Inside

All Time Top 50 News

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी PDF Print E-mail
Share
User Rating: / 11
PoorBest 
Written by Triloksingh Thapa Magar   
Thursday, 19 January 2012 03:30
Article Index
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी
Read more about this article
All Pages

"...म मर्न गइराखेको छैन । मलाई झुण्ड्याएको वेला कोही पनि नरुनू, पीर पनि नगर्नू , मलाई झुण्ड्याएको डोरी सुरक्षित राख्नू , म एक दिन फर्कनेछु ..." -प्रथम शहीद लखन थापा मगर (द्वितीय)
Exclusive: 2 photos, 1 video:
काठमाडौं- नेपालका प्रथम शहीदकोरुपमा बहुचर्चित ब्यक्तित्व लखन थापा (द्वितीय) ले नेपालको प्रजातान्त्रिक आन्दोलनके कस्तो योगदान गरे र कसरी नेपालको ईतिहासमा प्रथम शहीदकोरुपमा दर्ज हुन पुगे भन्ने बिषयमा छलफल हुनु आबश्यक देखिन्छ।


"शहीद लखन थापाले राणाशासनको विरुद्ध बेलैमा एक शक्तिशाली संगठन चाहिन्छ भन्ने कुरा गरेर नदेखाइ दिएको भए २००७ सालको क्रान्ति सफल हुन्थ्यो भन्ने चेतना नेपालीमा आउन गाह्रो कुरा थियो ।" -डा. राजाराम सुवेदी

जन्म र बाल्यकाल

उनको जन्म वि.सं.१८९१ (सन् १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो । साधारण मगर परिवारमा जुम्ल्याहा दाजुभाइकारूपमा जन्मेका लखन थापा कान्छा छोरा थिए, उनको बाल्यकालको नाम लक्ष्मणसिं थापा थियो । सबुत प्रमाणको अभावमा उनको बाल्यकाल यसरी नै बित्यो होला भन्ने ठोस आधारहरू हालसम्म भेटिएका छैनन् ।

सन् १८१६, मार्च ४ का दिन सुगौली सन्धिमा हस्ताक्षर भइसकेको थियो । नेपाल–अंग्रेज युद्धमा गोर्खालीले देखाएको बहादुरी र उनीहरूको युद्धकौशलबाट अङ्गे्रज कमाण्डरहरू धेरै प्रभावित थिए । फलतः गोर्खालीहरू पनि ईष्ट इन्डिया कम्पनीको सैनिकमा भर्ना हुन थालेका थिए । लखनका पूर्वजहरू अल्मोडा (भारत) मा खडा गरिएको तेश्रो गोर्खा राइफल्समा केही सामेल थिए भने धेरैजसो नेपाल फर्केर राजा पृथ्वीनारायण शाहले खडा गरेको पुरानो गोरख गण (पछि मगरहरूको पल्टन बनेको) मा कार्यरत हुन आएका थिए । त्यसबेला नेपालमा कुनै औपचारिक विद्यालय थिएन । उनले अल्मोडास्थित तेश्रो गोर्खा राइफल्सका बहालवाला आफन्तहरू कहाँ बसेर प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।

The legend of Nepal: Nepal's first martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya. First commissioned & published by Laaphaa magazine in 1992 (Laaphaa.com). Download large size image for poser print



पल्टनको जीवन

प्रारम्भिक शिक्षा समाप्त भएपछि लखन थापाले सैनिक सेवामा जाने इच्छा प्रकट गरे । त्यसबेला पुस्ता दरपुस्ताहरू एउटै पल्टनमा भर्ना हुने चलन थियो । उनको पुख्र्यौली परिवारलाई हेर्दा धेरैजसोको तेश्रो गोर्खा राइफल्समा भर्ना हुने परम्परा बनिसकेको थियो । त्यसैले फौजी जागिरका लागि आफन्तहरूले लखनलाई पनि सोही पल्टनमा भर्ना हुन उत्प्रेरित गर्न थाले तर सो कुरा मञ्जुर नगरेकाले उनले पारिवारिक दवाव पनि झेल्नु परेको थियो । बाल्यकालदेखि नै अत्यन्त स्वाभिमानी र राष्ट्रबादी स्वभावका लखन थापाले विदेशी सेनामा भर्ना भएर ईष्ट इन्डिया कम्पनीको चाकडी गर्न पट्टकै रुचाएनन् । नेपाली सेनाको तुलनामा अङ्ग्रेजी सेनामा त्यसबेला उपलब्ध हुने सुख, सुविधा, सहुलियत र मोजमज्जा आदिको ठूलो आकर्षण रहे तापनि उनले पुख्र्यौली परम्परालाई तोड्न गाह्रो मानेनन् ।

आफ्नो देशको राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रतालाई जोगाउन र तिनको संरक्षण, सम्बद्र्धन गर्ने लखनको उत्कट इच्छा थियो । मातृभूमिप्रति बफादार भै राष्ट्रकोलागि मरिमेट्ने अभिलाषा उहाँको हृदयमा थियो ।

राष्ट्र प्रेमको पवित्र भावना बोकेर बीस वर्षको उमेर अर्थात् वि.सं.१९११ (सन् १८१४) मा आफ्ना पुर्खाले रुचाएको पुरानो गोरख गणमा उनी भर्ति भए । अत्यन्त योग्य, सक्षम र तीक्ष्ण बुद्धि भएकाले उनले रणकौशल, सैन्य संगठन, सामरिक योजना, युद्धकला र रण प्रविधि आदिबारे दक्षता हासिल गरे । पराक्रम, दूरदर्शी र उपयुक्त समयमा उचित निर्णय लिन सक्ने क्षमतावान भएकाले गर्दा चौध वर्षको सैनिक जीवनमा वि.सं.१९२५ मा उनी कप्तानको दर्जामा पुगे । जङ्गबहादुरको शासन कालमा जति सुकै योग्य र क्षमतावान भए पनि साधारण परिवारका सैनिकहरूले जर्नेलसम्म हुन पाउँदैन थिए ।

भारतीय सिपाही विद्रोह:

सन् १८५७ मई १० को मेरठ (भारत) गोलीकाण्डपछि भारतमा अङ्ग्रेजी उपनिवेश विरुद्ध सिपाही विद्रोह शुरु भयो । यो विद्रोहले छोटो अवधिमा उग्ररूप लिन थाल्यो । यसलाई भारतीय आजादीको इतिहासमा पहिलो स्वतन्त्रता संग्राम भन्ने गरिएको छ । त्यसबेला भारतमा अङ्ग्रेजी सेनाको स्थिति ज्यादै कमजोर बन्न पुगेको थियो । भारतीय स्वतन्त्रताका सेनानीहरूले विभिन्न ठाउँहरू कब्जा गर्न शुरु गरिसकेका थिए । फलस्वरूप तत्कालीन गर्भनर जनरल लर्ड केनिङको अनुरोधमा आजभन्दा १५४ वर्षअघि सन् २ जुलाई, १८५७ मा सिपाही विद्रोह दबाउन गोर्खाली सैनिकको छ/छ वटा रेजिमेन्ट लखनऊ पुगेका थिए । सन् १० डिसेम्बर, १८५७ मा गोरखपुर हुँदै लखनऊ पुगेका थप तीन पल्टन (गोर्खाली पल्टन) को नेतृत्व तत्कालीन श्री ३ तथा कमाण्डर–ईन–चीफ जङ्गबहादुर राणा आफैंले गरेका थिए । ती पल्टनहरूमा पुरानो गोरख गण पनि सामेल रहेको थियो । यसरी जम्मा २५ पल्टनहरू सिपाही आन्दोलन दबाउन पुगेका थिए । जङ्गबहादुर संगसंगै लखन पनि लखनऊ पुगेका थिए । यस विद्रोह वा आन्दोलनको श्रीगणेश गर्ने भारतीय विद्रोहीहरूलाई जङ्गबहादुरले तीन महिनामा तह लगाए र सुरक्षित लखनऊ शहर अङ्ग्रेजलाई सुम्पेका थिए ।

भारतीय स्वतन्त्र सेनानीहरूसँग सम्पर्क:

अङ्ग्रेज सरकारलाई मद्दत गर्न गएका जङ्गबहादुरसंग भारतीय स्वतन्त्र सेनानीहरूले गोरखपुरमा सम्पर्क पनि गरेका थिए । यसबारे तत्कालीन व्रिटिश रेजिमेन्टको मन्तव्य यस प्रकार छ – “There leaders are even said to have offered Jang Bahadur the Kingship of Lucknow if he would join their side.” (Harasat B.J. 1971, History of Nepal, 36 )”

त्यसैबेला भारतीय विद्रोहीहरूसंग लखन थापाको पनि सम्पर्क भएको थियो । सम्भवतः उनकै माध्यमबाट भारतीय विद्रोहीहरूले जङ्गबहादुरलाई भेटेका पनि होलान् । ती विद्रोेहीहरूसंग सम्पर्क भएपछि लखनले आफ्नो राजनैतिक सोंच र कार्यक्रम पनि सोही अनुसार बनाएको हुनुपर्छ भनेर फ्रांसिली विद्वान मेरी लेकोम्टी टिलोइनले आफ्नो कार्यपत्रमा यसरी उल्लेख गर्नु भएको छ — "Lakhan Thapa was among those Nepalese troops who were in contact with these rebels and perhaps found in them a model for his own political programme.”

उनी अगाडि लेख्छिन् – "Lakhan Thapa did not merely provoke an unorganized and spontaneous revolt. He seems, on the contrary to have worked methodically, following a well-establish programme to build an alternative government as his fort, his army and his accumulated wealth attest." (Marie Lecomte Tilouine, “The History of The Messeanic Rebel King Lakhan Thapa Magar” 2000, pp150-168

भारतीय सिपाही विद्रोहलाई दमन गरेर निर्मुल पार्न अङ्ग्रेज सरकारले विद्रोहीहरूमाथि गरेका अमानवीय व्यवहारलाई लखनले आफ्नै आँखाले देखेका थिए । उपनिवेशवादको कट्टर समर्थक बनेर अङ्ग्रेजहरूलाई खुशी पार्न जङ्गबहादुरले गरेका निर्मम हत्या, लुटपाट, दमन, अत्याचारबाट लखन अत्यन्त असन्तुष्ट, विचलित र मर्माहत थिए । विद्रोहीमाथि अत्याचार गरिएको सो इतिहास “लखनऊ लूट” को नामले चर्चित छ । सैनिक अनुशासन पालन गर्नु पर्ने भएकोले लखन त्यसबेला मूकदर्शकको रूपमा चुपचाप रहन बाध्य थिए । सन् १८५७ को सिपाही विद्रोहपछि भारतीय जनताले शुरुवात गरेको स्वतन्त्रता र स्वाधिनताको आन्दोलनलाई लखनले नजिकबाट नियालेर हेरिरहेका थिए ।

जङ्गबहादुरको उदयः

राणाहरूले नेपालमा १०४ वर्षसम्म पारिवारिक, हुकुमी र तानाशाही शासन गरे र जसका संस्थापक जङ्गबहादुर कुँवर थिए । जङ्गबहादुरका पूर्वजहरू पहिलेदेखि नै नेपाली सेनामा कार्यरत रहेका थिए । त्यसैले उनी नेपाली सेनाको कप्तान पदमा सोझै भर्ती भएका थिए । मामा माथवरसिंह थापा नेपालको प्रधानमन्त्री भएपछि जङ्गबहादुरको पनि राजकाजमा सक्रियता बढ्न थाल्यो । उनी सधै उचित मौकाको ताकमा रहन्थे । रानीको प्रिय पात्र बन्नकालागि उनले आफ्नै मामा माथवरसिंह थापाको समेत हत्या गरेका हुन् । श्री ५ राजेन्द्रको कायरता र शासन सञ्चालनमा अक्षमताको कारणले गर्दा सुनियोजित ढंगबाट वि.सं. १९०३ को कोतपर्वमा ठूलो नरसंहार गर्न उनी सफल भए । जङ्गबहादुरका भाइहरूले प्रमुख विरोधीहरूलाई एकएक गरेर सखाप पारे । बचेका भाइभारदारहरू देश निकालामा परेकाले आफन्तहरूलाई राज्यका प्रमुख पदहरूमा प्रतिस्थापित गरे ।

कोत पर्वपछि जङ्गबहादुर कमाण्डर–ईन–चिफ र प्राइम मिनिष्टर दुवै बने । श्री ५ राजेन्द्र पनि निर्वासित जीवन बिताउन काशीतिर लागे । श्री ५ राजेन्द्रबाट हुन सक्ने सम्भावित खतरालाई दृष्टिगत गर्दै वि.सं. १९०४ (सन् १८४७ मई १२) मा श्री ५ राजेन्द्रलाई बर्खास्त गरी श्री ५ सुरेन्द्रलाई गद्दीमा आरोहण गराइयो । श्री ५ राजेन्द्रले यो कार्यको विरोध जनाउँदै अङ्ग्रेज सरकारसंग सहयोग मागे । तर अङ्ग्रेजले उल्टै श्री ५ राजेन्द्रलाई भारतीय भूमिबाट नेपालमा सैनिक कारवाही गर्न रोक लगायो ।

शक्तिशाली जङ्गबहादुर

राजनैतिक शक्ति प्राप्त गरेपछि आफ्नो सामाजिकस्तर माथि उठाउन सन् १८४९ मई ५ मा राजालाई लालमोहर जारी गर्न लगाएर जङ्गबहादुरले “राणाजी” को उपाधि पनि प्राप्त गरे । सन् १८५७ जुन २८ मा सर्वाधिकार सम्पन्न जङ्गबहादुर श्री ३ महाराजाधिराज प्राईममिनिष्टरमा लालमोहरबाट नियुक्त हुन सफल भए । देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र सो अन्तर्गत कानुन तर्जुमा गर्ने, लागू गर्ने, संशोधन गर्ने, दण्ड सजाय दिने र न्याय सम्पादन गर्ने आदि सम्पूर्ण अधिकारहरू प्राप्त गरे ।

जङ्गबहादुरले तत्काल असन्तुष्ट ब्राह्मण समाजबाट आफ्नो पक्षमा समर्थन जुटाउन वि.सं १९१० मा मुलुकी ऐन लागू गरे जस अन्तर्गत सम्पूर्ण नेपाली समाजलाई तागाधारी र मतवाली वर्गमा विभाजन गरियो अनि सिङ्गो मतवाली वर्गमा पनि केहीलाई पानी चल्ने, केहीलाई पानी नचल्ने गरी शुद्र (दलित) कोरूपमा परिणत गरे । ब्राह्मण समाजलाई मृत्युदण्ड जस्तो कठोर सजायबाट अलग राखेर उनीहरूलाई सबैभन्दा माथिल्लो स्थान दिइयो । सोही कारण पछि लखन थापालगायत अन्य विद्रोहीहरूले मृत्युदण्ड पाए पनि सहयोद्धा कानु लम्साल र ज्ञान दिलदासहरू ब्राह्मण जाति भएकै आधारमा मृत्युदण्डबाट बचे ।

अङ्ग्रेज उपनिवेशको समर्थन किन ?

भारतमा सिपाही विद्रोहलाई दवाउन र अङ्ग्रेज उपनिवेशलाई सघाउन जङ्गबहादुर किन सक्रिय भए ? मौखिक समर्थन दर्शाएर वा तटस्थ रहेर मात्र के उनी ढुक्क रहन सक्थे त ? यो प्रश्न उठ्नु स्वभाविक हो । वास्तवमा जङ्गबहादुर आफन्तहरूको सहयोग, समर्थन र षड्यन्त्रबाट सत्तामा पुगेकाले त्यसरी हासिल भएको एकलौटी सत्तालाई टिकाउन उनले तत्कालीन अङ्ग्रेज सरकारको सहयोग र समर्थनको आवश्यकता महसुस गरेका थिए । सिपाही विद्रोह सफल भएमा उनको निरङ्कुश र तानाशाही शासन विरुद्ध पनि नेपाली जनतामा विद्रोहको आगो सल्किन सक्छ भन्ने अनुमान गरिसकेका थिए । यिनै कारणहरूले गर्दा उनले अङ्ग्रेजी साम्राज्यवादको खुलेर समर्थन गरे । अङ्ग्रेजको कट्टर हिमायती भएर सन् १८५७ को सिपाही विद्रोहलाई दमन गर्न ३/३ महिनासम्म आफै लखनऊ गइबसेका थिए । यसरी उनले अङ्ग्रेज उपनिवेशवादप्रति समर्थन र समर्पण देखाएर आफ्नो राज्यसत्तालाई जोगाउन भरमग्दुर प्रयासहरू गरे ।

जङ्गबहादुर विरुद्ध लखन थापाको विद्रोह

जङ्गबहादुरको जहानियाँ, तानाशाही र निरङ्कुश शासनबाट नेपाली जनता ज्यादै पीडित, शोषित र दुःखित थिए । तापनि प्रथम विश्वयुद्धभन्दा अघि जङ्गबहादुरको अत्याचारी शासन विरुद्ध कुनै सशक्त विरोध हुन पाएन । त्यस्तो हुनुमा नेपाली समाजको अज्ञानता, अशिक्षा र दयनीय आर्थिक अवस्था नै मुख्यरूपले जिम्मेवार थियो । साथै भारतीय भूमिबाट निरङ्कुश शासनको विरुद्ध कुनै कारवाही हुन नदिने अङ्ग्रेज सरकारको पनि नीति थियो । तर विश्वयुद्धपछि तत्कालीन आर्थिक, सामाजिक र राजनैतिक अवस्थामा क्रमशः परिवर्तन आयो ।

त्यसै समयमा लखन थापा मगर र उनका सहयोद्धा जयसिंह चुमी मगर तीन महिनाको घर विदामा गोरखातर्फ आए । उनीहरूले देशको तत्कालीन राजनैतिक, सामाजिक, धार्मिक परिस्थितिहरूको अध्ययन, मनन गरे । तत्पश्चात् फर्केर आफ्नो सेनामा नफर्कने निधो गरे । जयसिंह चुमी पनि त्यस विचारमा सहमत भए ।

लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञान दिलदास ब्राह्मण र कानु लम्साललगायत अन्य व्यक्तिहरूको सहयोगबाट स्थानीय युवाहरूको विद्रोही फौज खडा गरे । ढुङ्गाले घेरी बलियो किल्ला निर्माण भयो । किल्ला परिसरभित्र मनकामना देवीको प्रतिमूर्ति स्थापना गरे । फौजलाई कवाज खेल्ने, तारो हान्ने, विभिन्न तालिम सञ्चालन गर्ने र खाने, बस्ने आदि बन्दोबस्त मिलाए । किल्लाभित्र ढुङ्गेधारा र पोखरीसमेत बनाइएको थियो । सेनालाई आवश्यक पर्ने ६० नाल बन्दुक, ठूलो संख्यामा तरवार, खुकुरी, भाला, डण्डी, धनुकाँड, खुँडा र कटारी जस्ता हातहतियारहरूको बन्दोवस्त गरे । विद्रोही सेनालाई आवश्यक रसदपानीको व्यवस्था मिलाई जनविद्रोह गर्न पूरा तयारी गरेका थिए ।  यो तयारी गर्न ६ महिनाभन्दा बढी समय लागेको थियो ।

जङ्गबहादुरको तानाशाही शासनलाई ध्वस्त पार्नकालागि केवल सैनिक विद्रोह मात्र पर्याप्त थिएन । एक सशक्त राजनैतिक संगठन पनि आवश्यक छ भन्ने कुरा दृष्टिगत गर्दै तत्कालीन समयमा प्रचलित जोसमनी धर्मको आडमा उनले नेपाली जनतामा राजनीतिक जागरुकता ल्याउने प्रयत्न गरे । जोसमनी सम्प्रदायको धार्मिक संस्थालाई नै त्यसबेला उनले एक राजनैतिक संगठनकोरूपमा सक्रिय गराए । आर्थिक, भौतिक लगायत अन्य श्रोत र साधनहरूको अभाव हुदाँहुदै पनि ठूलो संख्यामा स्थानीय मानिसहरू भेला पारी सन् १८७६ को अप्रिलमा उनले जङ्गबहादुरको निरङ्कुश, तानाशाही र पारिवारिक एकाधिकारवादमा चलेको शासनसत्ता विरुद्ध जनविद्रोहको शंखनाद गरे ।

“...जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ । जातिपाति, छुवाछूत झन चर्काएको छ । जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ । नेपालमा सत्य युग फिराऊँ भन्ने मनकामना माईले मलाई वरदान दिएकी छिन् । लौ भाइ हो तयार होऊँ ...” भन्ने उद्घोष गर्दै जनसमक्ष यस प्रकारका महत्वपूर्ण बुँदाहरूमा प्रकाश पार्न थाले—

(क) कुटील षड्यन्त्र र जालझेलबाट सत्ता प्राप्त गरेका जङ्गबहादुर विदेशी (साम्राज्यवादी अङ्ग्रेज) शक्ति समक्ष नतमस्तक थिए । सो कुरा नेपाली जनता समक्ष उनले प्रष्टरूपले राख्न थाले ।

(ख) जङ्गबहादुरले जनतालाई त्राहीत्राही पार्‍यो अर्थात् तानाशाही, क्रुर एवं हुकुमी शासन स्थापित गर्‍यो भन्ने कुरा उनले जनतालाई बुझाउन थाले ।

(ग) नेपालमा सत्य युग फिराउनु पर्छ अर्थात् प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनेर उनले जनतालाई विद्रोहका निम्ति आव्हान गरे ।

(घ) त्यसबेलाका स्थानीय जनताहरूमा मनकामना माईप्रति गहिरो आस्था र धार्मिक विश्वास थियो । देवीबाट आफूलाई वरदान मिलेको र जङ्गेलाई हटाउन तयार हुनु पर्‍यो भनेर उनले अपिल गर्न थाले ।

(ङ) सन् १८५४ को मुलुकी ऐनबाट आदिवासी जनजातिको सामाजिकस्तर अझ तल झर्न पुगेकोले उनीहरू जङ्गबहादुरको हुकुमी शासनबाट अत्यन्त रुष्ट थिए । त्यसै समयमा लखन थापाले उद्घोष गरे- “...म लखन थापा (प्रथम) को अवतार हूँ र मलाई भगवती मनकामना माईले जङ्गबहादुरलाई मार्नु र नेपालको शासनसत्ता आफ्नो हातमा लिनु भनी आर्शिवाद दिएकी छिन् ...”

स्थानीय जनताहरूमा यस्तो उद्घोष, आव्हानको व्यापक प्रभाव पर्न गयो र जनताको स्वतःस्फूर्त सहभागिता र संलग्नता बढ्दै गयो । यसरी जङ्गबहादुर विरुद्ध पहिलो पटक संगठितरूपमा लखन थापाको नेतृत्वमा जनआन्दोलन वा जनविद्रोहको प्रारम्भ भयो । वि.सं. १९२८ सालमा स्थानीय जनताले प्रभावशाली नेता लखन थापालाई आफ्नो राजा वा सो सरह पनि मान्न थाले ।

गोरखा सिउँडी पानीका क्षेत्रीहरूको षड्यन्त्र:

काहुले भङ्गार (भञ्ज्याङ) नजिकै सिउँडी पानी गाउँका क्षेत्रीहरूको जङ्गबहादुरसंग पारिवारिक सम्बन्ध थियो । सधैं अर्काको हली, गोठालो भएर बसेका स्थानीय मगर समाजले एक होनहार व्यक्तिलाई जनताको राजा वा मुख्तियारकोरूपमा सम्मान वा जनसमर्थन दिंदा त्यहाँका क्षेत्रीहरूलाई डाहा हुनु स्वभाविकै थियो । जङ्गबहादुरको शासन विरुद्ध तयार पारिएका थुप्रै गोप्य कागजातहरू एक दिन विद्रोही किल्लाबाट चोरी भयो । ती कागजात क्षेत्रीहरूले हात पारे र जङ्गबहादुर समक्ष पेश गरे । आफ्नै देशभित्र नयाँ राज्यको स्थापना भएको थाहा पाउँदा जङ्गबहादुर पनि चकित परे । आफ्नो शासन सत्तालाई चुनौती दिंदै जनविद्रोह हुन लागेको बुझेर ज्यादै क्रोधित भए र उनले लखन थापाको विद्रोहलाई दवाउन तुरुन्तै आदेश दिए ।

जङ्गबहादुरको ठाडो आदेशमा देवीदत्त गण गोरखाको बुङ्कोट पुग्यो र सैनिकहरूले विद्रोही किल्लालाई चारैतिरबाट घेरा हाले । सेनापति धीर शमशेरलाई पनि विद्रोहीहरूलाई दवाउन हम्मेहम्मे पर्‍यो । आवश्यक गोली, खाद्यसामग्री लगायतका बस्तुहरू सिद्धिएपछि विद्रोहीहरूले आत्मसमर्पण गरे । लखन थापालगायत उनका सहयोद्घाहरू भागेर त्यसबेला तिब्बत पस्न सक्दथे । तत्कालीन समयमा नेपाल सरकार र तिब्बत सरकार बिचको सम्बन्ध राम्रो नभएकोले विद्रोहीहरूले तिब्बतमा सजिलै राजनीतिक शरण पाउन सक्ने अवस्था थियो । तर स्वाभिमानी, राष्ट्रभक्त लखन थापा तिब्बतको शरणमा जान चाहेनन् , बरु आत्मसमर्पण गरे । युद्ध रोकियो र विद्रोहीहरूलाई बाँसका पिंजडामा कैद गरेर काठमाडौं चलान गरियो । थापाथली दरवारमा उनीहरू विरुद्ध मुद्दा चलाइयो । निर्दयतापूर्वक कोर्रा हानियो । पशुसरह कायलनामा गराई माफी पत्रमा हस्ताक्षर गर्न बाध्य पारियो । तर निडर लखन थापामाथि कुनै असर परेन । जोसमनी धर्मको प्रचार गरे बापत पहिले पनि उनलाई कैद सजाय गरिसकिएको थियो । यसपल्ट भने धेरै यातना दिइए पनि जङ्गबहादुरका अगाडि उनी झुकेनन्, हमेशाझैं शिर ठाडो रह्यो । अन्त्यमा, बुङकोट किल्लास्थित मनकामना मन्दिर अगाडि नै लखन थापालाई झुण्ड्याएर मार्नु भन्ने आदेश भयो र उनलाई बन्दी अवस्थामै बुङकोट पुर्‍याइयो । त्यसको भोलिपल्टै विविध कारणले हाल नमार्नु भनेर केही सैनिककासाथ पुनः अर्को आदेश पनि पठाइयो । तर सिउँडी पानीका क्षेत्रीहरूले षड्यन्त्रपूर्वक पछिल्लो आदेशलाई तत्कालै बुङकोटसम्म पुग्न दिएनन् ।

लखन थापाका अन्तिम क्षणः

राजबन्दी लखन थापा र उनका निकटतम मित्र जयसिं चुमीलाई झुण्ड्याएर मार्न आदेश दिइएको थियो भने केहीलाई गोली हान्ने र केहीलाई जेलनेलको सजाय तोकिएको थियो । आदेशानुसार लखन थापालाई बुङकोट किल्ला परिसरभित्रको मनकामना मन्दिर अगाडि खिर्राको रूखमा र जयसिंह चुमीलाई बेलौतीको रूखमा झुण्ड्याएर निर्ममतापूर्वक हत्या गरियो भने शुकदेव गुरुङ, सुपति गुरुङ, अजखसिं मगर, अच्छामी मगर मृत्यु दण्डित भए तर ज्ञान दिलदास र कानु लम्साल ब्राह्मण जाति भएकाले उनीहरूलाई मृत्युदण्ड दिइएन ।

हुकुमी शासनको विरोध गर्दै प्रजातन्त्रकोलागि संघर्षशील लखन थापा र उनका केही सहयोद्धाहरूले एकै दिन, एकै स्थानमा सहादत प्राप्त गरे । लखन थापाले अन्तिम पटक आमजनतालाई सम्बोधन गर्दै भनेका थिए —

“...म मर्न गइराखेको छैन । मलाई झुण्ड्याएको वेला कोही पनि नरुनू, पीर पनि नगर्नू , मलाई झुण्ड्याएको डोरी सुरक्षित राख्नू , म एक दिन फर्कनेछु ...”

यस प्रकार प्रजातन्त्रको पक्षमा पहिलो पटक जनविद्रोह गर्ने र आफ्नो प्राणको उत्सर्ग गर्ने लखन थापा नेपालका प्रथम शहीद बन्न पुगे । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भमै शहादत प्राप्त गरेका हुन्, त्यसैले उनी हामी सम्पूर्ण देशभक्त नेपालीहरू बिच अमर र अजेय छन् ।

लखन थापाको पूजा

गोरखा, बुङकोट–४ काहुलेभङ्गारका स्थानीयबासीहरूले भुँयरी देवताको पुजाआजा चलाउँदा विगत १३० वर्षदेखि सहिद लखन थापालाईसमेत पुज्ने चलन अद्यापि छँदैछ । प्रत्येक वर्ष पौष पञ्चमीको दिन बोका, भेंडा, परेवा, कुखुरा आदिको वलि दिएर स्थानीय बासिन्दाहरूले उनलाई पनि सम्झने चलनले गर्दा त्यहाँका मगरहरूमा लखन थापाप्रति आजसम्म पनि उत्तिकै श्रद्धा, सम्मान र भक्तिभाव रहिरहेको देखिन्छ । साधारण जनताका छोराले देश, देशवासी र सच्चा प्रजातन्त्रकालागि निश्वार्थपूर्वक आफ्नो प्राणको आहुति दिएको कारणले गर्दा नै उनले आजसम्म यस्तो सम्मान पाएका हुन् ।

लखन थापाको निर्ममतापूर्वक हत्या गरेपछि जङ्गबहादुरले त्यहाँका स्थानीय बासिन्दाहरूलाई शान्त पार्न वा हातमा लिन केही बक्सीस पठाए । राणाहरूप्रति अत्यन्त भयभित जनताहरूले रकम त लिए तर सो रकमबाट शहीद लखन थापाको स्मृतिमा ठूलो घण्ट बनाएर गोरखा दरबारस्थित कालिका मन्दिरमा चढ़ाए । यस सन्दर्भमा डा.तुलसीराम वैद्य लेख्छन् —“लखन थापाप्रति तत्कालीन जनतामा रहेको निस्वार्थ श्रद्धा यस घटनाबाट प्रष्ट हुन आउँछ ।” (ऐ. स्मारिका २०६७, पृ.२७)

जङ्गबहादुर विरुद्ध अन्य विद्रोह

जङ्गबहादुर राणाको विरोध उनको हुकुमी, निरङ्कुश र एकतन्त्रीय शासन संगसंगै शुरु भएको थियो । लखन थापाले नेतृत्व गरेको जनविद्रोहभन्दा पहिले र त्यसपछि पनि उनलाई मार्ने अनेकौं प्रयासहरू भएको पाइन्छ । विशेषतः सत्ताबाट च्यूत गरिएका चौतरिया, काजी, भाइभारदारहरूले पुनः सत्ता वा अधिकारहरू प्राप्त गर्न, बदलाको भावना, व्यक्तिगत रिसइवी, पारिवारिक आकांक्षा र आवेशका कारणहरूबाट जङ्गबहादुरको हत्या गर्ने धेरै असफल प्रयासहरू भएका थिए । वि.सं. १९०२ मा वीरध्वज बस्नेतले राजा सुरेन्द्रको हत्या गरेर जङ्गबहादुरलाई फसाउने षड्यन्त्र गरेको, आफ्नै भाइ बद्रीनरसिंह कुँवर, काकातर्फका छोरा जयबहादुर कुँवर साथै करवीर खत्री र भोटुसिंह बस्नेत आदिले पनि सत्ता प्राप्तिकालागि वि.सं. १९०७ मा जङ्गबहादुरको हत्या गर्ने असफल योजनाहरू बनाएको देखिन्छ ।

सुदूर पश्चिमाञ्चलको अछाममा जाने राणाकालीन कर्मचारीहरूले विशेषगरी त्यहाँका ठकुरीहरूमाथि गरेको भेदभाव र अत्याचारलाई साहेबज्यू बलदेव शाह उर्फ बाँकावीरलाई खपी नसक्नु भएको थियो । त्यसमाथि जङ्गबहादुरले श्री ५ राजेन्द्रलाई बन्दीगृहमा राखी अड्कलेर दिएको माना खानुपर्ने व्यवस्था गरेका कारण राजपरिवार र ठकुरीहरू पनि राणासँग आगो भएका थिए । आवेशमा आएका बाँकावीरले राणाहरूको सैनिक माथि लुकीछिपी प्रहार गर्न थालेका थिए । त्यसैले रुद्रसिंह स्वाँरले उनको टाउको काटी हत्या गरेको कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् । बलदेव शाह (बाँकावीर) सुदूर पश्चिमका सहादत प्राप्त व्यक्ति त हुन् तर उनले आफ्नो पक्षमा कुनै जनमत तयार पारेको कुरा कतै उल्लेख भएको पाइदैन ।

सन् १८५१ को मुलुकी ऐन लागू भएपछि जनजातिहरूको सामाजिकस्तर अत्यन्त तल झरेको थियो । उनीहरू जङ्गबहादुरको पारिवारिक र तानाशाही व्यवस्थाबाट रुष्ट एवं असन्तुष्ट थिए । यसै क्रममा आदिवासी जनजातिका केही युवाहरूबाट जङ्गबहादुर विरुद्ध सैनिकहरूलाई विद्रोह गर्न उत्तेजित पार्ने, जङ्गबहादुरको हत्या गर्ने र सत्ता पल्टाउने असफल प्रयासहरू भएका थिए । यी प्रयासमा संलग्न शुकदेव गुरुङ र श्रीपद गुरुङको हत्या जङ्गबहादुरको निर्देशनमा वि.सं. १९३३ मा गरिएको थियो । राणा शासनको विरोध गर्ने सुपति गुरुङ भने पक्राउ पर्न सकेनन् । जङ्गबहादुर विरुद्ध गरिएका यस्ता षड्यन्त्रहरूको कुनै स्पष्ट लक्ष्य वा उद्देश्य देखिंदैन । यो केवल सत्ता, अधिकार प्राप्त गर्न आवेशमा भएको विद्रोह जस्तो देखिन्छ । यस प्रकारको विरोध वा षड्यन्त्रमा जनसहभागिता, जनसहयोग र जनसक्रियताहरूको पूर्णतः अभाव रहेको पाइन्छ । साथै यी कुराहरू जनअधिकारप्रति उन्मुख रहेको पाइदैन ।

विद्रोहका लक्ष्य र रणनीतिहरू

जङ्गबहादुरको एकतन्त्रीय, निरकुंश र पारिवारिक शासन प्रणाली विरुद्ध वि.सं. १९२७ मा विद्रोह गर्ने लखन थापाले आफूले नेतृत्व गरेको विद्रोहको लक्ष्य र उद्देश्यहरू जनसमक्ष यस प्रकार राख्ने गरेका थिए– “जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ । जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्दछ । नेपालमा सत्ययुग फिराऊँ, जगदम्बा कालीमाताले मलाई वरदान दिएकी छिन्, लौ भाइ हो तयार होऔं” (भीम भक्तमान सिंह) जङ्गबहादुरको तानाशाही शासनविरुद्ध गरिएको सशस्त्र विद्रोहका उद्देश्यहरू पूर्णरूपले राजनैतिक परिप्रेक्षमा रहेको देखिन्छ, जस्तै–

(क) लखन थापाले त्यसैबेलादेखि विदेशी शक्ति अर्थात् अङ्ग्रेजी हस्तक्षेपको खुलेर विरोध गरेका थिए ।

(ख) जङ्गबहादुरको हुकुमी तथा पारिवारिक शासन व्यवस्थाबाट जनता त्राहीत्राही भइसकेको हुँदा सो प्रणालीमा आमूल परिवर्तन ल्याई “सत्य युग” अर्थात् प्रजातान्त्रिक व्यवस्थाको सिर्जना गर्ने विद्रोहको मुख्य लक्ष्य रहेको थियो । त्यसपछि “सत्य युग” अर्थात् जनताको सहभागिताबाट संचालन हुने व्यवस्था भित्राउने उनको अभिप्राय रहेको देखिन्छ ।

आफ्नो लक्ष्य प्राप्तिका लागि उनले मुख्यतः तीनवटा रणनीतिहरू प्रयोग गरेका थिए –

(क) पूर्वजन्म, पुनरजन्म जस्ता अन्धविश्वासी कुरा र मनकामना देवीमाथि अटूट आस्था, प्रगाढ निष्ठा राख्ने तत्कालीन नेपाली समाजलाई विद्रोह वा जनआन्दोलनको पक्षमा परिचालन गर्न आफूलाई देवीमाताको वरदान प्राप्त भएको भनेर प्रचार गरेका थिए । फलस्वरूप जनताको स्वतःस्फूर्त सहयोग र संलग्नता प्राप्त गर्न उनी सफल भए ।

(ख) जनताको सक्रिय सहयोग र सहायताको आधारमा मगर, गुरुङ, ब्राह्मण, क्षेत्रीलगायत अन्य जातजातिका करिब दुई हजार युवाहरूको समावेशी जनमिलिशिया, आफ्नै किल्ला, शस्त्रअस्त्र, खाद्यान्न र युद्धकलाका विविध प्रशिक्षण आदिको व्यवस्था छोटो अवधिमा गर्न, गराउन उनी सफल भए ।

(ग) हुकुमी र तानाशाही शासनलाई ध्वस्त पार्न राजनीतिक संगठनको पनि आवश्यकता पर्दछ भनेर जोसमनी सम्प्रदायलाई एक राजनैतिक संगठन वा दलकोरूपमा उनले परिचालन गरेका थिए ।

प्रथम शहीदका वास्तविक हकदार लखन थापा (द्वितीय) किन र कसरी ?

लखन थापाले नेतृत्व गरेको जनयुद्ध वा जनविद्रोहको लक्ष्य र रणनीतिहरू केवल जङ्गबहादुरको हत्या गर्ने कुरामा मात्र सीमित थिएन । राणाहरूको एकतन्त्रीय शासन ढालेर ठूलो राजनैतिक परिवर्तन ल्याउने अभिप्रायबाट जनविद्रोहको शुभारम्भ भएको थियो । जनयुद्धको तयारी अत्यन्त बृहत् र योजनावद्ध थियो । त्यसैले जनताले लखन थापालाई एक शक्तिशाली व्यक्ति, अत्यन्त पराक्रमी अर्थात् राजा वा सो सरह मानेका थिए । नेपालको इतिहासमा पहिलो पटक तत्कालीन नेपालको सम्पूर्ण जनसंख्याको तुलनामा दुई हजार युवाहरूको जनमिलिशिया तयार गर्नु सामान्य कुरा थिएन । तथापि उनको विद्रोही योजनाले पूर्ण सफलता प्राप्त गर्न नसके पनि उनलाई प्रथम शहीदको सम्मान दिन सकिने प्रशस्त आधारहरू छन्:   

१) उनले व्यक्तिगतरूपमा विरोध वा विद्रोह गर्नुभन्दा पनि स्पष्ट लक्ष्य राखेर स्थानीय जनतालाई उत्साहित पारी संगठनको निर्माण गर्न र योजनाबद्धरूपले सत्ययुग फर्काउन सशस्त्र युद्धकोलागि तयार रहँदा आठ–आठ जना विद्रोहीले प्राण गुमाउन पुगेकोले त्यस्ता ऐतिहासिक घटनाका नायक लखन थापा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने पहिला व्यक्ति हुन् ।

२) जङ्गबहादुरको निरङ्कुश, हुकुमी एवं तानाशाही शासनको विरोध गर्ने कुरा त्यसबेला कसैले सपनामा पनि चिताउँदैन थिए । त्यस्तो स्थितिमा जनसहभागिता र जनसक्रियतामा देशको राजनैतिक, सामाजिक परिवर्तनकालागि वि.सं.१९२७ सालमा लखन थापाको नेतृत्वमा उठेको यो जनविद्रोह पहिलो नै थियो ।

३) नेपालको इतिहासमा राणाहरूको अत्याचारी शासनको विरोधमा संगठित, योजनावद्ध साथै स्पष्ट लक्ष्यकासाथ लखन थापाको नेतृत्वमा सुनौलो नेपालको प्राप्तीकालागि संचालन भएको यो पहिलो जनयुद्ध थियो ।

४) जङ्गबहादुरको सैनिक शासन विरुद्ध लखन थापाको सक्रियतामा विद्रोही सेना खडा हुनु, बुङकोट काहुले भङ्गारमा विशाल किल्लाको निर्माण हुनु, लामो समयसम्म छापामार सैनिक तालिम संचालन हुनु नेपालको सैनिक इतिहासमा पहिलो ऐतिहासिक घटना हो । यसबारे जङ्गबहादुरले खटाई पठाएको आठ पहरियाले पेश गरेको रिपोर्टमा सो सम्बन्धी विवरण यसरी उल्लेख भएको पाइन्छ, “पुग न पुग २००० जति युवा, अधवैंशे व्यक्तिहरूको चहलपहल, योजनावद्ध ढङ्गबाट जम्मा भइरहेको देखें ।” (प्रमोद शमशेर राणा)

पहिलो पटक समावेशी समानान्तर सरकार लखन थापाको नेतृत्वमा खड़ा

५) वि.सं. १९२७ सालमा जङ्गबहादुरको तानाशाही शासन विरुद्ध समानान्तर सरकारको गठन स्वयं लखन थापाको सकृयतामा भएको थियो । विद्रोही सरकारको मन्त्रिपरिषद्मा ब्राह्मण, क्षत्री, गुरुङ, मगरआदि जातजातिका मन्त्रीहरू संलग्न रहेका थिए । सरकारको उद्देश्य सत्ययुग अर्थात् प्रजातन्त्रको बहालीप्रति लक्षित थियो । नेपालको इतिहासमा पहिलो पटक समावेशी समानान्तर सरकार लखन थापाको नेतृत्वमा खड़ा भएको थियो ।

६) राणाहरूको देवीदत्त गण र लखन थापाले नेतृत्व गरेको जनसेना बीच नेपालको सैनिक इतिहासमा पहिलो पटक भीषण युद्ध भएको थियो । जङ्गबहादुरका भाइ सेनापति धीर शमशेरलाई सो युद्ध जित्न हम्मेहम्मे परेको थियो । बुङकोट किल्ला चारैतिरबाट घेरेपछि संघर्ष चर्किएको थियो । सेनाको सीमित गोलीगठ्ठा, रसदपानी सिद्धिएपछि थप सहायता र आपूर्तिको बाटो बन्द भएकाले विद्रोहीहरूले आत्मसमर्पण गर्न बाध्य हुनु पर्‍यो । अन्यथा सेनालाई धेरै गाह्रो परेको थियो । नेपालको इतिहासमा प्रथम पटक आन्तरिक विद्रोहलाई दमन गर्न सेनापति नै खटिनु सैनिक इतिहासमा पहिलो घटना हो ।

६) बुङकोट किल्लाको परिसरमा दिनहुँ जसो स्थानीय एवं छरछिमेकी जिल्लाहरूबाट लखन थापाको सन्देश सुन्न मानिसहरू ओइरिन्थे । जङ्गबहादुरको अत्याचार, दमन, अन्याय र शोषणप्रति जनतामा जागृति ल्याउने नेपालको इतिहासमा पहिलो राजनैतिक प्रशिक्षण, अनुशिक्षणको शुरुवात लखन थापाको नेतृत्वमा भएको थियो ।

७) जङ्गबहादुरले नेपाल म्लेच्छ (अङ्ग्रेज) लाई बेच्यो भनेर विदेशी हस्तक्षेप विरुद्ध पहिलो पटक आवाज उठाउने लखन थापा नै हुन् ।

८) नेपालको इतिहासमा पहिलो पटक प्रजातन्त्रको विज रोप्ने क्रममा बुङकोटस्थित आफ्नै विद्रोही किल्लाको परिसरमा निर्ममतापूर्वक यातना दिई खिर्राको रुखमा झुण्ड्याएर लखन थापाको निर्मम हत्या गरिएको थियो । त्यसैले नेपालको इतिहासमा प्रजातन्त्रप्रतिको वलिदानी संघर्षमा सहादत प्राप्त गर्ने पहिला व्यक्ति लखन थापा नै हुन् भनेर सवै इतिहासकारहरूले स्पष्टसंग उल्लेख गरेको पाइन्छ ।

प्रख्यात इतिहासकारहरूको मन्तव्यः

जङ्गबहादुरको अत्याचारी शासनबाट नेपाली जनतालाई मुक्ति दिलाउनेबारे कसैको सोंच्नेसम्म साहस थिएन । राणाहरूको जल्दोबल्दो शासनकालमा उनीहरूको शोषण, दमन विरुद्ध खुलेर लखन थापाले विरोधको प्रारम्भ गरेका हुन् भनेर इतिहासकार प्रमोद शमशेर राणाले आफ्नो पुस्तकमा यस प्रकार उल्लेख गरेका छन् — "The Gorkha uprising was a very significant event because this was the first revolt against the dictatorial rule of the Ranas. It was a revolt of the people. Until then nobody had raised a finger against the Rana rule." (Pramod Shamsher Rana, 1955 “Rana Intrigues” p.50)

साथै, विदेशी इतिहासकार जोन ह्वेल्पटनको भनाइ पनि यस्तो देखिन्छ — “सिद्ध लखन थापाको अवतार हूँ भनी ई.सं. १८७६ मा लखन थापा मगर (द्वितीय) ले राजद्रोह गरेका थिए ।” - John Whelpton, 1991, “Soldiers and Priests, Nepalese Politics and the rise of Jung Bahadur Rana” p.241

इतिहासकार पद्मजङ्ग राणाले लखन थापाले सुनौलो नेपालको स्थापना गर्ने परिकल्पना गरेका थिए भनेर आफ्नो पुस्तकमा यसरी उल्लेख गर्नु भएको छ —
“His graceful manner and persuasive one soon procured him an armed following of 1500 men, at the head of whom he threatened to march to the capital and after assassinating Jung Bahadur to seize the reins of government and inaugurate the golden age of Nepalese history.”Padam Jung Bahadur Rana, 1974 “Life of Maharaja Sir Jung Bahadur of Nepal” p. 302 (Reprinted)

यसै सन्दर्भमा, डा. राजाराम सुवेदीले आफ्नो कार्यपत्रमा उल्लेख गर्नु भएको छ, “शहीद लखन थापाले राणाशासनको विरुद्ध बेलैमा एक शक्तिशाली संगठन चाहिन्छ भन्ने कुरा गरेर नदेखाइ दिएको भए २००७ सालको क्रान्ति सफल हुन्थ्यो भन्ने चेतना नेपालीमा आउन गाह्रो कुरा थियो । त्यसकारण नेपालका इतिहासकारहरूले एकै लहरमा लखन थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका पहिला शहीद मान्न तत्पर रहेको देखिन्छ ।” (प्रथम शहीद लखन थापा विचार गोष्ठी, २०६५।९।९ मा प्रस्तुत कार्यपत्र)

लुम्बिनी विश्वविद्यालयका पूर्वउप–कुलपति प्रा.डा. तुलसीराम वैद्यको मन्तव्य यसप्रकार छ — “इतिहासको एक विद्यार्थीको हैसियतले म लखन थापा (द्वितीय) लाई नेपालको पहिलो शहीद ठान्दछु । नेपाल सरकारमा सम्बन्धित पदाधिकारीहरूलाई पनि प्रथम शहीद घोषणा गर्नु हुन अनुरोध गर्दछु ।” (प्रथम सहिद स्मारिका, २०६७ फागुन, पृ.२८)

अधिकांश स्वदेशी-विदेशी इतिहासकारहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनमा राजनैतिक जागरणका अग्रणी नायककोरूपमा तथा एकलौटी पारिवारिक शासन प्रणाली विरुद्ध संगठित एवं योजनावद्धरूपमा विरोध गर्न पहिलो पटक लखन थापा (द्वितीय) नै उभिएको र उनले नै पहिलो पटक सहादत प्राप्त गरेका थिए भनेर उल्लेख गरेकाछन्।

तर केही इतिहासकारहरूले आफ्नो पूर्वाग्रहको कारणले गर्दा लखन थापाको विद्रोहको सम्बन्धमा हलुका र तर्कहीन टिप्पणी पनि गरेका छन्– “सन् १८७६ को अप्रिलतिर जङ्गबहादुर विरुद्ध लखन थापा (द्वितीय) को नेतृत्वमा गोरखामा एक नयाँ र हाँस्यास्पद किसिमको विद्रोह उठ्यो” (बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रुपरेखा, २०३३, पृ.३४७)

त्यसैगरी, प्राचीन नेपाल, २०३१ वैशाख, अंक २७ को “नेपाल देशको इतिहास” मा प्रकाशित गरिएको विवरण यस प्रकार छ— “वि.सं. १९३३ सालमा गोरखा इलाकामा लखन थापाको अवतार हूँ भनी एउटा लुच्चो मगरले श्री ३ महाराज (जङ्गबहादुर) का गाथमा दगा गर्न आफ्ना तहमा चल्ने मानिसहरूसंग मतजत गरी हातहतियार, बन्दुक, घनाहरू जम्मा गर्न लागेको रहेछ ।” (प्रथम सहिद स्मारिका, २०६७ फागुन, पृ.३५)

जे होस् राणा शासन विरुद्ध नेपालको इतिहासमा लखन थापाले संगठितरूपमा पहिलो विद्रोह गरेका थिए र उनलाई रुखमा झुण्ड्याएर निर्ममतापूर्वक प्राणदण्डको सजाय दिइएको तथ्य स्वदेशी–विदेशी, उनका पक्ष–विपक्षमा टिप्पणी गर्ने सबै इतिहासकारहरूले इमान्दारीपूर्वक स्वीकार गरेको पाइन्छ ।

राज्यको विभेदपूर्ण नीति

वि.सं.२०६६ सालमा लखन थापा (द्वितीय) लाई प्रथम शहीद घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानकोतर्फबाट प्रधानमन्त्री कार्यालय एवं सँस्कृति मन्त्रालयमा ज्ञापन–पत्र र स्मरण–पत्र बुझाइएको थियो ।

नेपाल मगर संघ, केन्द्रीय समिति, काठमाडौंले केही वर्षअघि चढाएको ज्ञापन–पत्रका सन्दर्भमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जवाफको व्यहोरा यस प्रकार रहेको छ–

“श्री ५ को सरकारबाट शहीद घोषणा गरी सकिएको र प्रथम शहीद घोषणा गर्न ऐतिहासिक, प्रमाणिक तथ्य एवं अन्य विवरणहरू आवश्यक पर्ने र निज अघि नेपाल अधिराज्यमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनैतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय जीवनका अन्य विषय क्षेत्रहरूमा योगदान दिंदै प्राण आहुती गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिले नै शहीद घोषणा गरी सकिएको लखन थापालाई प्रथम शहीद घोषणा गर्ने तथ्यगत एवं व्यवहारिक हिसाबले कठिनाई पर्ने...” (उक्त मन्त्रालयको च.नं. ५८२, मिति २०६२/११/८ को पत्रबाट)

वास्तवमा प्रख्यात स्वदेशी-विदेशी इतिहासकार, लेखक, बुद्धिजीवीहरूको मन्तव्य, टिप्पणी, लेख, विश्लेषण, ऐतिहासिक प्रमाण, जनश्रुति र स्थानीय बुढापाकाहरूको कथनहरूबाट यथेष्ट पुष्ट्याई आई सकेको छ । साथै विभिन्न शैक्षिक प्राज्ञिक क्षेत्रबाट लखन थापालाई प्रथम शहीदको दर्जामा राख्न यथेष्ट प्रमाणहरू पनि उपलब्ध छन् ।

शहीद स्मारक समिति, ललितपुरबाट प्रकाशित हुने शहीद पत्रिकामा (२०४६/४५) भनिएको छ:
अभिलेखबाट देखिएका वीर अमर शहीदहरू मध्ये वि.सं. १९३३ (सन् १८७६) मा जङ्गबहादुर राणाको अन्त गर्न गरिएको आन्दोलन काण्डमा झुण्ड्याइएका लखन थापा मगरले नेपालको अमर शहीदहरूको सूचीमा अग्रणी स्थान ओगटेका छन् । (डा. हर्षबहादुर बुडामगर “राष्ट्रका गौरव तथा प्रथम शहीद लखन थापा मगर” २०५४, पृ.८५)

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी
Read more about this article
All Pages


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.