काठमाडौं, August 30, 2008- एमालेका केन्द्रीय नेताहरुले सार्वजनिक रुपमा नै एक
अर्काविरुद्ध कटाक्ष गर्न थालेका छन् ।
सरकारमा जान हुने- नहुने र सरकारमा पठाइने नामका सम्बन्धमा विवाद सार्वजनिक
हुन थालेपछि एमालेका नेताहरु यसरी सार्वजनिक रुपमा एकले अर्कालाई कटाक्ष
गर्न थालेका हुन्।
यसैक्रममा एमाले स्थायी समिति सदस्य इश्वर पोखरेलले एमाले स्थायी समिति
सदस्य प्रदीप नेपाल र केन्द्रीय सदस्य भीम रावललाई एमालेभित्रका
'पुल्पुल्याइएका केटाहरु' को संज्ञा दिएका हुन् । जनकपुर पुगेका एमाले नेता
पोखरेलले जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उपरोक्त कुरा बताएका हुन् ।
'एमालेभित्र केही पुल्पुलिएका केटाहरुले अहिले बखेडा निकालिरहेका छन्
उनीहरुको उपचार जरुरी छ' स्थायी कमिटी सदस्य नेपाल र केन्द्रीय सदस्य
रावलप्रति लक्ष्यित गर्दै उनले भने- 'तर जतिसुकै बबण्डर गरेपनि
पुल्पुल्याइएकाहरुले एमालेलाई बिगार्न सक्दैनन् ।'
स्थायी समिति सदस्य नेपालले एमाले माओवादी नेतृत्वको सरकारमा जानै नहुने
बताउँदै आएका छन् भने रावल सुदुर पश्चिममान्चलको प्रतिनिधित्व नगराइएकोमा
असन्तुष्ट छन् । पार्टी नेतृत्वले भने दुवै जना मन्त्री हुन नपाएपछि
सार्वजनिक रुपमा यसरी विरोधमा उत्रेको बताउँदै आएको छ ।
यसरी आफ्नै पार्टीका केन्द्रीय नेताहरुलाई 'पुल्पुल्याइएका केटा' बताउने
पोखरेल एमाले महासचिव झलनाथ खनालका सबैभन्दा निकटका नेता मानिन्छन् ।
पार्टी मर्यादा विपरित पोखरेलले आफूहरुलाई 'पुल्पुल्याइएका केटा' भनेपछि
नेपाल र रावलले यसको जवाफ कसरी दिन्छन् त्यो भने हेर्न बाँकी छ ।