काठमाण्डौं, October 26, 2008- तराईमा शशस्त्र संघर्ष गरिरहेका समूहसँग
सरकारले वार्ता गर्ने बताइरहेको बेला थरुहट स्वायत्त राज्य परिषद्ले
निःशस्त्र सेनाको सार्वजनिकी गरेको छ ।
तराईका जिल्लाहरुलाई थरुहट राज्य बनाउनु पर्ने माग गर्दै राज्य परिषद्ले
आन्दोलन घोषणा सहित निःशस्त्र सेना सार्वजनिकी गरेको जनाएको छ । सेनालाई
थारु सेना नाम दिइएको छ ।
'सङ्घीय नयाँ नेपालमा थरुहट स्वायत्त राज्य कायम गरौं' भन्ने नारा सहित
राज्य परिषद्ले धनगढीमा एक कार्यक्रमको आयोजना गरी आफ्ना निःशस्त्र तर
कम्ब्याट पोशाक लगाएका सेना सार्वजनिक गरेको हो ।
परिषद्का केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले वर्षौदेखि दबाब र पीडामा
बाँचीरहेका सम्पूर्ण थारुहरुको मुक्तिको लागि तराईका जिल्लालाई थरुहट राज्य
नबनाइए आफुहरुले सशक्त र सशस्त्र आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी
दिनुभएको छ । सम्पूर्ण थारुको अस्तित्व बचाउन थरुहट सेना गठन गरिएको
अध्यक्ष थारुले दावी गर्नुभयो ।
थरुहट स्वायत्त राज्य परिषद् संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध
परिषद् हो । संविधान सभामा संघीय लोकतान्त्रि राष्ट्रिय मन्च सम्बद्ध दुई
सभासदको उपस्थिति छ ।