Inside

All Time Top 50 News

यसरी बनि ९ नम्बरकि केटी रामबहादुरकि 'कमली' PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Indira Prasai   
Tuesday, 29 November 2011 12:14

Special: काठमाडौं- प्रत्येक पटक ऊ भने लुगा फुकाल्न खोजिरहन्थी । लुगाफाटो र सिगारपटार सकेपछि रामबहादुरलाई नौ नम्बरकी केटी एकदमै ठयाम्मै कमलीजस्तै लाग्यो । उस्तै गोरो अनुहार, उस्तै आखा, उस्तै ओठ, उस्तै सम्पूर्ण बनोट । 'कमली !' रामबहादुरले आखाभरि आसु पारेर त्यसलाई बोलायो । अगालोमा कसेर फेरि बोलायो 'कमली !, कमली !'

Nude Girls by Vera Richarda. Image courtesy: fineartamerica.com

कथा

नौ नम्बरकी


-इन्दिरा प्रसाई

'आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्षपछि जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा लगेज भारी भएर उल्टै दण्ड पर्यो । यसपालि कसैको पनि कुनै सामानचै नलाने । साथीभाइको चिठीपत्र भने लगिदिन्छु कि कसो ।' रामचन्द्र घर जाने उत्साहमा बोल्दै थियो ।

रामचन्द्र, जसलाई यहाँ साहेबले आर.सी. भनेर बोलाउछ, त्यसैले ऊ सबैको आर.सी. हो । त्यसैगरी, आर.बी. चाहि रामबहादुर हो । साहेबले लामो नाउ बोलाउने झन्झट नगरी सबैको नाउ छोट्टयाइदिन्छ । उनीहरू तीन जना नेपालीबाहेक दुई जना भारतीय केटीहरू र चार जना बङ्गलादेशी केटाहरू पनि यहाँ छन् । भारतीय केटीहरू चन्द्रावतीलाई सी. भन्छ साहेबले र मधुमालतीलाई एम. मात्रै भन्छ । बङ्गलादेशी केटाहरू चन्द्रशेखरलाई सी.एस., गोपीकृष्णलाई जी.के., कृष्णचन्दरलाई के.सी. र कालीप्रसादलाई के.पी. भनेर साहेबले बोलाउने गर्छ । तर रामबहादुरलाई यसरी नाउ छोट्टयाएको पटक्कै मन पर्दैन र ऊचाहि आफ्ना सबै सहकर्मीलाई उनीहरूको पूरै नाउले बोलाउछ । तर उसका सहकर्मीहरू भने साहेबकै नक्कल गर्छन् र एकआपसमा साहेबले छोट्टयाएकै नाउ चलाउछन् ।

रामचन्द्रले घर जाने कुरा गर्नासाथ रामबहादुरलाई पनि आफ्नो घरको सम्झना भएर आयो । रामबहादुर घर नगएको पनि झन्डै छसात वर्षै भइसक्यो । यहाँबाट छुट्टी पाउनै गाह्रो छ । सुरुसुरुमा छुट्टी नपाएको झोकमा कहिलेकाही यो कामै छोडौ जस्तो पनि उसलाई नलागेको होइन । तर साहेब ज्यादै असल छ र रामबहादुरलाई खूबै माया गर्छ । साहेबले कामदारमध्ये सबैभन्दा बढी विश्वास पनि रामबहादुरलाई नै गरेको छ । यति ठूलो फर्मको सबैजसो जिम्मा हिजोआज रामबहादुरकै हातमा छ । साहेबको विश्वासपात्र भयो भनेर उसका सहकर्मीहरू उसको ईर्ष्या पनि गर्छन् । त्यसैले यहाँको कामै छोडेर साहेबको विश्वासलाई घात पार्न पनि ऊ चाहदैन ।

रामबहादुरलाई घरै जाने पनि अब के नै आकर्षण रह्यो र ! आफूले मन पराएर बिहे गरेर घरमा छोडेर आएकी स्वास्नीले पनि पर्खिन सकिन । पाँच वर्षपछि घर जादा ऊ अर्कैकी भइसकेकी रहिछे । आमाले माया गर्थिन्, उनी पनि स्वर्गे भइसकिछन् । बाउ दाजुसँग बसेका रहेछन् । दाजुको परिवारमा भाउजूको हेरविचार र नातिनातिनाको रमझममा बाउ पनि रामबहादुरकालागि बिरानोझै भएछन् । कान्छा अब नजा परदेश, यतै बस्, घरजम गर् बाबै बाउले भन्न त भनेका थिए । तर आम्दानी गर्न नसकेको घरजम पनि दीगो हुँदैन । कमलीसँग उसले घरजम गर्न खाजेकै त हो नि । दिनरातको अभाव र गरिबीसँग आजित भएपछि कमलीकै सल्लाह मानेर ऊ परदेशिएको हो । तर कमलीले आफैले कमाउन भनेर परदेश पठाएको लोग्नेलाई पर्खन सकिन ।

रामबहादुरले त्यस बेला मनभरि कुरा खेलाए पनि बाउलाई कुनै जबाफ फर्काएको थिएन । 'कान्छा सबै उस्तै हुँदैनन्, सधै एकनास हुँदैन, आइमाई जातलाई एक्लै छोड्नु हुँदैन । आँट गर्, अब नजा, यतै बस्, म पनि बूढो भइसकें, आमाले तेरै नाउ लिदालिदै प्राण छोडी ।' रामबहादुरको मनको कुरा पढेर बाउले भनेका थिए । तर उसले बाउले भनेझै गरेन । 'एकपल्ट पुगेर आउँछु बा !' उसले यति मात्रै भनेको थियो । "बाका कुरा पनि ठीकै हुन् कान्छा, अब नजा, यतै मिलीजुली काम गरौँला ।" दाइले पनि भनेका थिए । तर रामबहादुरले दाजुको हिजोको व्यवहार बिर्सन सकेको छैन । दाजु र भाउजूले उसले कमाएन भनेर त्यस बेला अर्घेलो गरेको उसले कसरी बिर्सोस् ! अझ रामबहादुरले कमलीलाई बिहे गरेपछि दाजुले सगोलमा बस्न पनि रुचाएका थिएनन् र त्यसपछि दाजुकै आग्रहमा परिवार दुई टुक्रा भएको थियो । दाजुले कुलो पनि लाग्ने र राम्रो उब्जाउ हुने खेतजति आफ्ना भागमा पारेर रूखो र कुलो नलाग्ने खेत उसको भागमा पारिदिएका थिए । त्यसपछि बाउआमा पाल्ने जिम्मा पनि रामबहादुरलाईलगाएर दाजु पन्सिएका थिए ।

कुनै इलम नभएको रामबहादुर वर्षदनमै साहूको ऋणमा चुर्लुम्म डुबेको थियो । 'अब परदेश नगई अर्को उपाय छैन' कमली र उसले सल्लाह गरेका थिए । त्यसपछि खेतजति जम्मै साहूलाई जिम्मा लाएर दलाललाई पैसा खुवाएपछि रामबहादुरले परदेशमा जागिरको मुख देखेको थियो ।

परदेशिएको अर्को वर्षेदेखि रामबहादुरले बाउको नाउमा पैसा पठाउन थालेको थियो । बाउको नाउमा पैसाको बिटो देखेपछि भाउजूको बुद्धि फर्केको थियो । बूढाबूढीलाई एकोहोर्याएर कमलीलाई पोइल हिडाउने जुक्ति पनि भाउजूकै थियो । कमलीलाई टिक्न नदिएपछि उनीहरूले बूढाबूढीलाई स्याहार्न आफ्नै घरमा पुर्याएका थिए । त्यसपछि रामबहादुरले पठाएको सबै पैसा दाजुकै हातमा पर्न थालेको थियो । त्यसैले आफ्नो दाजुको माया कतिसम्म गहिरो छ भन्ने कुरा रामबहादुरले राम्ररी बुझेको थियो । उसले पैसा कमाउन छोडेको भोलिपल्ट उसका दाजुभाउजूले उसलाई नचिन्न पनि बेर लाउदैनन् । त्यसैले छदाखादैको त्यस्तो राम्रो काम छोडेर बाउदाजुका कुरा मान्नु रामबहादुरलाई पटक्कै ठीक लागेन । त्यसैले चाडै र्फर्किनेछु भनेर ऊ पुनः विदेशिएको थियो ।

रामबहादुर फर्किएको छ महिनामै सेतो धागोले बेरिएको चिठी उसको नाउमा आएको थियो । बाउ बितेछन् । उसले आफूले जानेको किरिया यही बसेरै बार्यो । परदेशमा नियम त कसरी पुर्याओस्, तै बाउलाई बिदा गर्यो । बाउको देहान्तपछि अब नेपालै रित्तो लाग्यो उसलाई । त्यसैले पनि ऊ घर गएको छैन । किन जाने ! कसका लागि जाने ! ढुङ्गा र माटोबाहेक नेपालमा अर्थोक के छ र उसको । ढुङ्गा र माटो त यहाँ पनि छ । एकै पेटको दाजुको माया उसले कमाएको पैसासँग मात्र छ । बरु यही देशको साहेबले उसलाई बिरामी पर्दा पनि स्याहारेको छ ।

यहाँ आएकै साल फुड प्वाइजन भएर ऊ झन्डै खुस्केको थियो । त्यस दिन दुईचार चोटि दिसाबान्ता हुदा पनि उसले खासै वास्ता गरेन र आफ्नो नियमित काम गरिरहेको थियो । अचानक उसलाई तारन्तारको दिसाबान्ताले छोपेको थियो । मधुमालतीले आत्तिएर तुरुन्तै साहेबलाई खबर गरेकी थिई । त्यस बेला साहेब हावाको गतिमा आइपुगेको थियो र हतारहतार उसलाई गाडीमा हालेर अस्पताल पुर्याएको थियो । आधा घण्टाको बाटोमा रामबहादुरले गोडा तीनचारेकपल्ट गाडीमै दिसा र बान्ता गरेको थियो । झन्डै बेहोसजस्तो अवस्थाको रामबहादुरलाई साहेबको गाडी खराब गरेको भन्नेचाहि सम्झना थियो तर ऊ यति शिथिल भइसकेको थियो कि त्यस बेला आफ्नै शरीर उसको वशमा थिएन ।

तपाईंले फोहोर पारेको गाडी साहेबले सबै आफै सफा गरे नि आर.बी. दाइ ! पछि मधुमालतीले सुनाएकी थिई । भारतीय केटी मधुमालतीले साहेबको ड्राइभर नेपाली केटो हर्कबहादुरसँग बिहे गरेकी छ । मधुमालती र हर्के साहेबले दिएको साहेबकै घरसँग टासिएको क्वार्टरमा बस्छन् । रामबहादुरलाई अस्पतालमा तीन दिनसम्म सलाइन चढाएर राखिएको थियो । अस्पतालबाट साहेबले रामबहादुरलाई आफ्नै घरमा लगेको थियो । साहेबले आफ्नो कोठाकै छेउको कोठामा रामबहादुरलाई राखेर रामबहादुरको जम्मै हेरविचार आफैले गरेको थियो । साहेबको स्याहारसुसारले एक हप्तामा रामबहादुर तङ्ग्रिएर तन्दुरुस्त पनि भएको थियो । त्यसपछि मात्र साहेबले रामबहादुरलाई उसैको कोठामा फर्किन दिएको थियो । मानिसलाई मानिसले जित्ने भनेकै सद्व्यवहारले रहेछ । त्यस बेलाको साहेबको व्यवहारले गर्दा रामबहादुरका लागि साहेब भन्नु उसको जिउदो भगवान्जत्तिकै भएको छ ।

वास्तवमा यो परचक्री भूमि पनि उसकालागि आफ्नो मातृभूमिभन्दा प्रिय भएको साहेबकै मायाले हो । उसलाई सम्झदा पनि अचम्म लाग्छ, साहेब उसको भाषा बुझदैन र ऊ पनि साहेबको भाषा बुझदैन । मानिसले मानिसलाई माया गर्न भाषा पनि नचाहिने रहेछ । आफ्नाहरूका माझ ऊ बिरानो भइसकेको छ र बिरानो साहेबले उसलाई मायाजालमा हालिसकेको छ ।

रामबहादुरको साहेब वैज्ञानिक हो । हुन त ऊ डाक्टर हो तर उसले कहिले पनि डाक्टरी काम गरेर बिरामी जाचेन । उसलाई केटाकेटीदेखि नै आविष्कार र अनुसन्धानमा रुचि थियो । त्यसैले डाक्टरी विद्या पढेर पनि ऊ अनुसन्धानमा नै लागिरह्ययो । त्यसैले आज उसलाई सबैले वैज्ञानिक भनेर नै चिन्छन् । त्यसो त साहेबले आफ्नो आविष्कारलाई अहिले व्यापारमा परिणत गरिसकेको छ । अरबपति बाबुआमाको एक्लो छोरो हो साहेब । त्यसैले पैसा कमाउने कुरा उसले कहिल्यै सोचेन । नयाँनयाँ काम गर्ने मात्रै लहड थियो साहेबको । गोरा साहेबहरूको उमेर त थाहा पाइदैन, तर दस वर्षअघि रामबहादुर यहाँ आउँदाको साहेब र अहिलेको साहेबको उमेर विचार गर्दा साहेबको उमेर साठी वर्ष नाघिसकेको जस्तो लाग्छ उसलाई । रामबहादुरको सहकर्मी बङ्गलादेशबाट आएको कृष्णचन्दरचाहि अङ्ग्रेजी भाषा राम्रै जान्दछ । उसैले साहेबका बारेमा लेखिएको किताब पढेर साहेबका बारेमा लेखिएका यी सबै कुरा रामबहादुरलाई भनेको हो । कृष्णचन्दरले सुनाएअनुसार उसको साहेबले बिहे पनि गरेको छैन र उसको घरपरिवारमा पनि कोही छैनन्।

साहेबको यो फर्म सहरबाट निकै नै टाढा छ । यहाँबाट मोटरमा आधा घण्टाको बाटोमा एउटा सानोसानो गाउ छ । तर यो फर्मको वरिपरि भने कतै पनि कुनै घर छैन । झन्डै नौ सय एकडजति जमिनलाई अग्लो पर्खाल लगाएर घेरिएको छ । एउटा ठूलो मूल द्वार छ । त्यहाँ हरहमेसा ताला लाग्ने गर्छ र त्यो तालाको साचो साहेबसँग मात्रै छ । यहाँ काम गर्ने विदेशीबाहेकका कर्मचारी बाह्र जना त्यहीका स्थानीय जातिका मानिसहरू छन् । ती किसानहरू अङ्ग्रेजी जान्दैनन्, उनीहरू आफ्नै भाषामा बोलीचाली गर्छन् । त्यसैले रामबहादुर र उसका साथीहरूसँग ती किसानहरूको कुनै कुराकानी हुदैन । कृष्णचन्दरले नै पत्तो लाएअनुसार ती किसान पनि त्यहाँका सुकुमबासी हुन् र त्यही परिसरमा साहेबले दिएको घरजग्गाबाहेक उनीहरूको अन्त कतै जाने ठाउ पनि छैन । उनीहरूले त्यस जमिनमा खनजोत गर्ने, तरकारी, फलफूल रोप्ने र स्याहार्ने काम गर्छन् । यहाँ हरेक मौसमका तरकारीहरू र फलफूलहरू पर्याप्त फल्छन् । साहेबको आफ्नै निजी हेलिकोप्टर पनि यही कम्पाउन्डको बीचभागमा राखिन्छ । कृष्णचन्दरकै भनाइअनुसार अस्पतालहरूमा आफ्नो उत्पादन पुर्याउने काममा साहेब यही हेलिकोप्टर प्रयोग गर्छ । पहिलो पटक यहाँ भित्रिदा त्यस ठाउमा एउटा अनौठो संसार देखेर रामबहादुर छक्क परेको थियो । चारैतिरको निर्जन एकान्त पार गरेपछि एउटा अर्कै संसारमा प्रवेश गरेको अनुभूति रामबहादुरलाई भएको थियो। एक किसिमको डरजस्तो पनि र अनौठोअनौठो, केटाकेटीमा आमाले सुनाएको दन्त्यकथाको सहरमा आइपुगेजस्तो अनुभूति पनि भएको थियो उसलाई ।

यहाँ रामबहादुरको जिम्मामा चाहि एउटा पाँच सय मिटर चौडा र त्यति नै लामो घर छ । यो घर अचम्मको छ । यसमा बीसवटा कोठाहरू छन् । यी सबै कोठामा मानिसहरू छन् ।

जब पहिलो दिन रामबहादुर कोठामा पुगेको थियो, यहाँका मानिसहरू देखेर अचम्म परेको थियो । यहाँका हरेक कोठामा दसबाह्र जनाको सङ्ख्यामा नाङ्गा मानिसहरू थिए । कुनै कोठामा लोग्नेमानिस मात्रै, कुनै कोठामा आइमाई मात्रै र कुनैकुनै कोठामा लोग्नेमानिस र आइमाई दुवै थिए । 'ए यो त जेलखाना पो रहेछ' उसले त्यस बेला मनमनै ठानेको थियो । 'भो यस्तो जेलखानामा त काम नगर्ने' उसले तत्काल निर्णयगरेको थियो । त्यस बेला उसलाई कृष्णचन्दरले नै त्यहाँ पुर्याएको थियो । नेपालमा जुन दलाललाई उसले पैसा तिरेको थियो त्यो त अब त्यहाँ थिएन । त्यसैले उसले कृष्णचन्दरलाई नै आफ्नो मनको कुरा टुटेफुटेको हिन्दीमा भन्यो । कृष्णचन्दर हिन्दी कुरा गर्थ्यो र अङ्ग्रेजी जान्दथ्यो । त्यसैले ऊ नै साहेब र विदेशी कामदारका बीचको भाषासाघु बनेको थियो । अब तिमीले एक वर्षत यहाँ काम गर्नै पर्छ, तिम्रो मालिकले तिम्रो एक वर्षको पैसा त लगिसक्यो । कृष्णचन्दरले रामबहादुरको निर्णयको जबाफ दिएको थियो । यो मानिस बनाउने फ्याक्टरी हो, जेल होइन । यी मानिसहरू हाम्रो साहेबले मेसिनले बनाएको हो । यिनीहरू मानिसजस्ता मानिस नै हुन् तर यिनले मानिसका कुरा बुझदैनन् । यी हेर्दा मानिस भए पनि पूरै मानिस भने होइनन् । कृष्णचन्दरले रामबहादुरको मनको भाषा पढेर यो जानकारी दिएको थियो ।

'यस्ता मानिस साहेबले किन बनाएको हो, के काम ! फेरि यिनीहरूलाई किन लुगा नदिएको !' राम बहादुरले नाङ्गा मानिसहरूलाई हेर्न नसकेर भनेको थियो । 'यिनीहरू लुगा लगाउन मन पराउदैनन्, लुगा लगाइदियो भने च्यातिदिन्छन्' कृष्णचन्दरले भनेको थियो । 'अहिले संसारका जुनसुकै देशमा पनि यी मानिसको माग छ । हाम्रो साहेबबाहेक संसारमा कसैले पनि यस्ता मानिसको उत्पादन गर्न सकेका छैनन् । त्यसैले यहाँ कोही पनि बाहिरको मानिस आउन पाउदैन र यहाँका हामी कामदार पनि घरीघरी बाहिर जान पाउँदैनौं ।' यसको मूल ढोकाको साचो त्यसैले साहेबसँग मात्रै छ । त्यसै दिन कृष्णचन्दरले भनेको थियो ।

'यी मानिसहरूमध्ये कसैको मृगौला, कसैको मुटु, कसैको आखा, कसैको हात वा खुट्टा बिक्री हुन्छन् । आजकल संसारका मानिसहरूका कुनै न कुनै अङ्गमा रोग लागेर ती अङ्ग फेर्नुपर्ने भइरहेको हुन्छ । त्यस्ता फेर्नुपर्ने अङ्गकालागि साहेबले यी मानिसहरू उत्पादन गरेको हो ।' कृष्णचन्दरले आफूले जानेका धेरैजसो जानकारी त्यसै दिन रामबहादुरलाई सुनाएको थियो ।

'यी मानिसहरूमध्ये कसैको आखाको भाग बलियो छ, कसैका हातखुट्टा, कसैको टाउको, कसैको पाठेघर, कसैको मृगौला र कसैको मुटु । साहेबले त्यसैअनुसार यिनीहरूलाई अलगअलग कोठामा राखेको हो । यहाँ राखिएका मानिसहरूमध्ये सबैभन्दा पुराना पाँच वर्षका भए । म यहाँ आएको आठ वर्षभयो । पहिलो पटक उत्पादन गरिएका सबै मानिस मरे । कुनै हिसाबमा गडबढी भयो भनेर त्यस बेला साहेब निकै मुर्मुरिएको थियो ।' कृष्णचन्दर रामबहादुरलाई सबै कोठा घुमाउदै थियो र आफूले जानेका कुरा भन्दै पनि थियो । 'यो कोठामा हामीले पस्नु हुन्न, यहाँ मानिसको बीउ भर्खरै राखिएको छ । सहरमा मानिसको वीर्यको पनि ब्याङ्क छ रे, त्यहाँबाट साहेबले मानिसको वीर्य किनेर ल्याउछ । उ ती सिसाका भाडा छन् नि, यसलाई साहेबले मदर भन्छ । हो ती भाडामा एक वर्षपछि मानिसका बच्चा देखा पर्छन् । यो कोठामा साहेब मात्रै बेलाबेलामा पस्ने गर्छ र ती भाडामा कुनै औषधी हाल्ने गर्छ ।' कृष्णचन्दरले बीचभागमा भएको एउटा कोठाको सिसाको ढोकाअगाडि पुगेपछि भनेको थियो । 'यो कोठाचाहि अपरेसन गर्ने कोठा हो । साहेबले संसारका कुनै पनि अस्पतालबाट माग भएअनुरूपका अङ्गहरू काटेर उसैले बनाएको खास किसिमको बट्टामा ती अङ्गहरू प्याकिङ गर्छ । त्यस्ता अङ्गहरू प्याकिङ गरेको ४८ घण्टाभित्र मानिसमा प्रत्यारोपण गर्न सकिन्छ ।'

'योचाहि काम नलाग्ने मानिस पेल्ने कोठा हो' कृष्णचन्दरले त्यसै घरको पल्ला छेउको एउटा कोठाअघिल्तिर पुगेपछि भनेको थियो । कोठाको ढोका बन्द थियो तर सिसाको ढोकाबाट भित्रको दृश्य छयाङ्गै देखिन्थ्यो । त्यहाँ भित्र एउटा कालो रङ्गको ठूलो मेसिन थियो र जुन चिम्नीको आकारले कोठाको छतमा टासिएको थियो । 'कुनैकुनै मानिसको कुनै पनि अङ्ग काम नलाग्ने हुन्छ, त्यस्ता मानिसलाई पाल्नुको कुनै औचित्य हुँदैन । त्यसैले त्यस्ता मानिसलाई पहिले मृत्युको सुई दिइन्छ र त्यसपछि त्यो निर्जीव भइसकेको मानिसलाई यो चिम्नीमा हालिन्छ र त्यो बिजुलीको स्विच अन गरेपछि केहीबेरमै त्यो खरानी हुन्छ ।' कृष्णचन्दरका कुरा सुनेर रामबहादुरको अनुहारमा भयका चिन्नहरू प्रकट भएका थिए । 'डराउनु पर्दैन, तिमीहामीलाई साहेबले यसमा हाल्दैन । उसैले बनाएका फाल्तू मानिस मात्रै हाल्छ । कहिलेकाही कुनैकुनै मानिस मर्छ पनि, त्यस्तो बेलाका लागि मात्रै हो यो । फेरि सबै अङ्गप्रत्यङ्ग प्रत्यारोपणका लागि झिकिएपछि काम नलाग्ने भएर बाकी भएका भाग पनि यसै मेसिनमा हालेर पेलिन्छ । यसलाई इन्सिनेटर भनिन्छ ।' कृष्णचन्दरले रामबहादुरलाई ढाडमा धाप मार्दै आश्वस्त पार्न खोजेको थियो ।

त्यस दिन रामबहादुरलाई फर्म हाउसका सबै कोठा र उसले गर्नुपर्ने काम पनि अराएपछि कृष्णचन्दर आफ्नो काममा लागेको थियो । तर रामबहादुरलाई भने कस्तोकस्तो भइरह्यो, दिगमिग लागिरह्यो र एक किसिमको डर पनि लागिरह्यो । रामबहादुरको जिम्मामा ती मानिसहरूलाई खाना खान दिने र उनीहरू बस्ने कोठा सफा पारिदिनुपर्ने थियो। ती मानिसहरूलाई खान एक किसिमको दाना दिइन्थ्यो । कुखुराले खाने दानाजस्तै किसिमको दाना उनीहरूलाई एउटा ठूलो प्लास्टिकको आरीमा हाल्दिनुपथ्र्यो र पानीचाहि प्लास्टिकका सिसीहरूमा भरेर राखिदिनुपथ्र्यो । प्रत्येक कोठामा सगै गासिएका शौचालय थिए र ती मानिसहरू शौचालयको कमोड प्रयोग गर्थे । कमोड प्रयोग गर्ने ती मानिसहरू फ्लस गर्न जान्दैनथे । त्यसैले हरेक पटक रामबहादुरले नै त्यहाँ पुगेर फ्लस गरिदिनुपथ्र्यो । रामबहादुरले इसारा गर्नासाथ ती मानिसहरू शौचालयमा प्रवेश गर्थे र उसले धारा खोलिदिन्थ्यो । झर्नाको पानीमा तिनीहरू केहीबेर नुहाउथे । हप्तामा एक दिन साबुनको फोहोरा पनि खोलिदिनुपथ्र्यो । जसले गर्दा उनीहरू सफासुग्घर देखिन्थे । रामबहादुरकालागि काम गाह्रो थिएन तर यस्तो अचम्मको र कहिल्यै सपनामा पनि नचिताएको काम गर्न भने उसलाई पटक्कै मन लागेको थिएन । 'ठीकै छ एक वर्षत बस्नै पर्यो, त्यसपछि अर्कै काम गर्नुपर्ला' बाध्य भएर रामबहादुरले निर्णय गरेको थियो ।

यसैबीच अचानक रामबहादुर बिरामी परेको थियो र बिरामी निको हुनासाथ रामबहादुर साहेबलाई छोड्न नसक्ने भएर साहेबको मायामा बाधिएको थियो । त्यसैले त्यसपछि रामबहादुरले यही काममा आफूलाई डुबाएको थियो ।

कोठा नम्बर तीनमा केटीहरू मात्रै राखिएका थिए । प्रत्येक केटीका ढाडमा नम्बर टासिएको थियो । तिनीहरूमध्ये नौ नम्बरकी चाहि रामबहादुरलाई असाध्यै राम्री लाग्थी । आफ्नी कमलीको शरीर पनि उज्यालोमा सम्पूर्ण नदेखेको रामबहादुर सुरुसुरुमा निर्वस्त्र आइमाईका शरीर देखेर लाजले भुतुक्क हुन्थ्यो । पाँच वर्षका केटीहरू पनि अठारबीस वर्षका जस्ता तरुनी थिए ।

 

Image courtesy: thehairpin.com

'यी मानिस विकासे कुखुराजस्तै हुन् आर.बी. । यिनको बुद्धि र तागत हुँदैन । त्यसैले यी छिटोछिटो बढ्छन् रे ।' रामबहादुरको जिज्ञासाको जबाफ कृष्णचन्दरले नै दिएको थियो । यी कृत्रिम मानिस हुन् भन्ने जानेरै पनि नौ नम्बरकी केटीलाई देख्नासाथ रामबहादुरलाई भने कमलीको सम्झनाले आक्रान्त पार्थ्यो । छोटो समयसम्म भए पनि कमलीसँग भोगेको सुखको सम्झनाले उसलाई गाल्थ्यो । त्यसैले सबै कोठाको काम सक्नासाथ रामबहादुर तीन नम्बर कोठामा पुग्थ्यो र घण्टौसम्म नौ नम्बरकी केटीलाई हेरेर बस्थ्यो । पहिलेपहिले नाङ्गा मानिसहरू हेर्न नसकेर आखा चिम्लिने रामबहादुरलाई पछिपछि नाङ्गा मानिसहरू हेर्ने अभ्यास भएको थियो । 'बुझयौ आर.बी., साहेबले उसको किताबमा गजबको कुरा लेखेको छ ? प्रकृतिले बनाएका कुनै पनि जीवले कपडा लगाउदैनन् । मानिसले पनि कपडा लगाउन आवश्यक नै थिएन । सुरुमा एउटा मानिसले गरेको गल्तीका कारण मानिसले कपडा लगाउनुपरेको हो । मानिसको वास्तविक सुन्दरता नै कपडाले छोप्छ । संसारमा त्यसैले जीवजन्तुले यौनअपराध गरेको सुनिदैन तर असङ्ख्य मानिसहरू यौनअपराधमा संलग्न छन् । यो सबै मानिसले कपडा लगाएकाले भएको भन्ने उसको मान्यता छ ।' कृष्णचन्दरले एक दिन साहेबले लेखेको किताब पढेर रामबहादुरलाई अर्थ्याएको थियो । साहेबका कुरा ठीकबेठीक ठहर गर्ने क्षमता रामबहादुरसँग थिएन तर नौ नम्बरकी केटीको सुन्दरतामा मोहित रामबहादुर दिनप्रतिदिन त्यस केटीप्रति लालयितसमेत भने हुँदै गएको थियो ।

'यो पनि त मानिस नै हो, साहेबसँग यो केटी माग्नुपर्यो, बरु पैसा जति परे पनि तलबबाट कटाऊ भन्नुपर्यो । आखिर साहेबले बेच्ने नै भएपछि कसो मलाई नदेला र !' धेरै दिनपछि एक दिन रामबहादुरले निर्णयगरेको थियो ।

हिजोआज रहँदाबस्दा साहेब र उसका बीचमा सामान्य संवादकालागि कृष्णचन्दर नचाहिने भइसकेको थियो । साहेब प्रत्येक दिन बिहान सबेरै र बेलुकी गरेर दुई पटक फर्म हाउस घुम्न आउँथ्यो । त्यस दिन बिहान रामबहादुरले साहेबलाई आफ्नो इच्छा व्यक्त गर्ने निधो गर्यो । साहेबले एक नम्बर घुम्यो, दुई नम्बर पनि घुम्यो र तीन नम्बर कोठामा साहेब पस्यो । रामबहादुरको मुटु ढक्क भयो, तर पनि उसले आज साहेबसामु आफ्नो माग राख्ने नै निर्णयगरिसकेको थियो । 'साहेब !' रामबहादुर नौ नम्बरकी आइमाईको अघि पुगेर उभियो । 'के भयो यसलाई ?' साहेबले आफ्नो भाषामा सोध्यो । 'होइन, यसलाई होइन, यो मलाई' रामबहादुर अकमकायो र आफ्नो कुरा राम्ररी भन्नै सकेन । 'हँ, के भयो यसलाई ?' साहेबले आफ्नो घाटीमा झुन्डिरहेको स्टेथोस्कोपले नौ नम्बरकी केटीलाई जाँच्न थाल्यो । साहेब, मलाई यो राम्री लाग्छे रामबहादुरले दह्रो भएर भन्यो । 'अँ, यो राम्री छ, मलाई पनि राम्री लाग्छ' साहेबले नौ नम्बरकी केटीको शरीर र टाउकोसमेत सुमसुम्याउदै त्यसका गालामा च्वाप्प म्वाइ खायो । रामबहादुरलाई त्यसरी साहेबले नौ नम्बरकीलाई सुमसुम्याएको र चुम्बन गरेको पटक्कै मन परेन ।

'साहेब, यसको पैसा मेरो तलबबाट काट्नुहोस् र यो मलाई दिनुहोस् ।' रामबहादुरले साहेबको मुखमा हेर्दैनहेरी कठोर भएर हतारहतार भनेको थियो । 'तिमी के गर्ने, यसको त पाठेघर मात्रै राम्रो छ, तिमीलाई काम लाग्दैन आर.बी. ।' साहेबले छक्क परेर रामबहादुरलाई हेर्दै भनेको थियो ।

'म योसँग बिहे गर्छु साहेब, यो मेरी स्वास्नी कमलीजस्तै छ ।' रामबहादुरले रुन्चे स्वरमा भनेको थियो ।

'तिमी लैजाऊ, तर यो स्वास्नी हुँदैन, मैले झूटा कुरा गरेको होइन । तिमी मेरो कुरा पत्याउँदैनौ होइन ? ल, लैजाऊ यसलाई ।' साहेबले नौ नम्बरकी आइमाईका पाखुरा समातेर त्यसलाई रामबहादुरतिर ल्याइदियो । त्यसको ढाडमा टासेको नौ नम्बर पनि झिकिदियो । 'आर.बी., म तिमीसँग पैसा लिदिन तर तिमीलाई मन नपरे भोलि नै ल्याइदेऊ । तिमीले यसलाई क्वार्टरमा लैजादा यसको खाना पनिसगै लिएर जाऊ । यसले तिम्रो खाना खान सक्तिन । यसको स्वास्थ्यको हिसाबले पनि यसलाई यहाँको हावापानीबाहेकको प्राकृतिक हावापानीले बिगार्ने सम्भावना छ । एकैछिन पख, म यसलाई एउटा सुई लगाइदिन्छु, यो कोठाबाट बाहिर लैजादा यसलाई यो सुई लगाउनु पर्छ । बाह्र घण्टामा फेरि लगाउनुपर्छ' साहेबले भनेको थियो । साहेबले भनेझै नौ नम्बरकी केटीलाई झट्टै उसले एउटा सुई लाइदियो ।

त्यस दिन आफ्नो सबै काम सकेपछि नौ नम्बरकी केटीलाई लिएर रामबहादुर आफ्नो क्वार्टरमा पुगेको थियो । परदेशिएको एक्लो रामबहादुरलाई आज यतिका वर्षपछि उत्साह र उमङ्गले खपिनसक्नु भएको थियो । नौ नम्बरकीको नाउ उसले कमली नै राख्ने निर्णयगरेको थियो । एउटी कमली गुमाए पनि आज अर्की कमली पाउँदा उसको हर्षको सीमै थिएन ।

क्वार्टरमा पुगेपछि रामबहादुरले आफ्नो बाकसबाट सारी, चोलो र पेटीकोट निकालेको थियो । कमलीकालागि किनेका यी सामान बोकेर नेपाल जाँदा कमलीसँग भेट नभएपछि उसले फाल्न पनि सकेको थिएन । कमलीकैलागि त्यसै बेला किनिएका लालीपाउडर र क्रिम पनि थियो उसको बाकसमा । उसले सबै कुरा पालैपालो नौ नम्बरकी केटी अर्थात् ऊद्वारा नामकरण गरिएकी कमलीलाई लगाइदियो । कमली चुपचाप बसिरही । शरीरमा लुगा परेपछि भने ऊ केही छटपटाई र लुगा खोल्ने प्रयत्नमा लागी । तर रामबहादुरले उसलाई इसारा गरेर लुगा लगाइरहन लगायो । प्रत्येक पटक ऊ भने लुगा फुकाल्न खोजिरहन्थी । लुगाफाटो र सिगारपटार सकेपछि रामबहादुरलाई नौ नम्बरकी केटी एकदमै ठयाम्मै कमलीजस्तै लाग्यो । उस्तै गोरो अनुहार, उस्तै आखा, उस्तै ओठ, उस्तै सम्पूर्ण बनोट । 'कमली !' रामबहादुरले आखाभरि आसु पारेर त्यसलाई बोलायो । अगालोमा कसेर फेरि बोलायो 'कमली !, कमली !'



ऊ भोकाइहोली भनेर रामबहादुरले सगै ल्याएको दाना दियो । उसले कपाकप खाई । बोतलमा पानी पनि दियो, घटघट पिई । यतिका वर्षपछिको सुन्दरीको संसर्गले रामबहादुरलाई स्त्रीनशाले छोपिसकेको थियो । त्यसैले त्यसपछि उसले आफूले कमलीका रूपमा सिगारेकी केटीका कपडा खोलिदियो । कपडा खोलिदिदा त्यो केटी खुसी भई । त्यसपछि उसले त्यो केटीलाई नरनारीको भोगकालागि तयार गर्न खोज्यो । तर त्यो त भावशून्य थिई । उसले कुनै प्रतिक्रिया नै जनाइन । भावावेशमा रामबहादुरले आफूलाई पूर्ण पुरुषमा रूपान्तरित गर्यो तर त्यो भने आइमाई हुँदैभइन । एउटा ढुङ्गाजस्तो चिसो शरीरसँग खेल्दाखेल्दै रामबहादुर आफै शिथिल भयो । त्यो आइमाईसँग आइमाईको जस्तै शरीर थियो तर त्यो आइमाई भने थिइन । उसले जति नै प्रयत्न गर्दा पनि त्यो आइमाई नै भइन । र, आखिरमा रामबहादुर हार्यो । त्यो आइमाई केहीबेरमै निदाएकी थिई र रामबहादुर त्यही निदाएकी आइमाईलाई हेर्दै रोइरह्यो ।

भोलिपल्ट बिहान साहेब फर्म हाउसमा आइपुग्नुअघि नै रामबहादुरले तीन नम्बर कोठामा त्यो आइमाईलाई पुर्याएर त्यसका ढाडमा नौ नम्बरको प्याच टाँसिदिएको थियो ।

-Indira Prasai in Kathmandu

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Indira Prasai. Photo courtesy: Indira Prasai

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.