Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

तस्बिर खिच्न नेपाल आएका जापानी नेपाली गाउँमै समाजसेवा गर्न थाले



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
"गाउँमा बालबालिकालाई १५ सय जोर जुत्ता बाँडेका उनले ती जुत्ता बाबुआमाले सहरमा बेचेको थाहा पाएपछि विद्यालय खोलेर चेतना बढाउने अठोट गरे"


Ogino at the Eye Camp in Lumbini in 2000. Photo courtesy: Ogino for Laaphaa Cultural Magazine.


काठमाण्डौं, October 15, 2008-योसिनोबु ओगिनो सामान्य छन् तर उनले खिचेका तस्विरहरु हेरिरहुँजस्ता हुन्छन् । जुत्ता उपहारबाट सुरु भएको ओगिनोको समाजसेवा विद्यालय खोल्ने तहमा पुग्यो । तीन दशकको अवधिमा उनले नेपालको ३२ वटा शैक्षिक संस्थामा लगानी गरेका छन्।

उनी तस्विरका लागि तस्विरमात्र खिच्दैनन् त्यसमा कलात्मक उत्तिकै हुन्छ । सन् १९३६ मा जापानको गुमा-केन सहरमा जन्मेका ओगिनो भन्छन्‌- "मलाई एक पटकको नेपाल बसाइमा पाँच सय तस्विर नखिचेसम्म धित मर्दैन ।"

जापानी राजप्रासादमा एउटा नेपाली तस्विर शोभित छ - काभ्रेको पाँचखालमा धाराको पानी खान लागेका बालबालिका । यो कुनै साधारण तस्विर होइन सम्राट अकिहितोले मन पराएको तस्विर । उक्त तस्बिर यिनै ओगिनोले खिचेको तस्विर हो ।

उनको 'म्यानुयल' र 'डिजिटल' क्यामराबाट नेपालको हजारौं तस्विर खिचेका छन् । त्यसमा गाउँबेसीका केटाकेटीका जीवनदेखि हिमाल, जीवजन्तु र प्रकृतिक चित्ताकर्षक छटासम्म छन् ।

ओगिनोले जापानका विभिन्न सहरमा १० पटक एकल प्रदर्शन गरेर ती तस्विरको अन्तर्राष्ट्रियकरण पनि गरिसकेका छन् जसले गर्दा जापानीका मन फिराउने काम मात्र गरेको छैन नेपालको एक किसिमको अविस्मरणीय छाप पनि त्यहाँसम्म पुगेको छ । उनले ती तस्विर प्रदर्शनीबाट उठेको रकमबाट नेपाली गाउँपाखामा विद्यालयहरु खुलेका छन् । ठाउँ-ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सन्‍चालन गरिएका छन् जसबाट हजारौं नेपालीहरुले आँखाको ज्योति अनि नयाँ जीवन पाएका छन् ।
 

Photo courtesy: 'Nepal's Well-wishers in Japan' by Agansingh Thapa Magar.

जापानका सुपरिचित फोटोग्राफर ओगिनोले सन् १९९४ मा 'जापान फोटोग्राफिक कल्चर सोसाइटी' बाट स्वर्णपदक हात पारिसकेका छन् । उनले आफ्नो तस्विर पुस्तक 'चाइल्ड अफ गड एण्ड हिमालयज' Child of God & Himalayas मा नेपाली बालबालिकाको जनजीवनलाई दुरुस्त उतारेका छन् । उनका यथार्थपरक तस्विर हेरेपछि भन्न कर लाग्छ केटाकेटी साँच्चै देवता रहेछन् । निस्फिक्री खेलिरहेका अनि मस्त हाँसिरहेका निश्चल केटाकेटीका तस्विर खिच्नु उनको विशेषता नै हो ।

उनले यो जुनी फोटोग्राफीकै निम्ति बरदान पाएका हुन् भन्न मन लाग्छ । तस्विर खिच्दा उनले न रातविरात भनेका छन् न त घामपानी । 'मुड' चल्यो कि दौडिहाल्छन् क्यामरा बोकेर । धुरन्धर छ उनको फोटोग्राफी । ओगिनोमा तस्विर खिचिसकेपछि प्रफुल्लताको बेग्लै चमक पाइन्छ ।

ओगिनो हिमाली दृश्य खोज्दै सन् १९७२ मा पहिलो पटक नेपाल आएका थिए । त्रिभुवन विमानस्थलमा उत्रँदा इँटाले बनेका होचा घर नै आश्चर्यको विषय बन्यो उनका लागि । दृश्यमा डोरिदै पदयात्रीका रुपमा उनी पोखरा पुगे । त्यहाँबाट घान्द्रुकतिर तन्किए रहरलाग्दा तस्विर समेट्दै । हिमाली जनजीवन क्यामरामा उन्दाउन्दा उनले देखे पुस-माघको ठिहिरोमा फाटेका लुगा लगाएर खाली खुट्टा खेलिरहेका केटाकेटीहरु । जापानमा रहँदा आफुलाई गरिब ठान्ने ओगिनोको मन नेपाली केटाकेटीहरुको यो हबिगत देखेर चसक्क चस्कियो । नेपाली केटाकेटीका हिउँमा फुलेका खुट्टाले उनलाई छाडेन । सन् १९७३ मा दोस्रो पटक नेपाल आउँदा १५ सय जोर जुत्ता बाँडे उनले । एक वर्षपछि पुनः आउँदा उनले सुने- ती जुत्ता त छोराछोरीलाई नदिई बाबुआमाले सहरमा पो बेचेछन् । उनी भक्कानिए र बुझे यो सबै अशिक्षाको परिणाम हो । त्यसैले उनले विद्यालय खोलेर चेतना बढाउने अठोट गरे । अनि अर्थ-सङ्कलनका लागि जापानमा 'निपोन-नेपाल गुडविल एशोसिएशन' अर्थात Japan-Nepal Good-Will Association खोले ।
Yoshinobu Ogino. Photo courtesy: Ogino for Laaphaa Cultural Magazine.

जुत्ता उपहारबाट सुरु भएको ओगिनोको समाजसेवा विद्यालय खोल्ने तहमा पुग्यो । तीन दशकको अवधिमा उनले नेपालको ३२ वटा शैक्षिक संस्थामा लगानी गरेका छन् । भवन निर्माण, खानेपानी, प्रौढ कक्षा, स्वास्थ्य शिविर उनका सरोकार बनेका छन् । त्यो पनि एकै थलोमा होइन काठमाडौंको आरुबारीदेखि भोजपुरको धापखर्कसम्म । कास्की, काभ्रे, ललितपुर, नुवाकोट, दोलखा, मुस्ताङ, रुपन्देही, सुर्खेत, संखुवासभा धेरैतिर पुगेका छन् उनी । अहिलेसम्म ओगिनो पुगेको विकट ठाउँ भोजपुरको धापखर्क हो । उनले त्यहाँ सन् १९९५ मा पहिलो विद्यालय खोलेका थिए- शेर्पा प्राथमिक विद्यालय जहाँ हाल कक्षा ३ सम्म ५० विद्यार्थी पढ्दैछन् । यस पुनित कार्यमा पासाङ दोर्ची शेर्पाको सहयोग सह्राहनीय रहेको बताउँछन् ओगिनो ।

दोलखाको एक गाउँमा स्कूल बन्यो । छोराछोरी पढ्न जान थालेपछि बाबुआमाले पनि पढ्ने इच्छा गरे । त्यसपछि ओगिनो प्रौढ कक्षा शुरु गर्न शिक्षा मन्त्रालय पुगे । मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्र पठायो । केन्द्रले फेरि मन्त्रालय पठायो । बैंकमा पैसा दिएपछि बल्ल किताब पाए । विदेशीले केही गरिदिन्छु भन्दा पनि सहयोग मिलेन । नेपालको उन्नतिमा बाधक यो पनि हो ।

नेपाल बसाइ अन्यन्त व्यस्त हुन्छ उनको । नयाँ सहयोग र शिविर मात्र होइन पुरानोको अनुगमन, कतै स्कुलको छाना चुहियो, कतै फर्निचर पुगेन, कतै भवन मर्मत सम्भार । शिक्षक र खेलकुद सामग्रीको पनि व्यवस्था मिलाइ दिन्छन् । त्यतिमात्र होइन स्थानिय किसानलाई गाजर, फर्सी, मेवाजस्ता फलफुल एवं सागसब्जीका बीउ बाँड्‍छन् । ओगिनोले आफ्नो र आफ्ना जापानी मित्रहरुको सहयोबाट नेपालमा समाजसेवामा वर्षेनी करोड रुपैयाँको हाराहारीमा अनुदान लागानी गर्दै आएका छन् ।

उसो त, कहिलेकाहीं तेरो स्कुल चाहिदैन भन्ने पनि भेटिन्छन् । कहिले बेन्च बनाउन दिएको रुपैयाँ लिएर हेडमास्टर भाग्छन् । कोही गा.बि.स. अध्यक्ष स्कुलको जस्तापाताले आफ्नो छाना टाल्छन् भने कोही स्थानिय व्यक्ति पैसा ठगेर नपुगी उल्टै मुद्दा खेपाइदिन्छन् । तर सोझा गाउँलेहरु चाँही इमानमा एक रौं पनि नचुकेको देख्दा ओगिनो कृतज्ञ हुन्छन्।

ओगिनो अनुदान दिनुअघि सम्बन्धित ठाउँमा आँफै पुगेकै हुन्छन् । चाहे एकैपटक किन नहोस् र विकट ठाउँ भए होलिकोप्टरबाट जान किन नपरोस् । वस्तुस्थिति बुझेपछि ३८ जना विद्यार्थी भएको ठाउँमा पनि स्कुल खोलिदिन्छन् । आफैं निर्णय गर्ने ओगिनो जहाँ अभाव र पीडा पाउँछन् त्यहाँ जनउत्थानी मन फुकाउँछन् । विपन्न र दुर्गम भेगका बासिन्दाले यथास्थितिमै बाँच्ने त? केटाकेटी टाढाको स्कुलमा जान सकेनन् भन्दैमा पढ्नै नपाई तन्नेरी हुने त? यसैका समाधान हुन्- योसिनोबु ओगिनो । जीवन पर्यन्त समाजसेवामा लाग्ने धोको मनमा साँचेका छन् उनले । समाजसेवाको यो दौडमा उनले सबैभन्दा बढी आत्मसन्तुष्टि नै भेटेका छन्।

विगत १४ वर्षदेखि ओगिनोको समीपमा रहेका पासाङ दोर्ची शेर्पाकाअनुसार ओगिनो नेपालीलाई हुरुक्कै माया गर्ने एक बिदेसी मित्र र सशक्त समाजसेवी हुन् । पासाङ भन्छन्‌- "जापानमा सबैले उनीमाथि विश्वास गर्छन् र आर्थिक सहयोग जुटाइदिन्छन् । ठूला-साना सबैलाई राम्रोसँग बुझाउन सक्ने भएकोले नेपालमा अथाह सम्पत्ति खन्याउन सम्भव भएको हो ।" नेपाली बालबालिका र प्राकृतिक सौन्दर्यको मायाजालमा परेका उनी आफुलाई विशेष मान्छे पटक्कै ठान्दैनन् । "दुई छाक खान र रात बिताउन छहारी पाए पुग्यो," ओगिनो भन्छन्- "धनसम्पत्ति जगेडा राख्नुको अर्थ छैन गरीब असहायलाई बाँड्नु धेरै उत्तम ।"


Pasang Dorchi Sherpa, Chairman, US Nepal Media Center with Ogino. Photo courtesy: 'Nepal's Well-wishers in Japan' by Agansingh Thapa Magar.

पासाङ दोर्ची शेर्पा 'हिमालय स्वास्थ्य तथा शिक्षा समाज नेपाल' का अध्यक्ष पनि हुन् । पासाङ भन्छन्- 'विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रका उत्पीडित बर्ग, पछौट्‍याइएका आदिवासी जनजातिको उत्थानमा संयुक्त रुपले जुट्दै आएका छौं हामी ।' वास्तवमा ओगिनो र पासाङ रथका दुई पाङ्ग्रा भएर धेरै अभावग्रस्त र सबैबाट ओझेलिएका तिरस्कृत विकट गाउँको घाउहरुमा शीतल मलम र जीवनकै मिर्मिरे बिहानी बनेका छन्। जहाँ-जहाँ मानवीय संवेदनाका दुःखाइहरु पाउँछन् त्यहाँ-त्यहाँ सहयोग गर्दै आएका छन् । स्थानिय गाउँपरिसरमा उपचार हुन नसक्ने बिरामीलाई राजधानीका सघन स्वास्थ्य केन्द्रमा ल्याएर पनि नवजीवन प्रदान गरेका छन् । यी सबैको तालमेल एक्लो, उदात्त जापानी समाजसेवीले मात्र मिलाउन मुस्किल पर्छ । उपयुक्त नेपाली सारथी नपाउँदा नेपालीकै उपकारमा मरिमेट्ने कयौं जापानी समाजसेवी उल्टै आपतमा परेका उदाहरणहरु छन् । पासाङ दोर्ची शेर्पाले ओगिनोको समाजसेवा यात्रामा पथप्रदर्शक र सारथी दुबैको भूमिका खेलेका छन् ।

ओगिनो यहाँका बालबालिकालाई बिर्सन नसकेर १०६ चोटि नेपाल आइसकेको बताउँछन् । वर्षमा चार पटकसम्म यहाँ आएका छन् । समय मिल्दा ६ महिनासम्म यतै बसेका छन् । काठमाडौंको थापाथली हाइटमा एउटा कोठा उनका लागि खाली रहन्छ वर्षभर । ओगिनोको जीवनमा सर्वाधिक खुशी त्यतिबेला हुन्छ जतिबेला आफुले खोलिदिएका विद्यालयमा विद्यार्थी मन दिएर पढ्छन् । "त्यतिबेला मैले राम्रै काम गरेछु जस्तो लाग्छ", उनी भन्छन् । उनले विभिन्न स्थानमा १२
पटक निःशुल्क स्वास्थ्य शिविर सन्‍चालन गरिसकेका छन् । सन् २००० मा गौतम बुद्धको जन्मथलो लुम्बिनीमा स्वास्थ्य चौकी खुलाएका छन् । उनी गर्वले सुनाउँछन्- "अप्रेसनपछि आँखा देख्दा उनीहरुको उन्मत्त खुशीले त झन् भावविभोर हुन्छु ।" उनले गर्बसँग भन्ने गरेका छन्- "गौतम बुद्ध जन्मेको थलो हो नेपाल त्यसैले नेपाल जापानको आमा हो" ।

नेपालको शुभचिन्तक ओगिनोले खानेपानीको समस्याबाट पदयात्री र स्कुले केटाकेटी गुज्रीरहेको देखे । यसको समाधान मात्र गरेनन् केही ठाउँमा उनले वि.सं. २०४६ (सन् १९८९) मा 'नेपालमा बग्ने चोखो पानी' लेखे र बाँडे अधिराज्यभरका आफ्नो स्कुलहरुमा । "गाउँघरमा खानेपानीको समस्या टड्कारो छ तर त्यसको सदुपयोग हुन सकेको छैन ।" पानीको पक्षमा उनले त्यो किताब लेखेका थिए । अहिले भने खानेपानीको समस्या बोकेर उनीकहाँ कोही आएका छैनन् ।

केटाकेटीप्रतिको संवेदनशीलताको फलस्वरुप भैरहवामा एक हजार ज्याकेट बाँडे उनले यसपालि । तर छुटेका चारवटा बाँकी रहेछन् । त्यो बाँकी केटाकेटीलाई बाँड्न खोज्दा क्षणभरमै सय लाइन बसे । "जापानी दाताहरुको मन छुनसक्ने त्यो दृश्य क्यामरामा कैद गर्न होश नपुगेकोमा पछुताउ लागिरहेछ" उनी भन्छन् । समाजसेवामा उनको प्रण देखेर भैरहवाका मेयर सागरप्रताप राणाले भनेका छन्- "ओगिनोको शेखपछि कोही उनको कपी भएर अरु आउनेछन् । ओगिनोले त आफ्नो पदचाप खोज्दै हिँड्ने धेरै मान्छे भेटेका छैनन् । ओगिनोको अनुभव बोल्छ- नवपुस्ताले मिहिनेत नगरे नेपालले कहिल्यै काँचुली फेर्दैन । नेपालको भविष्य युवा हुन् । युवाको भविष्य शिक्षा । त्यसैले शिक्षक दक्ष चाहिन्छ ।

सन्‌ २००४ मा जापानी बालबालिकाहरुको मन छुन सफल प्रसिद्ध बाल कबयात्री स्व. खानेको मिसुजुद्वारा लिखित 'होसि तो तान्पोपो'(तारा र फुलहरू) नामक कविता किताबका आवरण पृष्ठमा राखिएको एउटा तस्बिरको लागि उनले निलगिरी हिमालको सयभन्दा बढी फोटो 'स्न्याप' खिचेका थिए। हेलिकप्टरबाट दुई-दुई पटक गएर खिचिएको उक्त तस्बिरमा निलगिरी हिमालमा जूनको पनि झकिझकाउ उपस्थिति छ । दिनमा उदाउने तारा र रातमा टल्कने हिमालको विरोधाभाषपूर्ण दुर्लभ तस्बिर ।

जापानी प्राथमिक विद्यालयका पाठ्यक्रममा र हुलाक टिकटमासमेत स्थान पाएकी स्व. मिसुजुको यो लोकप्रिय किताब नेपाली भाषामा निप्पोन-नेपाल गुडविल एशोसिएशनले छापेको हो - 'जुरा सुप्पान' नामक संस्थाको सौजन्यमा । युएस नेपाल मिडिया सेन्टरका अध्यक्षसमेत रहेका पासाङ दोर्ची शेर्पाबाट नेपाली भाषामा अनुवादित उक्त पुस्तकका अधिकांश प्रति ओगिनोका अनुदान प्राप्त स्कुलहरुलाई निःशुल्क बाँडिने छन्।


Ogino with late King Birendra after recieving Prabal Gorkha Dakshinbahu-III in 2000. Photo courtesy: Ogino for Laaphaa Cultural Magazine.

हुन त ओगिनोले यि सब काम पुरस्कार र सम्मान पाउँला भनेर गरेका होइनन्। तैपनि वि.सं. २०५६ मा उनको समाजसेवी भूमिकालाई कदर गर्दै तत्कालिन राजा बिरेन्द्रबाट सुप्रबल गोरखा दक्षिणबाहु तेस्रो प्रदान गरिएको थियो। यसरी थोरै बिदेसीले मात्र निस्वार्थ काम गरे बापत नेपाल सरकारबाट यस्ता सम्मानहरु पाउने गरेका छन्। ओगिनो तिनै थोरै बिदेसी नागरिकहरुमा पर्दछन् जसको माया नेपालीको लागि सधैं छताछुल्ल भई रहन्छ र हामी नेपाली शिर्फ गर्बले छाती फुल्याउन पाउछौं-
"ओगिनो तिमीलाई हाम्रो साधुबाद!"

-Agansingh Thapa Magar in Kathmandu
(Editorial note: Agansingh Thapa 'नेपालका हितैशी जापानीहरु' (Nepal's Well-wishers in Japan) पुस्तकका लेखक हुन्।)
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®