'काँग्रेससँग मिलेको भए एमाले 'दक्षिण पन्थी' भासमा
जाकिने थियो'
- एमाले महासचिव खनाल
UML Gen. Sect. Jhalanath Khanal at the program. Photos: Santa काठमाडौं, August 24, 2008- नेकपा एमाले महासचिव झलनाथ खनालले माओवादी जनमुक्ति
सेनालाई ६ महिना भित्र नेपाली सेनामा समायोजन गरिने बताए ।
भदौ ८ गते ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ६ महिनापछि मुलुकमा
दुई सेना तथा दुई थरी हतियार नहुने दाबी गरे।
मर्यादाक्रम विवाद माओवादीले नबुझेर हो वा आफ्नो पार्टीलाई दबाउने मनशायले
आएको हो आफूले बुझ्न नसकेको खनालको भनाई थियो । 'जे भएपनि माओवादीले आफ्नो
गल्ती सच्चाएर हाम्रै अडानमा आउनेछन् ।' कार्यक्रममा खनालले भने ।
काँग्रेसले आफूलाई प्रधानमन्त्री बन्ने अफर गरे पनि जनादेशको पालना तथा
शान्ति प्रकृयालाई विचार गरेर सिधै अस्विकार गरेको महासचिव खनालको भनाई
थियो । उनले भने 'काँग्रेससँग मिलेर माओवादी इतरको सरकार बनाएको भए एमाले
'दक्षिण पन्थी' भासमा जाकिने थियो ।'
उपत्यका व्यापी चार महिने संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानमा
कार्यक्रमको उद्घाटन गर्दै उनले माओवादी, एमाले र फोरमवीचको गठबन्धन
व्यवहारिक र महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा राजेन्द्र श्रेष्ठ, सुशिला नेपाल, योगेश भट्टराई लगायतले पनि
मन्तब्य राखेका थिए ।