काठमाडौं, August 21, 2008- संविधान सभा निर्वाचनमा राजतन्त्र राख्नुपर्ने विषयलाई
मूलमुद्धा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दुई बरिष्ठ
नेताहरुले आज सोही पार्टी परित्याग गरेका छन् ।
पार्टीका पूर्व अध्यक्ष रवीन्द्रनाथ शर्मा र राजेश्वर देवकोटा सोही पार्टी
परित्याग गरी पशुपति शमशेर जवराले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र
पार्टीमा प्रवेश गरेका छन्।
'राप्रपा नेपाल' का अध्यक्ष कमल थापाले माओवादीको पक्षमा बोल्न थालेको
बताउँदै देवकोटा तथा शर्माले सो पार्टी परित्याग गरेका हुन् । अध्यक्ष
थापाले प्रधानमन्त्रीको निर्वाचनकाबेला जनमत अनुसार माओवादीले सरकारको
नेतृत्व गर्न पाउनुपर्ने बताएका थिए । यसै अनुसार सो पार्टीका ४ सभासद्ले
प्रधानमन्त्रीमा प्रचण्डलाई मत दिएका थिए ।
देबकोटा तथा शर्माले थापामाथि माओवादीको पक्षमा बोलेको आरोप लगाएपनि
संविधान सभा निर्वाचनपछि पार्टीभित्र देखापरेको असन्तुष्टि नै पार्टी
छोड्नुको मूल कारण मानिएको छ । संविधान सभा निर्वाचनमा देवकोटा तथा शर्मा
दुवैजना समानुपातिक तर्फका उम्मेदवार थिए । पार्टीबाट निर्वाचित हुने ४
जनामा आफूहरु पर्ने आशा उनीहरुमा थियो ।
तर अध्यक्ष थापाले दुई नेताको साटो अन्यलाई पठाएपछि उनीहरु असन्तुष्ट
देखिदै आएका थिए । समानुपातिक निर्वाचनमा नपरेपछि दुवै नेता पार्टी
राजनीतिबाट निस्कृयपनि थिए । पार्टीमा दुवै जनालाई 'बरिष्ठ नेता' भन्ने
सम्मान दिइएको थियो । यसो भनिएपनि 'बरिष्ठ नेता' को हैसियत पार्टीभित्र
सल्लाहकारको जस्तोमात्र थियो ।