Inside

All Time Top 50 News

आदिकवि भानुभक्त आचार्य को हुन्? उनको जीवनी र कार्यबारे लेखाजोखा PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Narendraraj Prasai   
Saturday, 12 July 2014 18:24

"भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ"- महाकवि लक्ष्मीप्रसाद देवकोटा
"भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।"

Exclusive: 1 photo: काठमाडौं- आदिकवि भानुभक्त आचार्यको जन्म माता धर्मावतीदेवी र पिता धनञ्जय आचार्यका एक मात्र सन्तानकारूपमा भएको थियो । उनी तनहुँको चुँदी रम्घामा जन्मेका थिए । उनको जन्म बिसं १८७१ साल असार २९ गते आइतबार भएको हो।



Nepal's foremost poet Bhanubhakta Acharya. भानुभक्त आचार्यको चित्रः नेपाल सरकारबाट गठित 'भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समित' बाट सर्वोत्कृष्ट ठहरिएको आदिकवि भानुभक्त आचार्यको चित्र । चित्रकारः इन्द्र खत्री

"भाषिक र जातीय विविधतायुक्त नेपाल राष्ट्रको भाषिक एकीकरण गराउने कार्य भानुभक्तले नै गरे । विश्वरङ्गमञ्चमा नेपाली भाषाको पहिचान दिलाउने काम भानुभक्तबाटै भयो । जसरी नेपालको राष्ट्रिय एकीकरण गर्ने श्रेय पृथ्वीनारायण शाहलाई छ, त्यसरी नै नेपालको भाषिक एकीकरण गर्ने श्रेय भानुभक्तकै शिरमा सजिएर बस्यो । यसै कारण उनी राष्ट्रिय विभूति पनि मानिए ।"

"ज्यूँदै मर्‍याको भनी नाम कस्को
उद्यम् बिना बित्दछ काल जस्को ।"


उनको जन्मबारे विभिन्न तिथिमितिहरू चर्चामा आए । मोतीराम भट्टले भानुभक्तको जन्म १८६९ साल लेखे । तर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते आइतबार भानुभक्त जन्मेको बेहोरा पेस गरिन् । अनि पण्डित नरनाथ आचार्यले पनि भानुभक्त त्यही मितिमा जन्मिएको पुष्टि गरिदिए । मोतीरामले भानुभक्तका भतिजा रामदत्तसँग सोधपुछ गरी भानुभक्तको जन्ममिति लेखेका थिए । वास्तवमा रामदत्तबाट पाएको सूचनाकै आडमा उनले भानुभक्तको जीवनी लेखेका थिए । यस प्रसङ्गलाई मोतीराम भट्टले 'कवि भानुभक्ताचार्यको जीवनचरित्र' (१९४८) मा यसरी स्पष्ट पारेका छन्—

"कवि भानुभक्ताचार्यका भतिजा रामदत्त कन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो । जस्का कृपाले यो पुस्तकको जन्म भयो ।"

भानुभक्त आचार्य तनहुँका सम्पन्न कुलघरानका पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । यी पनि विद्वान् थिए । यिनी पाल्पा तहसिल सरकारी अड्डाका हाकिम थिए र यिनको पद खरदार थियो । जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा आफ्ना बाजेसँगै भानुभक्तको बाल्यकाल बितेको थियो ।

आफ्ना बाजे श्रीकृष्णकै दौराको फेर समाएर भानुभक्त हिँडेका थिए । उनकै छहारीमा भानुभक्तले पढ्न लेख्न सिकेका थिए । भानुभक्तका बाजेले बुढेसकालमा काशीमा देहत्याग गर्ने विचार राखे । अनि उनी काशी गएका बेला नातिलाई राम्रोसँग पढाइलेखाइमासमेत लगाउने हेतुले उनले भानुभक्तलाई पनि उतै लगेका थिए । त्यसैले बाजेसँगै काशी गई भानुभक्तले संस्कृत शिक्षा लिन पाएका थिए ।

भानुभक्तको बिहे एघार वर्षको उमेरमा भयो; तर पत्नीको असामयिक निधनपछि चौध वर्षको उमेरमा तनहुँका विद्याधर खनालकी छोरी दश वर्षीय चन्द्रकलादेवीसँग उनको दोस्रो बिहे भयो । बालकृष्ण समकाअनुसार भानुभक्तकी पत्नीलाई रेवती भनेर बोलाइन्थ्यो । यी दम्पतीबाट दुई भाइ छोरा रमानाथ र शिवशङ्कर जन्मे । शिवशङ्करको १४ वर्षको उमेरमा नै निधन हुँदा भानुभक्तले जीवनभरि पुत्रशोकको कठोर वज्रपात सहनुपर्‍यो ।

१९४८ सालको कुरो हो, भानुभक्तलाई मोतीरामले आफ्नो कृतिमार्फत सर्वप्रथम आदिकवि भनेर चिनाए । त्यही लहरोमा लहरिँदै त्यसको पचास वर्षपछि श्री ३ जुद्धशमशेरबाट 'भानुभक्तलाई आदिकवि भने हुन्छ' भन्ने हुकुम प्रमाङ्गी भयो । यसरी राजकीय मान्यता प्राप्त भएपछि नेपाली जातिका माझमा भानुभक्तलाई सहजरूपमा आदिकविकारूपमा सम्मान गर्न थालियो ।

भानुभक्त आचार्यकै सृजनात्मक जगमा टेकेर नेपाली साहित्यको लहरो आकाशजस्तै फैलिंदै आएको छ । भानुभक्तकै फेरोमा बाँधिएर आज नेपाली भाषाले आफ्नो घेरोलाई क्रमशः शक्तिशाली बनाउँदै आएको छ । त्यतिमात्र होइन; यस भूगोलमा नेपाली नेपाली एकअर्कामा जति मिल्न सकेका छन् त्यसका निम्ति भानुभक्तको विशेष सृजनात्मक योगदान रहेको छ ।
भानुभक्तकालीन नेपाली जनजीवनमा नेपाली भाषाको विस्तार हुँदै थियो । भानुभक्त संस्कृतका अध्येता भएर पनि यिनले नेपाली भाषामा साहित्य लेखे । उनको नेपाली भाषामा साँच्चिकै मोह थियो । त्यसैमा उनिएर उनले किशोरावस्थामा नै नेपाली भाषामा कविता कोर्न थालेका थिए । उन्नाइस वर्षको उमेरमा त उनी काशीको विद्वत्सभामा नै सृजनात्मक हिसाबमा प्रस्तुत भइसकेका थिए ।

भानुभक्तले कविता लेखनमा मात्र आफ्नो सीप सीमित राखेनन् । उनी अरूसँग बोल्दा पनि नेपाली भाषाका कवितामै बोल्थे । उनको प्रतिभा नै विशिष्ट कोटिको थियो । उनको विलक्षण प्रतिभा देखेर विद्वान्हरू पनि लोभिन्थे । उनी कवितामा नै कतिसम्म छिटो बोल्न सक्थे भने कुनै बेला कुनै एक जना अपरिचित मान्छेले उनको परिचय मागेका बेला उनको उत्तरले प्रस्ट पारेको छः

"पाहाड्को अति बेस देश् तनहूँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया,
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिन्ही लिया ।"


सानैदेखि आफ्ना बाजे श्रीकृष्ण आचार्यका औँला समाएर हिँड्न पाएकाले भानुभक्तले धेरै कुरा जाने । श्रीकृष्ण विद्वान् थिए, त्यसैले त्यस भेकमा उनको सुनाउँ थियो । श्रीकृष्ण खेतीपाती गर्नेदेखि समाजसेवा र धर्मकर्म मात्र होइन, शास्त्रीय परम्पराका कुरा गर्नसमेत सिपालु थिए । त्यस्तो पारिवारिक पृष्ठभूमि र परिवेशमा हुर्कंदा भानुभक्तको जीवनचर्या पनि एउटा स्रष्टाको जस्तो र एउटा पण्डितका ठाँटको जस्तै बन्दै जान थाल्यो । बाजेकै रहनसहन र छत्रछायामा बसेर नै उनी परिपक्व हुँदै गएका थिए ।

भानुभक्त सानैदेखि बौद्धिक चेतका धनी थिए । उनी खरोमा खरो, नरममा नरम र व्यावहारिकमा व्यावहारिक थिए । उनी स्वतन्त्रता प्रेमी पनि थिए । अनि सबैभन्दा ठूलो कुरा उनी लेखेर थाक्तैनथे । त्यस जुगमा यिनले जति लेखे, धेरै लेखे । तर यिनलाई चम्काउने काम भने मोतीरामले नै गरे । वास्तवमा भानुभक्तलाई चिनाउन मोतीराम भट्टले तारे भीरमा बुल्डोजर नै हिँडाए । भानुभक्त आचार्यलाई अमर बनाउन मोतीरामले नै यिनको जीवनी पनि लेखिदिए । मोतीरामको यसै कृतिबाट नेपाली भाषासाहित्यको जीवनी र समालोचना लेखनको श्रीगणेश पनि भएको मानिन्छ ।

भानुभक्त लेख्न सिपालु थिए । उनी मनमा आएको भावलाई लिपिबद्ध गर्न त्यस्तै निपुण थिए । कृतज्ञता उनको नैसर्गिक गुण थियो । उनी आफूलाई सघाउने साना र ठूला जसलाई पनि जस दिन्थे । साथै उनी अरूबाट असल कुराको प्रेरणा पनि लिन्थे । त्यसैले भानुभक्तले घाँसीको प्रेरणामा पनि कविता लेखे भनेर भानुभक्तको जीवनी लेख्तै मोतीरामले उद्घोष गरेका थिएः

"भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।"


वास्तवमा मोतीरामले लेखेको भानुभक्त र घाँसीको संवादको बेहोरालाई अघि सारेर भन्नु पर्दा यो कथ्य केवल मिथक मात्र भानुभक्तका जीवनको एउटा रमाइलो हो । उदाहरणकालागि यहाँ भानुभक्तसँग घाँसीले भनेको पद्य संवादलाई गद्यमा यसरी रूपान्तर गर्न सकिन्छः

"म घाँसी हुँ । भर जन्म यसै घाँस्मा बित्यो । यसरी घाँस काटी गाउँतिर लैजान्छु र दुई आना तीन आना जति मिल्छ उतिमा यो घाँसको भारी बेची घर फर्कन्छु ।" त्यस बेला तनहुँ कुन सहर थियो र गाउँतिरबाट घाँस लगेर बेच्ने प्रसङ्ग ल्याइयो ? उता त्यस बेला नेपालका कुनै पनि गाउँमा दुईतीन आना नगदमा घाँस बिक्री हुने सवाल नै थिएन । वास्तवमा मोतीरामले तनहुँ नटेकी, नसुनी र नबुझी यस कथाको बुनोट गरेको पनि हुन सक्छ ।
घाँसीको प्रसङ्गमा कविता लेखिएकोबारे नेपाली बौद्धिक जगत्मा अनेक परिचर्चा चलेका चलेकै छन् । साथै यसका पक्षविपक्षमा अनेक समालोचक उभिएका पनि छन् । यति हुँदाहुँदै पनि भानुभक्त घाँसी संवादबारे बनेको यो सुन्दर मिथक अब नेपाली जनमानसको चिरसञ्चित पुँजी बनिसकेको छ ।

नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनकालागि मोतीरामले धक फुकाएर भानुभक्तलाई उच्च सम्मान दिएका थिए । नेपाली भाषासाहित्यलाई उन्नतिको शिखरमा पुर्‍याउने हेतु मोतीरामले भानुभक्त आचार्यको सृजनात्मक देनको यथेष्ट कदर गरेका थिए । उनले भानुभक्तलाई आफ्नो चरित्र नायककारूपमा नै काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन सुरुमा मोतीराम एक्लैले कठोर प्रयत्न गरेका थिए ।

रत्नाकर वाल्मीकि बने । तिनैले संस्कृतमा 'रामायण' लेखे । त्यही लेखेबापत उनी संस्कृत साहित्यका आदिकवि पनि भए । त्यसैगरी, हिन्दी भाषामा रामकथामा आधारित 'रामचरितमानस' नाउँको काव्य लेखेबापत तुलसीदास पनि हिन्दी भाषासाहित्यका आदिकवि बने । वास्तवमा 'रामचरितमानस' लेख्नुपूर्व उनी पनि विषयमोह अथवा भनूँ विशेष गरेर स्त्रीजातिमा लम्पट थिए भनिन्छ । यो बेहोरा पनि मोतीरामले अध्ययन गरेका थिए । त्यसैले रिसाहा र एकोहोरो प्रवृत्तिका भानुभक्तलाई पनि घाँसीमार्फत सच्च्याएर मोतीरामले आदिकविमा रूपान्तर गर्न पहल गरेको दृष्टान्त पाइन्छ । रामायण लेख्नेलाई आदिकवि भन्ने प्रचलनलाई गाँसेर पनि मोतीरामले सहज रूपमा नै भानुक्तलाई नेपाली भाषाका आदिकवि लेखिदिए । वाल्मीकि र तुलसीदासको आदिकवित्वकै परम्परामा भानुभक्तलाई गाँस्ने प्रयोजनको मोतीरामले धेरै नै चिन्तन गरेका थिए । त्यसैले घाँसी नाउँको अनाउँलाई पनि उनले भानुभक्तका छेउमा लगेर राखिदिएका थिए । यो उनले गरेका सृजनात्मक चलाकीमध्ये निक्कै आकर्षक चलाकी थियो । तर घाँसी र इनार तत्कालीन तनहुँ र काठमाडौंमा प्रचलनमा थिएन भन्ने बेहोराको मोतीरामले अडकल लगाउन सकेका थिएनन् । बनारस र कोलकातामा बसेर हेरेको, देखेको र बुझेको कुरा जोडेर मोतीरामले अनेक जुक्तिबाट भानुभक्तलाई चम्काउन विविध ढङ्गबाट कसरत गरेको देखिन्छ ।

भानुभक्तका सिर्जनालाई जनसमक्ष पस्केर मोतीरामले नेपाली भाषालाई ठूलो गुन लगाए । भानुभक्तको जीवनीमा अनेक फूलबुट्टा हालेर पनि मोतीरामले उनलाई प्रसिद्धिको शिखरमा चढाइदिएका थिए । त्यतिमात्र होइन; भानुभक्तका गर्भमा भएका थुप्रै रचनालाई पनि प्रकाशनमा ल्याउने काम मोतीरामले नै गरिदिए । मोतीरामकै सत्प्रयासका कारण भानुभक्त त्यसै बेलादेखि नेपाली समाजमा चिनिएका थिए । मोतीराम भानुभक्तको जयजयकारमा लागे; तर भानुभक्तमा अन्तर्निहित मानवीय कमजोरीलाई पनि मोतीरामले लुकाएनन् । उदाहरणकालागि भन्ने हो भने भानुभक्तले रिसाएर लेखेको गजाधरबारेको कविता पनि मोतीरामले पाठकअघि ल्याउने काम गरे:

"गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन्
पुग्यौं साँझमा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुजरान गरियो ।"


भानुभक्तको सबैभन्दा ठूलो विशेषता के थियो भने उनी मनका कुरा लेखिहाल्थे । उनी छिटै रिसाउँथे र आफूलाई चित्त नबुझेका कुराको पनि कविता बनाउँथे । एक पटक गिरीधारी भाटसँग मुद्दा पर्दा भानुभक्तले आफ्नो घरको छानामा लगाएका भाटा सबै झिकेका थिए । उनले आफ्नो घर चुहुने नै पारे । रिसकै झोकमा उनी आफ्ना साथी तारापति उपाध्यायको घर गएको घटना पनि लेखे । भानुभक्त तारापतिको घरमा बास बसेका बेला सासूबुहारीका भनाभनले रात बितेको थियो । रातभरिको जाग्रामपछि बिहानैको उषामा भानुभक्तले 'वधूशिक्षा' लेख्न आरम्भ गरेका थिए । त्यसै घडी चाहिँ उनले आफ्ना साथी तारापतिलाई कविताको कागज छाडेर गएका थिएः

"एक् थोक् भन्छु नमान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा ई जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।
सारै झोक उठ्यो मलाई र वधू शिक्षा बनाञा पनी
यसले पत्नी, बुहारि, छोरिहरूको तालिम् गरौला भनी ।"


मोतीराम भट्टकाअनुसार भानुभक्त जागिरे थिए । उनले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । सरकारी रकम हिनामिना गरेको अभियोगमा दुई वर्षमा नै अर्थात् १९०९ सालमा उनको जागिर खोसिएको थियो । तर भानुभक्तले एउटा श्लोक लेखेको भरमा उनका तीन पुस्ता र त्यसपछिका सन्तानले पनि उनलाई जागिरे मानेनन् ।

"जागीर् छैन धनी म छैन घरको केबल् कोदालो खनी
खान्थ्याँ दुक्ख गरेर चाकरी गरें मान् पाउँला की भनी"


यसै कवितालाई नै आड बनाएर भानुभक्तले जागिर खाएका थिएनन् भन्नु उपयुक्त देखिँदैन । किनभने भानुभक्तले 'धनी म छैन घरको केवल कोदालो खनी' पनि कवितामा लेखेका छन् । जब उनी एउटा सम्पन्न बाहुनका छोरा थिए । तत्कालीन समयमा धनी बाहुन्ले कोदालो खन्ने पनि चलन थिएन । गरीबले मात्र कुटोकोदालो खनेर आफ्नो जीविका गर्थे ।

१९०९ सालमा भानुभक्तका बाबु धनञ्जय आचार्यको मृत्यु भयो । अनि १९११ सालमा भानुभक्तलाई कुमारीचोकले थुनामा राख्यो । धनञ्जयको निधन भएपछि भानुभक्तलाई समातिएकोमा बाबुले तिर्नुपर्ने सरकारी बाँकी असुल उपर गर्न भानुभक्तलाई पक्राउ गरिएको थियो भन्ने अनुमानका लिखितम् पनि पाठकमाझ आउन थाले । उनैले सरकारी रकम हिनामिना गरेको अभियोग होस् या बाबुले तिर्नुपर्ने हिसाब नतिरेर उनको निधन भएकाले भानुभक्त थुनिएका चाहिँ थिए । जे भएर थुनिए तापनि पाँच महिना उनी कुमारीचोकमा थुनामा बसे । त्यसै बखत उनले कमान्डर इनचिफ कृष्णबहादुर राणालाई एउटा कविता लेखेर पनि पठाएः

"रोज्रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू
लाम्खुट्टे उपिञा उडूस् इ संगी छन् इन्कै लहड्मा बसी
लाम्खुट्टेहरू गाउँछन् यी उपिञा नाच्छन् म हेर्छू बसी ।"


थुनामा पर्दा भानुभक्त धेरै दुःखी भए । तर त्यो कैद उनकालागि वरदान बन्यो किनभने थुनामा पर्दा पनि उनले कविता लेखिरहे । जेल जानुपूर्व नै उनले रामायणका बालकाण्ड, अयोध्याकाण्ड र अरण्यकाण्ड लेखिसकेका थिए । झ्यालखानामा बसेर उनले रामायणका अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको पूरै अनुवाद गरे । साथै जेलबाट छुटेपछि यिनले युद्धकाण्ड र उत्तरकाण्ड पनि लेखे ।

भानुभक्तले नेपाली भाषामा रामायण लेख्नुभन्दा अघि नेपाली पण्डित समाजमा संस्कृतका पुराणहरू मात्र पढिन्थे । वास्तवमा त्यतिखेर संस्कृतका पुस्तक सबैले पढ्न पनि सक्तैनथे । तर नेपाली भाषामा रामायण आएपछि नेपाली जनजनका घरमा पनि यो कृति पुग्न थाल्यो । यसपछि मात्रै सबै नरनारी र सबै जातजातिले बराबरीरूपमा रामायण पढ्ने मौका पाए। त्यसपछि त प्रायः बिहेबारीदेखि जुनसुकै धार्मिक पर्वहरूमासमेत भानुभक्तकै रामायण वाचन गर्ने परम्परा चल्यो । त्यसै कारणले भानुभक्त सधैंसधैंकालागि नेपालीका मनमा बाँचिरहन सफल भए ।

भाषिक र जातीय विविधतायुक्त नेपाल राष्ट्रको भाषिक एकीकरण गराउने कार्य भानुभक्तले नै गरे । विश्वरङ्गमञ्चमा नेपाली भाषाको पहिचान दिलाउने काम भानुभक्तबाटै भयो । जसरी नेपालको राष्ट्रिय एकीकरण गर्ने श्रेय पृथ्वीनारायण शाहलाई छ, त्यसरी नै नेपालको भाषिक एकीकरण गर्ने श्रेय भानुभक्तकै शिरमा सजिएर बस्यो । यसै कारण उनी राष्ट्रिय विभूति पनि मानिए ।

भानुभक्तको रामायण नै नेपाली साहित्यको प्राथमिक कालमा रचिएको पहिलो र पूर्ण लोकप्रिय महाकाव्य बन्यो । महर्षि वाल्मीकीले संस्कृत भाषामा रचेको 'अध्यात्मरामायण' को अनुवादकारूपमा भानुभक्तले आफ्नो 'रामायण' प्रस्तुत गरे । यही रामायणमा भानुभक्तको सृजनात्मक सामथ्र्य पनि टड्कारोरूपमा देखियो ।

भानुभक्तद्वारा रामायणमा छन्दको माधुर्यका साथै ठेट नेपाली भाषाको सौन्दर्य पनि गाँसियो । त्यसै काव्यमा नेपाली प्रकृति तथा संस्कृतिको सुरम्य छनक पनि भरिन पुग्यो । त्यसैले नै रामायण अनुवाद भएर पनि भानुभक्तको मौलिक रचनाजस्तो बन्न पुग्यो । वास्तवमा रामायण नेपालीहरूको आफ्नै मर्ममधुरताले ओतप्रोत सांस्कृतिक काव्याख्यानकारूपमा लोकप्रिय छ । त्यसै कारणले पनि भानुभक्तले नेपाली सांस्कृतिक चेतनाको संवाहककारूपमा ख्याति कमाए ।

भानुभक्तले रामायणका साथै प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा नामक कृतिहरू पनि लेखे । उनले निकै फुटकर कविता पनि नेपाली समाजमा फिँजाए । जीवनको उत्तराद्र्धमा रोगले थला परे पनि उनले कविता लेख्न छाडेनन् । रोगले च्यापेर मरणासन्न अवस्थामा पुर्‍याएका बेलामा नै उनले 'रामगीता' लेखेर आफ्नो लेखनलाई विश्रान्तिमा पुर्‍याएका थिए ।

आदिकवि भानुभक्त आचार्य नेपाली संसारमा चिरञ्जीवी भए । उनी नेपालीहरूका तीर्थ पुरुषकारूपमा स्थापित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि उनलाई नेपाली साहित्यिक इतिहासका सर्वश्रेष्ठ पुरुष माने । भानुभक्तले नेपाली जातिको हृदयको बोली व्यक्त गर्न र मनको ज्योति बाल्न गरेको योगदानलाई नबुझ्नेहरूप्रति देवकोटाले पेचिलो व्यङ्ग्य कस्तै भने- "भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ ।"

नेपाली साहित्यका महाकवि देवकोटाले भानुभक्तलाई नेपाली जातीय आदिकवि माने । उनले पुर्खाका ज्योति, जातीय चेतनाका प्रतीक र राष्ट्रिय विभूति भानुभक्तको गरिमा र महिमालाई बुझाउन समस्त नेपाली जातिलाई घचघच्याएका थिए । राष्ट्रिय जागरणको अभियानमा लागेर भानुभक्तले संसारभरिको नेपाली जातीय परिवेशमा नेपाली भाषाका अक्षरहरू पुर्‍याएको बेहोरालाई सम्मान गर्दै देवकोटाभन्दा अघि र पछिका सबै लेखकहरूले भानुभक्तको सधैं अर्चना गरिरहे ।

आदिकवि भानुभक्त आचार्यले पहिलोपल्ट कान्तिपुर अर्थात् काठमाडौंमा आफ्ना पाइला राख्ता अति प्रसन्न भए । त्यतिबेला उनी काठमाडौंमा आएर बस्ने ठाउँ लगनटोलका सुब्बा धर्मदत्त ज्योतिषीको डेरा थियो । सुरुमा काठमाडौं आउँदा भानुभक्तको छाती फुलेर झन् चौडा भएको थियो । भाषासेवी भानुभक्तलाई त्यस बेला कान्तिपुरले अत्यन्त मोहित बनाएको थियो । नेपाललाई नै आफ्नो सिङ्गो संसार ठान्ने भानुभक्तकालागि कान्तिपुर पनि त्यत्तिकै प्यारो हुनु स्वाभाविक थियो । वास्तवमा नेपाली भूगोल, नेपाली भाषा र नेपाली भेष उनलाई अत्यन्त प्रिय थिए । त्यसैले बाँचुन्जेल उनले नेपाली बिर्के टोपी र दौरासुरुवाल नै लगाइरहे । त्यतिमात्र होइन; उनले आफ्नो जन्मभूमि नेपाललाई स्वर्गभन्दा प्यारो माने । अनि त्यसै प्रकारका कविता लेखेर पनि उनी नेपाली जनजनका मनमा पुगिरहे, पुगिरहे र फेरि पनि पुगिरहेः

"चपला अवलाहरू एक् सुरमा
गुनकेशरिको फूल ली शिरमा
हिडन्या सखि लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी ।"


चउन्न वर्षको अल्पायुमै भानुभक्त आचार्यलाई कालाज्वरले मरणासन्न पार्‍यो । त्यस घडी पनि उनले लेखन कार्यलाई जारी राखे । उनले खास गरेर आफ्ना हितैषी र ज्योतिषी धर्मदत्त सुब्बाको आग्रहमा 'रामगीता' को भावानुवाद गरेका थिए । उनले आफ्नो जीवनको अन्त्यकालमा सकीनसकी 'रामगीता' लेखेरै छोडेका थिए । अन्ततः १९२५ साल असोज ६ गते आइतवार आश्विन शुक्लपञ्चमीका दिन उनी मस्र्याङ्दी नदीको तटमा स्वर्गीय भए ।

उनका कृतिहरु:
भानुभक्तका कृति (लेखन समय)
रामायण (बालकाण्डः १८९८)
रामायण (अरू काण्डः १९१०)
प्रश्नोत्तर (काव्यः १९१०)
भक्तमाला (काव्यः १९१०)
वधूशिक्षा (काव्यः १९१९)
रामगीता (काव्यः १९२५)
(१८८४ देखि १९२५ सम्म थुप्रै फुटकर कविताको सृजना)

 

-Narendraraj Prasain in Kathmandu

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.