संविधान सभाको उपाध्यक्ष पदका लागि महिला
उमेद्वारहरुको खोजी शुरु
काठमाडौं, July 24, 2008-संविधान सभाको अध्यक्षमा एमालेका सुवाष नेम्वाङ्ग निर्विरोध
निर्वाचित भएपछि उपसभामुखका नामबारे चर्चा सुरु भएको छ ।
तीन दलीय गठबन्धनले उपाध्यक्षमा साना दलका महिलालाई दिने सहमति गरिसकेका
छन् भने माओवादीलेपनि दावी गर्ने सम्भावना बढेको छ । माओवादीले दलित वा
महिला उम्मेदवारलाई अघि सार्ने बताइन्छ ।
तीन दलीय गठबन्धनमा उपाध्यक्षमा साना दललाई दिनुपर्ने र उपाध्यक्षमा उठाउने
दलले महिला उम्मेदवारी दिनुपर्ने सहमति भएको थियो । यो सहमति अनुसार नेकपा
माले ले उपाध्यक्षमा आफूले उम्मेदवारी दिन पाउनुपर्ने बताइसकेको छ । माले
महासचिव सीपी मैनालीले उपाध्यक्षमा आफ्नै श्रीमति नीलम केसीलाई अघि सार्ने
सम्भावना छ ।
साना दलहरुबाटै सद्भावना आनन्दीदेवी की सरिता गिरीलेपनि दावी गर्ने
सम्भावना छ । राष्ट्रपतीय चुनावको पहिलो चरणमा माओवादी गठबन्धनमा सामेल
गिरी दोश्रो चरणको मतदानमा कांग्रेस गठबन्धनमा पुगेकी थिइन् । उनलाई
उपाध्यक्ष दिइने आस्वासन दिइएपछि उनले क्याम्प परिवर्तन गरेको बताइन्छ ।
त्यसैले सम्भवतः मधेशवादी दलहरुले सम्भवत उनकै नाम अघि सार्नेछन् ।
माओवादीपनि उपाध्यक्षमा आफ्नो तर्फबाट उम्मेदवारी दिने तैयारी गरेको छ ।
जानकारी अनुसार माओवादीबाट दलित समुदायका तिलक परियार वा महिला नेतृ जयपुरी
घर्तिमगर उपाध्यक्षको उम्मेदवार हुनेछिन् । बाँकेबाट निर्वाचित परियार
माओवादीको दलित संगठनको अध्यक्ष छन् भने रोल्पाबाट निर्वाचित जयपुरी महिला
संगठनको अध्यक्ष छिन् ।