुद्ध गर्न लखन थापाले युद्धका केही रणनीतिहरू पनि तयार पारेका थिए । जुन यस प्रकार थिए:

क) तत्कालीन नेपाली समाजमा व्याप्त रहेका गहिरो धार्मिक आस्था, पुर्नजन्मका धारणा, मनकामना देविमाथि अटूट विश्वास एंव प्रगाढ निष्ठाको विषयमा लखन थापा द्वित्तीयले गहिरो अध्ययन गरेका थिए । यसैलागि राणा शासनलाई ध्वस्त पार्न धर्म, दैविक शक्ति र माताको वरदान वा आदेश प्राप्त भएको छ आदि कुराहरू उल्लेख गरि जनचेतना जगाउन उनि सफल भए । उनको पक्षमा छरछिमेकी जिल्लाका धेरै मानिसहरू संगठित हुन थाले ।

ख) जनताको स्वतः स्फूर्त सहयोग तथा सक्रियतामा गुरुङ्ग, मगर, ब्राह्मण, क्षेत्री तथा अन्य जातिकासमेत गरि दुई हजार युवाहरूको जन मिलिशिया अर्थात विद्रोही सेनाको स्थापना एंव संगठन गर्न उनी सफल भए । नेपालको इतिहासमा यो पहिलो जन मिलिशिया संगठन थियो । जुन राणा शासन प्रणालीको विरुद्ध खडा भएको थियो ।

ग) त्यस्तै जनयुद्धलाई आवश्यक पर्ने भौतिक संरचना जस्तै हातहतियार, खाद्यान्न भण्डार आदिका संकलन तथा युद्धकला प्रशिक्षणको व्यवस्था पनि छोटो अवधिमा सम्पन्न गरिएको थियो ।

घ) विद्रोहीहरूले बुङ्गकोटमा आफ्नै किल्ला निर्माण गरेका थिए । सो पाचँतल्ले थियो । (जोशी र
रोज सन् १९६६) आठ क्युविक चौडा र १६ क्युविक अग्लो पर्खालले घेरिएको किल्ला थियो । नेपालको इतिहासमा विद्रोहीहरूको यो पहिलो किल्ला थियो जसको निर्माण लखन थापा (द्वित्तीय) को निर्देशनमा भएको थियो ।

ङ) उक्त किल्लाको परिसरमा राजनैतिक तथा सैनिक प्रशिक्षण सञ्चालन गर्ने गरिएको थियो । लखन थापा द्वित्तीय तथा उन्का अन्य सहयोगीहरूको राजनैतिक प्रवचन सुन्न छरछिमेकी जिल्लाहरूबाट युवाहरूको घुइँचो लागेको हुन्थ्यो ।

उपरोक्त सम्बन्धमा प्रख्यात इतिहासकार जनकलाल शर्माले आफ्नो मन्तव्य यसरी उल्लेख गर्नु भएको छ, “गोरखा जिल्ला बुङ्गकोट भन्ने ठाउँमा जोशमनि मतका साधु लखन थापा द्वित्तीयले जङ्गबहादुरको निरुकुश शासनको विरुद्ध संगठन गर्न थाले र यो संगठन निकै जोडतोडकासाथ लागेका कुरा जङ्गबहादुरले पनि थाहा पाए । यस्तो संगठनलाई समयमा नरोके मेरो भविष्य राम्रो छैन भन्ने विचार गरेर रातारात आठ पहरिया सीपाहीको दल गोरखातिर पठाए । (जोशीमनि सन्त परम्परा साहित्य पृ.९०) पहिलो पटक जङ्गबहादुर राणाले गम्भीरता पूर्वक लखन थापा द्वित्तीयको संगठन गर्न सक्ने क्षमताप्रति आफ्नो ध्यान केन्द्रित गर्नु पर्‍यो ।

४. समानान्तर सरकार तथा समावेशी मन्त्रिपरिषद

क) वि.सं. १९२७ सालमा जङ्गबहादुरको एकलौटी शासन प्रणालीको विरुद्ध लखन थापा मगर द्वित्तीयले समानान्तर सरकारको स्थापना गरेका थिए । सो सरकारमा विभिन्न जाति एंव जनजातिका प्रतिनिधीहरू मन्त्री बनाइएका थिए । ज्ञान दिलास ब्राम्ह्ण र कालू लम्सालसमेत मन्त्री पदमा थिए । जनताको आग्रहमा र अनुरोधमा लखन थापा द्वित्तीय यसको मुखतियार अर्थात प्रधानमन्त्रि आफै भए । नेपालको इतिहासमा यो पहिलो समावेशी तथा समानात्तर सरकारको मन्त्रिपरिषद गठन भएको थियो ।

५. राज्यभित्र अर्को राज्यको स्थापना

क) जङ्गबहादुरले खटाई पठाएको आठ पहरियाले पेश गरेको रिर्पोटको विवरणअनुसार राज्य भित्र अर्को राज्यको स्थापनाको प्रमाण प्राप्त भएपछि उनी ज्यादै विचलित भए । तुरुन्तै आफ्नो भाई तथा नेपाली सेनाका सेनापति धीर शमशेरलाई सो विद्रोहको दमन गर्न आदेश दिए । सेनापति धीर शमशेरलाई लखन थापाको विद्रोही सेनासँग युद्ध जित्न हम्मेहम्मे परेको थियो । विद्रोही जनसेनातर्फ गोल बारुद सकियो । युद्ध रोकियो । लखन थापा द्वित्तीय सजिलैसँग तिब्बतमा राजनैतिक शरण लिन सक्थे तर राष्ट्रभक्त तथा स्वाभिमानी लखन थापाले आफ्नै मातृभूमीमा हाँसीहाँसी मृत्युलाई स्विकार गरे । पहिलो पटक प्रजातन्त्रको विउ रोप्ने क्रममा शहादत प्राप्त गरे । नेपाली सेनाको इतिहासमा यो पहिलो पटक मुलुक भित्रको विद्रोह दमन गर्न, दवाउन सेनापतिलाई आफै कमाण्ड सम्हाल्न पुग्नु परेको थियो ।

६. अन्य विद्रोह

क) लखन थापा मगर द्वित्तीयले जनस्तरबाट गरेको जनविद्रोभन्दा पहिले तथा त्यसपछि पनि जङ्गबहादुरलाई मार्ने प्रयास तथा षड्यन्त्र भएको पाइन्छ । जङ्गबहादुरको असाधारणरुपले बढेको शक्ति र प्रतिष्ठा स्वंय उनकै भाई तथा नातागोताहरूका मनमा द्वेष उत्पन्न गर्न पर्याप्त थियो । फलस्वरुप जङ्गबहादुरको युरोप यात्राले जातिच्युत भएको कुराको प्रचारको आडमा उनलाई अपदस्थ गरि मार्ने षड्यन्त्र रच्न थाले । सत्ताबाट च्यूत भएका चौतरिया, काजी, भाई भरदारहरूले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रीसइवी र इष्र्या आदि कारणहरूले गर्दा जङ्गबहादुरको हत्या गर्ने गराउने असफल षड्यन्त्र गरेका थिए । राजा सुरेन्द्रको हत्या गरेर जङ्गबहादुरलाई फँसाउने षड्यन्त्र वि.सं. १९०२ मा वीर ध्वज बस्नेतले गरेका थिए । त्यस्तै जङ्गबहादुरका आफ्नै भाई जनरल बद्रिनरसिंह कुवर, छोरा जनरल जयबहादुर कुवँर, काजी करवीर खत्री, महिला साहेवजादा उपेन्द्रविक्रम शाह तथा कप्तान भोटु सिंह बस्नेत आदिले पनि सत्ता प्राप्तीकालागि वि.सं. १९०७ मा जङ्गबहादुरको हत्या गर्ने असफल योजना र षड्यन्त्र गरेका थिए । करवीर खत्रीलाई जाति च्यूत गरिए । एक वर्षपछि उनलाई दण्डदेखि मुक्त गरिए । जनरल बद्रिनरसिंह कुँवरको छोरा केदार नरसिंहलाई पाल्पाको हाकिम बनाइएको थियो । उहाँ आफ्नो छोरासँग पाल्पामा गएर बस्न थाले । कप्तान भोटूसिंह बस्नेतलाई आजिवन कैदमा राखि चितौन पठाइए । चितौनको औलामा उनी धेरै दिन बाच्न सकेनन् ।

ख) छलकपट, जालझेल तथा षड्यन्त्रबाट जङ्गबहादुरको उदय हुनुकासाथै उनकोप्रति व्यक्तिगत विद्रोह एंव विरोध पनि शुरु भईसकेको थियो । वास्तवमा ती विद्रोह विरोध तथा षड्यन्त्र केवल सत्ता प्राप्तीकालागि मात्र थिए । त्यसको कुनै जनआधार एंव सैद्धान्तिक आधार थिएन । एकमात्र उद्देश्य जङ्गबहादुरलाई अपदस्त गर्ने, सत्ताबाट हटाउने, हत्या गर्ने र पछि सत्तामा पुग्ने दरवारिया षड्यन्त्रमात्र थियो ।

ग) वि.सं. १९१४ सालमा फौजी आफिसरहरूलाई विरुद्ध उत्तेजित र भडकाउने अभियोगमा जमदार काजीमान गुरुङ्गलाई उनकै पल्टनका सहयोगी सिपाहीहरूद्वारा टुडिखेलमा निर्ममतापूर्वक हत्या गर्न लगाइयो । यो घटना लखन थापाको जनविद्रोहभन्दा केही वर्ष अगाडि नै भएको थियो । जमदार गुरुङ्गको विद्राहको उद्देश्य प्रष्ट नभएको साथै जनताको सर्मथन र सहभागिता पनि नरहेको देखिन्छ । पल्टनको घेराभित्र रहेको सो विद्रोह नितान्त व्यक्तिगत आवेशमा रहेको बुझिन्छ । यस विद्रोहको कुनै राजनैतिक आधार पनि देखिदैन । तै पनि जमदार काजीमान गुरुङ्गले देखाएको साहसको राज्यले उचित कदर गर्नु पर्दछ ।

घ) सन् १८५१ को मुलुकी ऐन लागु भएपछि जनजातिहरूको सामाजिक स्तर तलझरेको थियो । जङ्गबहादुरको अधिनायकवादी शासन व्यवस्थाबाट जनजातिहरू रुष्ट एंव असन्तुष्ट थिए । यसै क्रममा लखन थापा द्वित्तीयको जनयुद्धको अनुशरण गर्दै वि.सं. १९३३ सालमा गोर्खाका शुकदेव गुरुङ्गले आफूलाई "सरकार, बौद्ध बादशाह" घोषित गरी जंगबहादुर शासन विरुद्ध विद्रोह मच्चाउन शुरु गरे । उनलाई जङ्गबहादुरले पक्रन लगाई जेलमा राखे र वि.सं. १९३३ को चैतमा उनी जेलमा नै मरे । त्यस्तै लखन थापा द्वित्तीयको अनुशरण गर्दै वि.सं. १९३४ सालमा सुपति गुरुङ्गले आफूलाई बौद्ध बादशाह घोषित गरि जङ्गबहादुरले मार्न खोजे तर उनी जिन्दगीभर भूमिगत रहेर बसे । वास्तवमा जङ्गबहादुरको विरुद्ध जनजातिका युवाहरूद्वारा गरिएको विरोध एंव विद्रोह साहसिक पाइला थियो । तर जन सहभागिता, संगठन तथा स्पष्ट लक्ष्यको अभाव थियो । उक्त विद्रोह मुख्यतः व्यक्तिगत आवेशबाट प्रेरित रहेको देखिन्छ । तैपनि जनजातिका उक्त शहादत प्राप्त शहिदहरूको राज्यले उचित सम्मान गर्नु पर्दछ ।

ङ) सुदुर पश्चिमाञ्चल आछाममा राणाकालिन कर्मचारीहरूले विशेष गरि ठकुरी चौतारियाहरूमाथि गर्दै आएको अत्याचारलाई साहेबज्यू बलदेव शाह उर्फ बाँकेविरलाई खपी नसक्नु भयो । त्यसमाथि श्री ३ जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई बन्दीगृहमा राखी अडकलेको माना खानुपर्ने व्यवस्था गरेवापत राज परिवार एंव ठकुरीहरू राणाहरूसँग आगो भएका थिए । यसै सन्दर्भमा बलदेव शाह उर्फ बाँकेवीरले लुकी छिपी हमला गर्ने गरेका थिए । फलस्वरुप जङ्गबहादुरको निर्देशनअनुसार वि.सं १९०६ सालमा लुकी छिपी रहेका बाँकेवीरलाई रुद्रसिह स्वारले उनको टाउको काटी हत्या गरेका थिए । वास्तवमा यो ऐतिहासिक घटना राणाहरूले राज परिवार र ठकुरी रजौटाहरूलाई सताउने, दुःख दिने तथा होच्याउने व्यवहारबाट उब्जिएको थियो । पारिवारिक द्वन्द, चौतारिया ठकुरी तथा राणाहरूको बीचको बैमनस्यता एंव व्यक्तिगत रीसइवीमा आधारित घटना हो । तैपनि त्यसबेला बाँकेवीरले राणाहरूको विरुद्ध ठूलो साहस देखाएको हुँदा उनको कदर राज्यले गर्नुपर्ने हुन्छ ।

७. पहिलो जनयुद्ध

क) तुलनात्मकरुपमा हेर्ने हो भने लखन थापा द्वित्तीयको नेतृत्वमा उठेको जन विद्रोह जङ्गबहादुरको अधिनायकवादी शासन प्रणालीको विरुद्ध थियो । जहानिया एंव तानाशाही शासन प्रणालीलाई हटाएर प्रजातन्त्रको स्थापना गर्नकोलागि थियो । उक्त जनविद्रोहको स्पष्ट लक्ष्य, उद्देश्य तथा योजनावद्ध संगठन थियो । जनताको सहभागिता, सहयोग एंव जनस्तरबाट राजनैतिक लक्ष्य प्राप्तीकालागि तानाशाही शासन विरुद्ध उठेको जनयुद्ध थियो । कुनै व्यक्तिगत, पारिवारिक स्वार्थ, लोभ, लालचा, रीसइवीबाट सो जनविद्रोह प्रेरित थिएन । लखन थापा द्वित्तीय आफु राजा बन्ने चाहनाबाट पनि प्रेरित थिएन । जनताले उनीलाई असीम माया तथा श्रद्धा गरेर राजा सरह मान्न थालेका थिए । राजनैतिक पृष्टभूमी एंव सैद्धान्तिक धरातलमा निरुंकुश एंव जहानिया शासन विरुद्ध जनस्तरमा उठेको यो विद्रोह नेपालको इतिहासमा पहिलो जनविद्रोह एंव जनयुद्ध थियो ।

८) कप्तान लखन थापा मगर द्वित्तीयको सैनिक एंव राजनीतिक क्षमता

क) वर्तमान समयमा सेनामा जेष्ठता, शैक्षिक, योग्यता, आन्तिरिक र वैदेशिक प्रशिक्षण, नेतृत्व र कार्यदक्षताको आधारमा प्राय: पदोन्नती गर्ने गराउने चलन रहेको छ।  जङ्गबहादुरको हुकुमी शासन व्यवस्थामा बच्चा जन्मिदै जर्नेल, कर्नेल तथा कप्तान हुन सक्ने चलन थियो । जङ्गबहादुर आफै कप्तानीबाट प्रधानमन्त्री भएका हुन् । कप्तान लखन थापा मगर द्वित्तीय भारतको अलमोडामा प्रारम्भिक शिक्षा प्राप्त गरेका मगर जनजातिका युवक थिए । अधिकांश मगर जनजाति रहेको पल्टन पुरानो गोरखगणमा भर्ना भए ।  आफ्नो सामरिक क्षमता, योग्यता, अनुभव, उपयुक्त एंव सही निर्णय लिन सक्ने नेतृत्व र कमाण्ड गर्न सक्ने शीपको प्रदर्शन गरेको हुँदा १४ वर्षको छोटो अवधिमा एउटा सिपाहीबाट कप्तान हुनुमा उनीलाई कुनै अपठ्यारो भएन । हुकुमी शासनबाट हुकुम नै पदोन्नतीको मुख्य आधार थियो। स्थानीय जनश्रृति र लोक चर्चामा पनि उनीलाई कप्तान भनेर सम्बोधन गरिएको पाइन्छ ।

ख) विक्रम सम्वतः १९२० मा राजा सुरेन्द्र विक्रमका पालामा जङ्गबहादुर राणा प्रधानमन्त्रिले राजपुत र ठकुरीहरूलाई प्रदान गरेको वित्तीय सुविधा सम्बन्धी लालमोहरमा भनिएको छ, “सम्वत १९११ मा तिब्बतसँगको युद्ध र १९१४ मा लखनौसँगको युद्धमा सहयोग गरेवापत “खस”लाई क्षेत्री सरह मगर र गुरुङ्गलाई कर्नेल पदमा पदोन्नती गरिएको छ ।” (रेग्मी १९७०) यसरी मगर, गुरुङ्गलाई पनि पदोन्नति गर्ने बाटो खुलेको देखिन्छ । अतः लखन थापा द्वित्तीय आफ्नो क्षमता तथा कुशलताको आधारमा जागीरको छोटो अवधिमा कप्तान दर्जा सम्म पुगेको अनुमान सजिलैसँग गर्न सकिन्छ ।

ग) कप्तान लखन थापा मगर द्वित्तीय साधारण, सामान्य, शक्तिहीन, योजनारहित, लक्ष्यहीन र लहडी स्वभावका व्यक्ति नभई अत्यन्त प्रतिभाशाली युवा थिए । उनी आफ्नै पुख्र्यौलीहरूको पल्टन गोरख गणमा सम्मीलित भए । सेनामा जागीर खाएर राणाहरूको दमन, अत्याचार एंव हैकमको अनुभव गरिसकेका थिए । कोतपर्व काण्डमा ठू्लो ओहदामा बसेका मगर भारदारलाई उठ्न नसक्ने गरि प्राय हत्या गरिएको थियो । सो घटनाबारे उनले राम्रैसँग मनन् गरेका थिए ।

घ) भारतीय स्वतन्त्रता संग्राम वि.सं. १९१४ (सन् १८५७) को सिपाही आन्दोलनको विविध पक्षमा गहकिलो एंव नजिगबाट अध्ययन एंव अवलोकन गरेका थिए । फ्रान्सेली विद्वान टिलौइनले आफ्नो कार्यपत्रमा लेख्नु भएको छ, “Lakhan  Thapa  was  among  those Nepalese who were in contact with there rebel perhaps found in them a model for his own political programme." (2000) आजादी एंव तानाशाही तथा निरुंकुशतना एंव प्रजातन्त्रको अन्तर र महत्वलाई लखन थापाले राम्रैसँग बुझेका थिए ।

ङ) स्वतन्त्र एंव स्वाभिमान स्वभावका लखन थापा मगर द्वित्तीयको मुटुमा अंग्रेज साम्राज्यवाद तथा जङ्गबहादुरको अधिनायकवादी शासन प्रणालीको विरुद्ध विद्रोह तथा विरोधको ज्वाला एकसाथ दन्किएको थियो ।

च) उपर्युक्त कारणहरूले गर्दा उनी घरविदामा गए । विदा सकिए पनि उनी सेनाको जागिरमा फर्किएनन् । राणाहरूको तानाशाही तथा अत्याचारी शासन व्यवस्थाबाट देश एंव देशवासीहरूलाई मुक्ति दिलाउने लक्ष्यलिई गोर्खा जिल्ला जस्तो अति दुर्गम क्षेत्रमा राजनैतिक र सैनिक संगठन गर्न गराउन थाले । बुङ्गकोट गाउँलाई आफ्नो शसस्त्र आन्दोलनको आधार शिविर बनाए । वास्तवमा नेपालको इतिहासमा यो पहिलो ऐतिहासिक घटना हो । तर बिडम्बना इतिहासकार बालचन्द्र शर्माले आफ्नो पुस्तकमा यस ऐतिहासिक घटनालाई “लखन थापाको उत्पात” लेखेर खिल्ली उडाएका छन् ।”

छ) नेपालको इतिहासमा केवल तागाधारी शासकहरूको बनावटी कथा, प्रशस्तिगान, गुणगान तथा प्रशंसाहरू मात्र लेखेको पाइन्छ । अर्कोतिर राज्यको विस्तारबारे चर्चा परिचर्चाहरूमात्र गरेको देखिन्छ । आदिवासी जनजातिको, शोषित, उत्पिडित समुदायका प्रतिभाशाली ऐतिहासिक व्यक्तिहरूका सम्बन्धमा विस्तारमा अथवा विस्तृत विवरणहरू लेखिएको पाइदैन । सकेसम्म होच्याउने प्रयास गरेको देखिन्छ । उदाहरणकालागि राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०४० सालमा प्रकाशित नेपाली वृहत शब्दकोषमा लखन थापा द्वित्तीयलाई “महत्व नभएका ठट्यौली कुरा गर्ने व्यक्ति” भनेर उल्लेख गरिएको छ । त्यस्तै इतिहासकार बालचन्द्र शार्मले “हास्यापद किसीमको विद्रोह र प्राचीन नेपाल २०३१ वैशाख २७ मा एउटा लुच्च मगरले श्री ३ महाराजधीराजका गाथमा दगा गर्न आफ्ना तहमा चल्ने मानिसहरूसँग मतजतगरि...”  आदि भनेर उल्लेख गरिएको छ । (प्रथम शहिद लखन थापा स्मारिका २०६७ फाल्गुन ७ गते ) त्यस्तै इतिहासकार वी.पी. सिहले पनि लखन थापा द्वित्तीयकोबारे यसरी टिप्पणी गर्नु भएको छ, “सैनिक जागिरबाट गएल परि हाजिर नभई जङ्गबहादुर विरुद्ध अभियान थालेको देखिन्छ ।” (कान्तिपुर दैनिक साउन, ६, २०६८)

ज) जनजाति आदिवासी तथा उत्पिडित समुदायका प्रतिभाशाली तथा ऐतिहासिक महान व्यक्तित्वहरूको सम्बन्धमा केही इतिहासकारहरूबाट नियोजित भ्रमित प्रचार भै आएको पाइन्छ । अर्कोतर्फ, एउटा साहसी तथा प्रतिभाशाली मगरको छोरो लखन थापा द्वित्तीय कुनै जात, धर्म, वर्ण, लिङ्ग र समुदायकानिम्ति बलिदान भएका थिएनन् । सिँगै नेपालकालागि आफ्नो प्राणको आहुती दिएका थिए । नेपालको इतिहासमा यो पहिलो बलिदान र शाहदत प्राप्त गरेको ऐतिहासिक घटना थियो ।

९. राज्यको विभेदपूर्ण नीति:

क) लखन थापा मगर द्वित्तीयले आफ्नो निजी स्वार्थ तथा आवेशमा आएर निरुंकुश शासन प्रणाली विरुद्ध आवाज उठाएको देखिदैन । शोषित, पिडित, थिचो एंव उत्पिडीत पारिएका जनताको स्वतन्त्रता तथा हकहितको सुरक्षा गर्नकालागि उनले शसस्त्र विद्रोह गरेका थिए । जनस्तरमा जनतालाई राजनैतिकरुपले जागरुक गरेका थिए । जोशमनी धार्मिक सम्प्रदायलाई राजनैतिक दलकोरुपमा प्रयोग गरेर जनतालाई जनसंघर्ष गर्न उत्प्रेरित गरेका थिए । जनताको स्वतः स्फूर्त सक्रिय एंव सहयोगबाट राजनैतिक तथा सामाजिक परिवर्तनकालागि अघि बढेका थिए । यसै सन्दर्भमा सुर्यमणी अधिकारीले लेख्नु हुन्छ, “लखन थापा द्वित्तीयलाई नेपालमा जागरणका अग्रणीकोरुपमा प्रायः विद्वानहरूले स्विकार गरेका पाउँछौं” (वि.सं. २०५४)

ख) नेपालको पहिलो शहिद लखन थापा मगर द्वित्तीयको निर्ममतापूर्वक हत्या गरिएपछि पनि उनका परिवारका सदस्य तथा समर्थकहरूमाथि कठोर दमन, अत्याचार एंव हिंसा यथावत चलिरहेको थियो । “तैपनि स्थानिय जनताले उनको सम्मानमा वि.सं १९३३ सालमा घण्टा बनाई देवीलाई चढाएको हुन् भन्ने भनाई छ । ” (बैद्य २०२९) जनताको माया उनिप्रति कति थियो यसबाट पनि प्रमाणित हुन्छ ।

ग) त्यस्तै १३० वर्षभन्दा पनि बढी समयदेखि स्थानीय जनताले लखन थापा द्वित्तीयलाई भयँरी देउताकोरुपमा पौष पञ्चमीको दिन अत्यन्त भक्तिभाव एंव श्रद्धापूर्वक पुजा गर्ने तथा सम्झना गर्ने चलन बुङ्गकोट गाउँमा यथावत कायम नै छ । यति धेरै ऐतिहासिक प्रमाणहरू हुदाँहुदै पनि राज्यस्तरबाट वि.सं. २०५६ फागुन ११ गते अर्थात लखन थापाले सहादत प्राप्त गरेको १ सय २३ वर्ष पछिमात्र जनदवावमा शहीद घोषणा गर्नेवाहेक अरु केही गरेको छैन । प्रथम शहीदको घोषणा गरेर उनको शालिक शहीदगेट काठमाण्डौमा स्थापित गर्न सकेको छैन । के यो राज्यको विभेदपूर्ण नीति होइन ?

निष्कर्श:

जनताको छोराले जनताकोलागि जनताको समर्थनमा कसैको अगाडि आफ्नो शीर निहुराएनन् बरु आफ्नो ज्यानको आहुती दिए । उनीले निर्मम हत्यालाई स्विकार गरे । त्यस्तै कारणहरूले गर्दा लखन थापा द्वित्तीय नेपालको इतिहासमा प्रथम शहादत प्राप्त प्रथम शहीद हुन् ।

-Trilok Singh Thapa Magar in Kathmandu

(लेखक मास्टरमित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् ।)

प्रथम शहीद लखन थापा मगरका जिवनका विवरण

घटना

बिक्रम संबत

ईश्वी संबत

जन्म

१८९१

१८३४

सेनामा प्रवेश

१९११

१८५४

भारतको सिपाही विद्रोहमा संलग्नता

१९१४

१८५७

क्याप्टेनमा पदोन्नती

१९२६

१८६९

घरविदा

१९२७

१८७०

सहादत

१९३३

१८७६

जम्मा वर्ष

४२ वर्ष

४२ वर्ष


सन्दर्भ सामग्रीहरु:

- Hasrat, Bikram Jit;History of Nepal A told by its own contemporary chronides,    1970, The UV Research Institute    Press, Krishna Nagar, Hoshiyarpur, India
- Rana, Padm Jung; Life of Maharaja Sir, Jung Bahadur Rana, Refrintid, 1980
- Rana, Promod Shamsher; Rana Intrigues, Kathmandu 1995
- Regmi, Mahesh; King and Political Leaders of The Gorkhali Empire, 1995, Orient Longman
- Mari Lc comte Tilouine; The  History  of  the  Massiance  rebel  King Lakhan Thapa Magar, utopia and ideology among the Magars, Paper presented Paris, 2000, pp 150-168

- बैद्य, प्रा.डा. तुलसीराम; लखन थापामगर नेपालका प्रथम शहीद, प्रथम शहिद स्मारिका २०६७, पृ.२७
- बुडामगर, हर्ष बहादुर; राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर द्वितीय, काठमाडौ २०५४, पृ.१०३
- सुवेदी, राजाराम; शहीद कि प्रथम शहिद हुन् लखन थापा, प्रथम शहीद लखन थापा विचार गोष्ठीमा प्रस्तुत कार्यपत्र, २०६५ पौष १९ गते, काठमाडौं
- शर्मा, बालचन्द्र; नेपालको ऐतिहासिक रुपरेखा, वाराणसी २०५५
- राणा, पुरुषोत्तम शम्सेर ज.व.रा.; श्री ३ हरूको तथ्य वृतान्त, काठमाडौं, २०५५
- रानामगर, बी.के.; गोर्खाका मगरहरू, काठमाडौ, वि.सं. २०६३
- रानामगर, उमेश; क्रान्तिकारी लखन थापामगर, काठमाडौ वि.सं २०५४
- आलेमगर, जीवन; वि.सं. नेपालको प्रथम जन विद्रोही शहीद लखन थापामगर, काठमाडौं, २०६४
- रुलबहादुर आले मगर, प्रजातान्त्रिक आन्दोलनका योद्धा प्रथम शहिद लखन थापा मगर, काठमाण्डौँ, २०१२
- जनक लाल शर्मा; जोशमनि सन्त परम्परा र साहित्य
- Whelpton John, Soldiers and Priest Nepalese Politics and the Rise of Jung Bahadur Rana, 1990, pg 241

Read related news:

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न

-नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस सम्पन्न

--न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस सम्पन्न

--न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न

Not enough of reading us? Visit our multimedia channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.