|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बिशेष टिप्पणी:
राज दरबार भित्रको दिनचर्या यस्तो छ: होसियार ! राजातन्त्र बचाउने एमाले र काङ्रेस भित्रै छन् 'किङ्ग्स वे' अगाडि रहेको राजा महेन्द्रको शालिकबाट बुधबार बेलुकी देखिएको सुनसान नारायणहिटी दरवार Narayanhiti Royal Palace in Kathmandu. Photo: Sitaram Baral -Sitaram Baral in Kathmandu काठमाडौं, April 9, 2008-संविधान सभा निर्वाचन घोषणा भएको करिव ५७ वर्षपछि नेपालमा पहिलो पटक आज संविधान सभा निर्वाचन हुन लागेको छ । राणाहरुद्धारा गद्दीच्युत राजा त्रिभुवनले ०७ को सशस्त्र क्रान्तिकाकारण गद्दी फिर्ता गर्न सफल भएपछि स्वदेश फर्कनेबित्तिकै संविधान सभा निर्वाचन गरिने घोषणा गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र संघर्षलाई समर्थन गर्दै भारततर्फ लागेका राजा त्रिभुवनलाई गद्दीच्युत गरी अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले उनैका नावालक नाति ज्ञानेन्द्रलाई राजा घोषित गरेका थिए । संयोगपनि कस्तो परेको छ भने नाति ज्ञानेन्द्रपछि फेरि दोश्रो पटक राजा भएका त्रिभुवनले घोषणा गरेको संविधान सभाको निर्वाचन तिनै 'नाति राजा' दोश्रो पटक राजा भएको बेला हुँदैछ । चैत्र २८ गते हुने संविधान सभा निर्वाचनले उनी र उनका छोरा युवराज पारशका साथै नाति नवयुवराज ह्दयेन्द्र नेपालको राजगद्दीमा बस्न पाउने कि नपाउने भन्ने कुराको फैसला गर्नेछ । राजतन्त्रको भविष्य निर्धारणका अलवा आज हुन लागेको निर्वाचनले करिव २ सय ५० वर्ष पुरानो केन्द्रिकृत राज्य राज्यसत्ताको पुनर्निधारणको जिम्मा कुन दललाई दिने भन्ने कुराकोपनि टुङ्गो लगाउनेछ । सम्पन्नताबाट बिपन्नतातिर कुनैबेला नेपालका राजपरिवारका सदस्यहरुलाई विश्वका धनी व्यक्तिहरुको सूचीमा रहेको चर्चा गरिन्थ्यो । दुई सयवर्षभन्दा बढि शासन गरेको नेपालका राजपरिवारका सदस्यहरुको शान-सौकत देख्नेहरुले यस्तो चर्चा गर्नु अस्वभाविकपनि थिएन । पन्चायतकालसम्म नेपालको राज्यकोष पुरै दरवारको हातमा थियो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि दरवारको आर्थिक हैसियतमा कुनै फरक आएन । दाजु स्वर्गीय बीरेन्द्र र उनका परिवारको नाममा रहेको सबै सम्पत्ति दरवार हत्याकाण्ड लगत्तै राजा भएपछि उनले आआफ्नो नाममा सारे । व्यापारमा समेत संलग्न तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र रुाजगद्दीमा आरुढ भएपछि यसरी देखाएको द्रव्यमोहले उनलाई नेपाली जनतामाझ अरु अलोकप्रिय बनायो । आफ्नै दाजुको सपरिवार हत्याको आरोप उनीमाथि छँदै थियो । सत्ता र सम्पत्तिको लोभमा उनले आफ्नो दाजुको बश नै हत्या गरेको आशंका अधिकांस नेपालीले गर्दै आएको छ । आन्दोलनपछि सरकारले उनको त्यो सम्पत्ति नेपाल सरकारको नाममा स्थानान्तरण गरेको छ भने उनको सत्तापनि खोसिएको छ । उनको नाममा अहिले महाराजगन्जमा रहेको निर्मल निवास लगायत केही चल अचल सम्पत्तिमात्र छ । हनुमानढोका दरवार, गोरखा दरवार, पोखराको रत्न मन्दिर, भरतपुरको दियालो बङ्गला, नुवाकोटको नुवाकोट दरवार, लमजुङ्गको गाउँशहरमा रहेको लमजुङ्ग दरवार, गोकर्ण दरवार, नागार्जुन दरवारलगायतका आधा दर्जन दरवारहरु जफत भैसकेका छन् । राजदरवारको नाममा रहेको ३० हजार रोपनी जग्गाको पहिचानसमेत भैसकेको छ । तीमध्ये कतिपय जग्गा नेपाल सरकारको नाममा दर्ता भैसकेका छन् भने कतिपय हुने तरखरमा छन् । सरकारले दरवारको नाममा रहेको अन्य चलअचल सम्पत्तिपनि खोजविन गरिरहेको छ । फेला परेका सम्पत्तिहरुको रेखदेखकालागि 'नेपाल ट्रष्टको कार्यालय' नामको कार्यालयको स्थापना यसअघि भैसकेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने गरी स्थापना गरिएको सो कार्यालयको प्रमुखको रुपमा नेपाल सरकारका विशिष्ठ श्रेणी सचिव सरहको कर्मचारीको व्यवस्थापनि सरकारले गरिसकेको छ । सम्पत्तिका अलवा उनको अन्य सबैजसो शक्तिपनि खोसिएको छ । अघिल्लो वर्षसम्म उनी शाही नेपाली सेनाको 'परमाधिपति' थिए । अहिले उनको सैनिक परिचय नेपाली सेनाको 'भूतपूर्व परमाधिपति' रुपमा बनेको छ । सेना र दरवारबीच पुलको काम गर्दै आएको उनको सैनिक सचिवालयपनि खारेजीमा परेको छ । थोरै संख्यामै भएपनि दरवारको घोडचढी पल्टन हटाइएको छ । प्रजातान्त्रिक सरकारलाई 'कू' गरेपछि उनी कालो चस्मासहित सैन्य ड्रेसमा अभिनन्दन खान देशव्यापी भ्रमणमा निस्केका थिए । तर उनी सैन्य पोशाकमा देखिन छाडेका छन् । सेनाले यसअघि आफ्नो आदर्श बाक्य 'श्रीपेच भक्ति हाम्रो शक्ति' बनाएको थियो । तर अहिले यी बाक्यहरु सबै मेटिएका छन् । प्रधानसेनापति लगायत सेनाका केही उपल्लो तहका अधिकारीहरु अहिलेपनि राजा र राजतन्त्रको समर्थक नभएका होइनन् । तर जनवलका अगाडि ९५ हजार संख्याको अत्याधुनिक हतियारले सुसज्जित सेनाको नेतृत्व गर्ने प्रधानसेनापतिपनि 'जनताले गरेको निर्णय शिरोधार्य गर्न तैयार छौं' भन्न बाध्य छन् । हिजो जतिसक्यो बढि राजाको चाकरी गर्दा जागिर जोगिन्छ र प्रमोसन पाइन्छ भन्ने धारणा व्याप्त थियो अहिले जति सक्यो बढि राजाको विरोध गरी गणतन्त्रको पक्षमा उभ्याउँदा प्रमोसन पाइन्छ भन्ने धारणाको विकास सेनामा हुन थालेको छ । हिजो दरवारमा जागिर हुने सैनिकहरु आफूलाई रवाफी ठान्थे । आजकल दरवारमा जागिर भएका सैनिकहरु आफ्नो जागिर कहाँ छ भन्ने खुलाउन चाहन्नन् । राजप्रासाद सेवाका कर्मचारीहरुकोसमेत रवाफ हराएको छ । राजपरिवारको दिनचर्या ![]() मुमा बडामहारानी रत्न, राजा ज्ञानेन्द्र, रानी कोमल, युवराज पारश, युवराज्ञी हिमानी, नवयुवराज ह्दयेन्द्र बीर बिक्रम शाहदेव Queen mother Ratna Rajya Laxmi Devi Shah, King Gyanendra, Queen Komal, Crown Prince Pasas, Crown Princes Himani, Prince Hridayendra Bir Bikram Shah Dev. Photos: sources. Illustration: eEyeCam जतिजति संविधान सभाको चुनाव निश्चित हुँदै गयो र चुनाव नजििकंदैपनि गयो राजा ज्ञानेन्द्रमा निराशा बढ्दै गएको श्रोतहरु बताउँछन् । चुनावप्रति अनिश्चितता बढ्दै जाँदा तीन महिना अघि उनले आफू निकटका राजनीतिक कार्यकर्ता र पत्रकारहरुसँगको भेटघाटलाई तीब्रता दिएका थिए । उनमा राजतन्त्रले निरन्तरता पाइराख्छ भन्ने आत्मविश्वास थियो त्यतिबेला । तर चुनाव हुने नै भएपछि राजतन्त्र रहने सम्भावना र उनको भित्री मनमा रहेको आत्मविश्वासपनि क्रमश हराउँदै गएको छ । यही स्थितिकाबीच आजकल राजा ज्ञानेन्द्रको अधिकांस समय नारायणहिटी दरवारमै बित्ने गर्छ । उनी विरलै दरवारबाट बाहिर निस्कन्छन् । गत हप्ता उनी दुई-तीन दिनकालागि नारायणहिटीबाट निस्केर राष्ट्रियकरण भैसकेको नागार्जुन दरवार पुगेका थिए । तर उनी त्यहाँबाट फर्किसकेका छन् । देशमा के भैरहको छ त्यसबारे बुझ्न पत्रपत्रिका पढ्ने र टेलिभिजन च्यानल हेर्ने क्रमलाई भने उनले अहिलेपनि निरन्तरता दिएकै छन् । पहिलेजस्तो दरवार निकटका व्यक्तिहरुसँग भेटघाट गर्ने क्रम अहिले घटेको छ । आजकल युवराज पारशको दिनचर्यापनि महाराजगाजस्थित निर्मल निवासमै बित्छ । जवकि आन्दोलन अघिसम्म उनी डान्स, डिस्कोहरुमा भेटिने गर्थे । आन्दोलनको सफलतापछिपनि उनको आवत-जावत गोकर्णस्थित राजनिकुन्ज नामक दरवारमा बाक्लै हुने गरेको थियो । तर त्यो क्रमपनि घटिसकेको छ । यद्यपी हप्तामा एकचोटि उनी त्यहाँ पुगेका हुन्छन् । नेपालका राजपरिवारका सदस्यहरुको साझा रोग भनेकै मुटु रोग हो । युवराज पारशपनि मुटुको रोगी छन् । करिव ६ महिना अघि यही रोगका कारण उनलाई आकस्मिक रुपले अस्पताल लैजानुपर्यो । समयमै अस्पताल नलगिएको भए उनी अहिले यो धर्तिमा रहन्थे वा रहन्थेनन् भन्न मुस्किल थियो । अत्यधिक चुरोट पिउने वानीका कारण फोक्सोमासमेत खरावी देखिएपछि चुरोटको लतमा डाक्टरहरुले 'ब्रेक' लगाइदिएका छन् । उनको अत्याधिक मदिरापानमापनि 'ब्रेक' लागेको छ । दरवार जति-जति कमजोर हुँदैछ एक समयका उद्दण्ड युवराज पारशको बानी-व्यहोरामापनि क्रमश सुधार आउँदैछ । दरवारको शान-सौकत, शक्ति र रवाफ यतिबिघ्न कमजोर हुनुमा सत्ता, शक्ति र सम्पत्तिका लुब्ध पिता ज्ञानेन्द्र जत्तिकै युवराज पारशपनि जिम्मेवार छन् । लोकतान्त्रिक आन्दोलनको सुरुवात र सफलता भन्दा एक वर्षअघिमात्र करिव २९ लाख रुपैयाँको 'हार्ले एण्ड डेभिड्सन' मोटर साइकल किनेका युवराज पारशको त्यो महंगो मोटरसाइकललाईपनि परिस्थितिले निर्मल निवासभित्रै कैद गरिदिएको छ । राजपरिवारका अन्य प्रमुख सदस्यमध्ये मुमा बडामहारानी रत्न नारायणहिटीभित्रै बस्छिन् । उनको दिनचर्यापनि आजकल भोलिको चिन्ता गर्दै बित्न थालेको छ । उनको अत्याधिक समयपनि धार्मिक कर्म गरेरै बित्छ । यस्तै स्थिति छ- रानी कोमलकोपनि । युवराज्ञी हिमानीले त अझ नेपालमा असुरक्षाको महसुस गरी पति पारशलाई भारतमा गएर बस्न पटक- पटक भनिसकेकी छिन् । राजतन्त्रकालागि अरु अप्ठेरा दिनहरु निकट भविष्यमै सिर्जना हुने र त्यो बेला साना बालकहरुको भविष्य र सुरक्षा तवाह हुने सुझाव उनले पटक पटक दिइसकेको बताइन्छ । अझै छ आशाको त्यान्द्रोपनि यो स्थितिका बाबजुद राजा ज्ञानेन्द्र राजतन्त्रले निरन्तरता पाउँछ भन्नेमा केही आशावादी भने छन् । त्यसैले भारतको देहरादूनमा गएर बसोबास गर्ने र नवयुवराज ह्दयेन्द्रसहित युवराज पारशका अन्य दुई सन्तानलाई उतै पढाउने युवराज्ञी हिमानीको सुझावले सार्थकता पाउन सकेको छैन । ०६३ बैशाख ११ गते नेपाली कांग्रेस र नेकपा एमाले लगायतको सात दलीय गठबन्धनसँग राजतन्त्रलाई कायमै राख्ने भित्री सम्झौता भएको थियो । यही सम्झौताका कारण निलम्बनमै रहेपनि राजतन्त्रले निरन्तरता पाएको राजा ज्ञानेन्द्रको बुझाइ रहेको दरवार निकट श्रोतको भनाई छ । प्रम पुत्री सुजाता कोइराला लगायतका राजावादी कांग्रेस नेताहरुले गरेको गणतन्त्रको विरोधलेपनि उनलाई केही उत्साहित बनाएको छ । राप्रपा नेपाल, राप्रपा र जनशक्ति लगायतका राजावादी पार्टीहरुले प्रत्यक्ष निर्वाचनमा जीत हासिल गर्ने नदेखिएपनि राजतन्त्र पक्षधरहरु समानुपातिक निर्वाचन पद्दतितिरबाट केही सिटमा निर्वाचित हुने पक्कापक्की छ । संविधान सहमतिको आधारमा लेखिने भएकाले समानुपातिक निर्वाचन पद्दतिबाट निर्वाचित हुने राजतन्त्र पक्षधरहरुले राजतन्त्र जोगाउन पहल गर्नेछन् भन्ने विश्वासपनि राजामा रहेको बुझिन्छ । साथै संविधान सभामा निर्वाचित हुने नेपाली कांग्रेसका केही नेताहरुलेपनि राजतन्त्र राख्न सघाउ पुर्याउने विश्वासमा दरवार छ । सहमतिको आधारमा संविधान लेख्ने नाममा नेपालमा माओवादी 'टेक ओभर' को विपक्षमा रहेका भारत, अमेरिकालगायतका देशले राजतन्त्रको निरन्तरताकालागि दिने दवावले संविधान सभा चुनावपछिपनि राजतन्त्र रहन सक्छ भन्ने आशाको त्यान्दोलाई जीवितै राखेको छ । संविधान सभा चुनावमा हुन नसकेको बाम तालमेलपनि दरवारलाई थोरै भएपनि उत्साहित बनाउने अर्को विषय हो । विगत दुई-तीन दिन यता राजनीतिक बृत्तमा के चर्चा चल्न थालेको छ भने नेकपा एमाले को नेतृत्व वाम तालमेलको पक्षमा नदेखिनुको भित्री कारण राजतन्त्र राख्नुपर्छ भन्ने पक्षमा रहेकाले हो । किनभने वाम तालमेल भैदिएको भए गणतन्त्रवादीको रुपमा चिनिने कम्युनिष्टहरुको बहुमत संविधान सभामा पक्का हुने थियो । त्यो स्थितिमा माओवादीले ल्याउने गणतन्त्रको प्रस्तावमा एमालेपनि सहमत हुनै पर्थ्यो । बहुमत नल्याएपनि माओवादीले चुनावपछि संविधान सभाको बैठकमा गणतन्त्रको प्रस्ताव ल्याउने निश्चित छ । र नेपाली कांग्रेसका केही नेताहरु संविधान सभामा निर्वाचित हुने राजावादीहरुले त्यसको विरोध गर्ने निश्चित छ । वामपन्थीहरुको बहुमत नभएपछि 'हाम्रो बहुमत छैन त्यसैले राजतन्त्र राख्ने कुरामा सहमति जनायौं' भन्न सजिलो हुने भएकाले एमाले बाम तालमेलको विपक्षमा उभिएको भन्ने कतिपयको भनाई छ । नारायणहिटी दरवारको पूर्वी सहायक ढोका अगाडि माओवादी अध्यक्ष प्रचण्डलाई गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति भनेर लेखिएको स्वागतद्धार Photo: Sitaram Baral आशाको त्यान्द्रो जति छ त्यो भन्दा बढि सम्भावना छ- चुनावलगत्तै राजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने सम्भावनापनि । त्यो सम्भावनाको संकेत नारायणहिटी दरवारको ठीक पूर्वपट्टि बनाइएको एउटा स्वागतद्धारले गरेको छ जहाँ 'भावी गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति प्रचण्डलाई स्वागत र लालसलाम' भन्ने नारा लेखिएको छ । र आफ्नै नाक अघिल्तिर झुण्डिएको त्यो हटाउने आँट दरबारले गर्न सकेको छैन। |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®