|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
साताको बिशेष कुराकानी Interview with Ramraja Prasad Singh |
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"मेरो लागि सबै भन्दा प्यारो भूमि भनेको नेपाल नै
हो।" Ramrajaprasad Singh. Photo: Sitaram "मेरो परिभाषामा गणतन्त्र भनेको शासनमा सबै जाति, बर्गका जनताको समान पहुँच हो। यदी गणतन्त्रले जाति, जनजाति, मधेशी, दलित, पिडिछएको क्षेत्र, महिलाहरुलाई पालैपालो सत्ताको उपल्लो तहमा पुरयाउन सक्यो भने र यस्तो समान अबसरबाट देशको सम्बृद्धी हुन सक्यो भने त्यो नै मैले चाहेको गणतन्त्र हुनेछ।" -रामराजा प्रसाद सिंह, गणतन्त्रबादी नेता हाम्रा सहकर्मी सम्पादक सिताराम बरालले युएस नेपाल अनलाइनका लागि गणतन्त्रबादी नेता रामराजा प्रसाद सिंहसँग गर्नु भएको बिशेष कुराकानी यहाँ प्रस्तुत छ: नेपाल जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंह गणतन्त्रका योद्धामात्र हुनुहुन्न गणतान्त्रिक आन्दोलनको ज्यूँदो शहीदपनि हुनुहुन्छ । गणतन्त्र स्थापनाकालागि सशस्त्र संघर्षको सुरुवातस्वरुप २०४२ असार ६ गते नारायणहिटी दरवारका गेट, राष्ट्रिय पन्चायत भवन र राजपरिवारको लगानी रहेको दरवारमार्गस्थित होटल अन्नपूर्णमा बम विस्फोटन गराएबापत उहाँ लगायत नेपाल जनवादी मोर्चाका ४ जनामाथि मृत्युदण्डको सजायँ तोकिएको थियो । तर भारतमा भूमिगत रहेकाकारण उहाँहरु मृत्युदण्डबाट बच्नुभयो । |
|
|
नेपाल गणतन्त्रको संघारमा पुगेपछि गणतन्त्रबादी नेता
सिंहले सफल गणतन्त्रकालागि मधेशी, जनजातिलगायतका पिछडिएका राज्यबाट पाखा
पारिएका वर्ग र क्षेत्रका जनताको एकताको आवस्यकता देख्नुभएको छ । उहाँको
नेतृत्वमा रहेको 'नव जनवादी मोर्चा' मा 'नेपाल जनवादी मोर्चा', विभिन्न
क्षेत्रीय र जातीय मोर्चाहरु आवद्ध छन् । तराईलाई विभाजन गर्ने आन्दोलनको नेतृत्व गर्न केही समूहहरुले गरेको आग्रहलाई उहाँले अश्वीकार गर्नुभएपछि उहाँको व्यक्तित्व अहिले चुलिएको छ । उहाँ यतिबेला समग्र नेपाली ह्दयकॊ 'सर्वमान्य नेता' बन्न सक्नुभएको छ । मधेशी जनताले त उहाँलाई श्रद्धा गर्छन् नै हिमाल र पहाडी क्षेत्रका जनतापनि उहाँप्रति नतमस्तक बन्न थालेको छ । यसचोटि गणतन्त्र स्थापनकालागि उहाँले गर्नुभएको संघर्ष, नेपालमा गणतन्त्रीय शासन व्यवस्थाको मोडेल, मधेशमा चलिरहेको आन्दोलन लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहा प्रस्तुत छ : युएस नेपाल अनलाइन: बिसं २०४२ मा नारायणहिटी दरवारमा तपाई्रको संगठनद्धारा गराइएको बम विस्फोटनमा कसैले भारतको हात देखे । कतिपयले स्वयं दरवारले गराएको भने । यी टिप्पणीप्रति तपाईं के भन्नुहुन्छ ? रामराजाप्रसाद सिंह: कतिपयले सही भावना राखेर नै यसो भनेका थिए होलान् । किनभने त्यसअघि त्यस्तो काम कसैलेपनि गर्न सकेका थिएनन् । दरवारको गेटमा र सिंहदरवारभित्र राष्ट्रिय पन्चायत भवनमा लगेर बम विस्फोट गराउने काम चानचुने थिएन बरु चुनौतिपूर्ण थियो । बीपी कोइरालाले पनि २०२९-२०३१ सम्म सशस्त्र सघर्ष गर्नुभयो । तर दरवारमा त के काठमाडौंमापनि उल्लेख गर्न लायकको विस्फोट गराउन सक्नुभएन । वीपी कोइरालाले नसकेको काम रामराजाले कसरी सक्यो ? यो हुनैसक्दैन त्यसैले रामराजाको नाममा दरवारले गराएको भनेर काङ्ग्रेसका साथीहरुले भन्नथाल्नुभयो । उता दरवार र राष्ट्रिय पन्चायतमा विस्फोट गराइएको र म मधेशको मानिस भएकाले यसमा भारतीय हात हुने दरवारले देख्यो। बीपी कोइरालाहरुको क्रान्ति सम्झौता उन्मुख थियो । उहाँहरुले ०७ सालमापनि कुनै बिन्दूमा सम्झौता गरौं भन्ने हिसावले क्रान्ति सुरु गर्नुभयो । २०१८ र २०२९-०३१ मापनि यही भयो । उहाँहरुमा राजतन्त्र समाप्त गर्ने अवधारणा थिएन । बरु सत्तामा बार्गेनिङ्गकालागि सशस्त्र संघर्ष गरियो । त्यसैले हरेक मोडमा बीपीहरुले सम्झौता गर्नुभयो । २०१८ मापनि महेन्द्रसँग सम्झौता गर्नुभयो । २०३३ मापनि गर्नुभयो । त्यसैले दरवारमा गएर बम पड्काउने उहाँहरुको कुनै कार्यक्रम थिएन, योजना थिएन भने त्यहाँ गएर पड्काउने कुरै भएन । बीपीले नसक्नु र हामीले सक्नुकापनि कारण छन् । बीपीको पालामा बम विस्फोटनको अर्कै प्रविधि थियो । हामीहरुको जुन खालको 'टेक्नोलोजी' थियो त्यस्तो टेक्नोलोजी २००७ मा थिएन, २०१८ मा थिएन । र हामीले प्रयोग गरेको टेक्नोलोजी नयाँ थियो जुन हामी आफैले विकसित गरेका थियौं । उहाँहरु सिधै भारतबाट बम बनाएर लिएर आउनुहुन्थ्यो । त्यसैले त्यो बाटैमा पक्राउ पर्थ्यो । यसका विपरित हामीले काठमाडौंमै आएर बम बनायौं । त्यसैले दरवारमा समेत लगेर बम विस्फोटन गर्न सक्यौं । हो क्रान्ति अविश्वसनीय हुन्छ । अर्थात् यस्ता असाधारण किसिमका काम क्रान्तिमा हुन्छन् जुन साधारण मानिसको दिमागमा आउन सक्दैन । यही नै क्रान्तिको चमत्कारिकता हो । तर क्रान्तिलाई समग्र रुपमा बुझ्नुपर्छ । क्रान्तिमा चमत्कारिकता हुन्छ भन्ने कुरा नबुझ्नेहरुले हामीले गराएको विस्फोटनमा विश्वास नगर्नुलाई म अश्वाभाविक मान्दिन । युएस नेपाल अनलाइन: तपाईंको गणतन्त्रको सपना साकार हुने सम्भावना देख्नुहुन्छ ? रामराजाप्रसाद सिंह: व्यवस्थापिका-संसदले नेपाललाई 'संघीय लोकतान्त्रिक गणतन्त्र' को रुपमा पारित गरिसकेको छ । यो धेरै राम्रो निर्णय हो । मेरो सपना विस्तारै साकार हुने क्रममा छ । यसबाट म खुसीपनि छु । तर गणतन्त्र भनेको राजतन्त्र विहिनतामात्र होइन । मेरो परिभाषामा गणतन्त्र भनेको शासनमा सबै जाति, सबै वर्गका जनताको समान पहुँच हो । गणतन्त्रमा जनताले पालैपालो मिलेर शासन चलाउँछन् । राजतन्त्रका कारण विभिन्न वर्ग र जातका जनताहरु सत्ताको उपल्लो तहमा पुग्न पाएका छैनन् । यदि गणतन्त्रले जाति, जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्र, महिलाहरुलाई पालैपालो सत्ताको उपल्लो तहमा पुर्याउन सक्यो र यस्तो समान अवसरबाट देशको सम्बृद्धि हुनसक्यो भने त्यो नै मैले चाहेको गणतन्त्र हुनेछ। युएस नेपाल अनलाइन: तपाईंले नेपालमा अमेरिकी मोडेलको गणतन्त्र आवस्यक छ भन्नुभएको छ यसको व्याख्या गरिदिनुस् न ! रामराजाप्रसाद सिंह: अमेरिका पहिले धेरै राष्ट्रमा विभाजित थियो । सुरुमा चार राज्यहरु मिले । ती चार राष्ट्रका चारजना शीर्ष नेता मिलेर संविधान बनाए । जर्ज वासिङ्टन, थोमस जेफस्रन, एडम्स र मेडिसन मिलेर संविधान बनाए । उनीहरुले सहमतिको प्रणाली विकसित गरे । त्यो प्रणालीको सफलता देखेर अरु राज्यहरुपनि मिल्दै गए । 'युनाइटेड स्टेट अफ अमेरिका' को रुपमा अमेरिका बनेको हो । सुरुमा वासिङ्टन राष्ट्रपति र संविधान बनाउने अरु तीनजना पालैपालो राष्ट्रपति भए । यसले राजनीतिक स्थायित्वपनि दियो । हामीकहाँ प्रधानमन्त्रीलाई मन नपरे संसद विघटन हुन्छ । अमेरिकामा कसैले चाहँदैमा संसद विघटन हुन्न । नेपालमा राजनीतिक अस्थिरता छ । यदि अमेरिकी प्रणालीबाट हामीले पाठ सिक्यौं भने हामी जनताले खोजेको गणतन्त्र त प्राप्त गर्छौं नै राजनीतिक स्थिरतापनि हुन्छ । युएस नेपाल अनलाइन: हिमाल, पहाड, तराई र महिलाबाट पालैपालॊ राष्ट्रपतिको चुनाव हुनुपर्छ भन्नु भएको छ किन? रामराजाप्रसाद सिंह: नेपाल हिमाल, पहाड र तराई जस्ता भिन्दाभिन्दै भौगोलिक क्षेत्र मिलेर बनेको छ । यहाँ जातीय विविधितापनि छ । महिला. जनजाति, दलित, मधेशीले समान अवसर पाउन सकेका छैनन् । राजनीतिको उपल्लो पदमा उनीहरु पुग्न पाएका छैनन् । गणतन्त्र स्थापना गरी राष्ट्रपतीय प्रणालीमा जाँदा समान अवसर नपाएकाहरुलाईपनि अवसर पाउने व्यवस्थाको रुपमा मैले यो कुरा भनेको हुँ । जसअनुसार पहिलो चुनावमा तीनै क्षेत्रका उम्मेदवार उठ्नेछन् । पहिलो निर्वाचनमा हिमाली क्षेत्रको उम्मेदवारले चुनाव जित्यो भने दोश्रो चुनावमा पहाडी र तराई क्षेत्रका उम्मेदवारबीचमात्र प्रतिस्पर्धा हुनेछ । पहिलो चुनाव हिमाली क्षेत्रकाले जितेकाले दोश्रो चुनावमा त्यो क्षेत्रबाट उम्मेदवारी हुनेछैन । अनि दोश्रो चुनावमा जुन क्षेत्रको उम्मेदवारले जित्छ तेश्रो चुनावमा अघिल्ला दुई चुनाव जित्ने क्षेत्रका उम्मेदवार उठ्न पाउने छैनन् । केवल एक क्षेत्रका उम्मेदवारबीचमात्र प्रतिस्पर्धा हुन्छ । त्यसपछि फेरि राष्ट्रपति बन्ने पालो हिमाली क्षेत्रकै बासिन्दाको आउँछ । यसरी हुने चुनावमापनि जाति, जनजाति, मधेशी, महिला, पिछडिएको क्षेत्रलाई प्राथमिकता दिने नीति बनाउनुपर्छ । गणतन्त्र लगत्तै पिछडिएका जाति-जनजाति, दलित, मधेशी वा पिछडिएका क्षेत्र र महिलालाई राष्ट्रपति निर्वाचित गर्न सक्यौं भने विश्वभर यसको सन्देश अन्त्यन्त सकरात्मक हुनेछ । युएस नेपाल अनलाइन: 'मधेशी' र 'पहाडिया' भन्ने साम्प्रदायिक भावना बढ्न थालेको छ, मधेशमा पहाडियामूलका बासिन्दाहरुमाथि हिंसात्मक आक्रमण बढ्दो छ र उनीहरुको विस्थापन बढ्दो छ । के यो ठीक हो? रामराजाप्रसाद सिंह: मधेशमा जस्ता हिंसात्मक कृयाकलाप भएका छन् यसले मलाईमात्र होइन सबैलाई चिन्तित बनाएको छ । मधेशमा पहाडी समुदायको मानिसहरुको बसोबास केही वर्षअघि होइन केही सय वर्षअघिदेखि हुँदै आएको छ । हाम्रो परिवार नेपाल एकिकरणकालमा भारतको चम्बलबाट आएको थियो । तर त्यो भन्दा पहिलेपनि त्यहाँ पहाडी समुदायका मानिस बस्दै आएका थिए । त्यसैले पहाडियाले मधेशलाई जवर्जस्ती कब्जा जमाएको भन्ने कुरा साँचो होइन । यही कारणले यसअघि मधेशमा कहिलेपनि यस्तो साम्प्रदायिक भावनाको विकास भएको थिएन । मधेशबाट पहाड आउन र पहाडबाट मधेश जान राजनीतिक कारणले कुनै अप्ठेरो थिएन । तराईमा बसोबास गरिआएका पहाडी समुदायका मानिसहरुसँग मधेशी जनताको कुनै दुश्मनी छैन । नत मधेशी समुदायका मानिसहरुसँग पहाडी समुदायका मानिसहरुको नै कुनै दुश्मनी छ । किनभने हाम्रो राष्ट्र एउटै छ । हामी सबै मिलेर यो राष्ट्र बनाउनुछ । राष्ट्रको उन्नति हुँदा नै पहाडको उन्नति हुन्छ, मधेशको उन्नति हुन्छ र हिमाली क्षेत्रको उन्नति हुन्छ । जब पहाडको, मधेशको र हिमाली क्षेत्रको उन्नति हुन्छ स्वभाविक रुपमा यी क्षेत्रका बासिन्दाकोपनि उन्नति हुन्छ । यसरी एकले अर्काप्रति इश्र्या गरेर कुनैपनि क्षेत्र र त्यो क्षेत्रमा बसोबास गर्ने जनताको उन्नति हुँदैन । युएस नेपाल अनलाइन: मधेशमा यस्तो विग्रहको स्थिति देखिनुको कारण के होला? रामराजाप्रसाद सिंह: माओवादीको सशस्त्र संघर्ष वास्तवमा राज्य सत्ता पुनसर्ंरचनाकोलागि सुरु गरिएको क्रान्ति थियो । त्यो क्रान्तिमा पिछडिएका मधेशी, जनजाति, दलित, महिलाहरुको उल्लेख्य हिस्सा रह्यो । स्वभाविक हो 'क्रान्ति' ले पिछडिएको क्षेत्र र बर्गलाई आशावादी बनाउँछ । यसै हिसावले मधेशका जनताले माओवादीबाट धेरै आशा गरेका थिए । तर माओवादीले क्रान्तिलाई पूर्ण बनाउने होइन क्रान्तिलाई सम्झौतामा टुङ्ग्याउने उपाय सोच्न थाल्यो । यसो गर्नुका पछाडि उसका आफ्नै बाध्यता थिए होलान् । तर जे सोचेर जनता क्रान्तिमा लागेका थिए सम्झौता उन्मुख क्रान्तिले जनतामा स्वभाविक रुपले निराशा बढाउँछ । माओवादीले सुरु गरेको क्रान्तिबाट आफ्नो उन्नति हुन्छ भन्ने आशामा धेरै मधेशीले 'माओवादी क्रान्ति' मा भाग लिए, बलिदानपनि दिए । तर माओवादी सम्झौताको बाटोबाट गयो । मधेशी जनताको आशापनि तुहियो । माओवादी क्रान्तिमा भाग लिएका धेरै मधेशीसँग हात हतियार र विस्फोटक पदार्थ थियो । माओवादीको सम्झौता उन्मुख चरित्र र यसबाट मधेशमा बढेको निराशाका कारण मधेशमा समस्या देखिएको हो । माओवादीप्रतिको निराशा मधेशी जनतामा मात्र बढेको छैन जनजातिहरुमापनि बढ्न थालेको छ। युएस नेपाल अनलाइन: के 'स्वतन्त्र मधेश' सम्भव छ? रामराजाप्रसाद सिंह: छैन । तरपनि अहिले जयकृष्ण गोइतजीले स्वतन्त्र मधेशको नारा अघि ल्याउनु भएको छ । तर यो आवेगको अभिव्यक्तिमात्र हो । परिवारका कुनै परिवारका सदस्यबीच झगडा भयो भने छुट्टिन खोज्छन् नि! जयकृष्णजीपनि आवेगमा छुट्टिन खोज्नु भएकोमात्र हो । तर परिवार छुट्टिएजस्तो देशको विभाजन सम्भव छैन र आवस्यकपनि हुँदैन । यो कुरा बहुसंख्यक मधेशी जनताले बुझेका छन् । जयकृष्ण गोइतले 'सन् १९५० को सन्धिले सुगौली सन्धि लगायत त्यसअघिका सन्धि खारेज भएकाले तराई स्वतन्त्र हो' भन्ने तर्क अघि सार्नुभएको छ । तर तर सुगौली सन्धि इष्ट इण्डिया कम्पनीसँग भएको थियो । अर्थात् ब्रिटिशसँग भएको थियो । त्यसोभए के ब्रिटिशहरु हामी नेपाली जनताको भाग्यनिर्माता थिए भन्न खोज्नु भएको हो उहाँले ? वास्तवमा ब्रिटिशहरु दमनकारी थिए । अर्कोतिर सरकारको रुपमा त्यसको कुनै कानूनी हैसियत थिएन । इष्ट इण्डिया कम्पनीलाई ब्रिटिशले सहयोग दिएको थियो होला । तर इष्ट इण्डिया कम्पनी आफै सरकार थिएन । यदि उ सरकार थिएन भने उसँगको सम्झौताको के अर्थ हुन्छ ? न उनीहरुसँगको सम्झौताको अर्थ छ, न त्यो सम्झौता खारेजीले नै कुनै अर्थ राख्छ । माओवादीबाट उहाँ २-३ वर्ष अघि अलग हुनुभयो । त्यसपछिपनि उहाँसँग पटनामा मेरो भेटघाट भैरहन्थ्यो । त्यसबेला तराई छुट्टै देश हो भन्ने धारणा उहाँमा थिएन । अहिले उहाँमा तराई छुट्टै देश हो भन्ने धारणा किन र कसरी विकसित भयो म अचम्ममा परेको छु । युएस नेपाल अनलाइन: तपाईं लामो समय पटनामा रहनुभयो पटनाको सम्झना कसरी गर्नुहुन्छ? रामराजाप्रसाद सिंह: मैले नेपालमा गणतन्त्र स्थापनाको संघर्षकालमा पटनाको उपभोग गरें । त्यो भन्दा बढि पटनाको कुनै आकर्षण ममा छैन । त्यसैले मैले पटनामा घर बनाउनुपर्छ भनेर कहिल्यै सोचिन । गणतन्त्र स्थापनाकालागि सशस्त्र संघर्ष गरेबापत पन्चायती सरकारले मलाई फाँसीको सजायपनि सुनायो । त्यसैले म लामो समय निर्वासनको रुपमा पटनामा रहनुपर्यो । त्यो मेरो बाध्यता थियो । तर जहिल्यैपनि मलाई आफू पटनामा शरणार्थी अवस्थामा छु भन्ने महसुस हुन्थ्यो । मलाई मेरा आफन्तहरुले पटनामै स्थायी रुपमा बस्न नभनेका होइनन् । तर पटनामा बस्नुपर्छ भन्ने सोचाई ममा कहिल्यै आएन । एउटा क्रान्तिकारीकालागि आफूले क्रान्ति गर्न चाहेका भूमि नै सबैभन्दा बढि महत्वपूर्ण हुन्छ र प्यारो पनि हुन्छ । त्यसैले मेरोलागि सबैभन्दा प्यारो भूमि भनेको नेपाल नै हो । January 10, 2008, Kathmandu सिताराम बराल जन आस्था साप्ताहिकका सह-सम्पादक हुन्। Sitaram Baral is an Co-Editor of Jana Aastha Weekly in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||