सार्वजनिक विद्यालयका कर्मचारीहरुले रु ५ सयमा काम
गर्दै
काठमाडौँ, September 17, 2008- सार्वजनिक विद्यालयमा कार्यरत
कर्मचारीहरुले शिक्षक समानको अधिकारको माग गरेका छन् । बुधबार एक पत्रकार
सम्मेलनको आयोजना गरी उनीहरुले सरकारले कर्मचारी नियुक्त गरेपनि
शिक्षकभन्दा कम सुविधा र अधिकार दिएको भन्दै समान अधिकारको माग गरेका हुन्
।
सार्वजनिक विद्यालय कर्मचारी समूहले ३३ हजारभन्दा बढी कर्मचारीमाथि अन्याय
भइरहेको बताएकोछ । समूहका संयोजक सुरेन्द्रप्रसाद कानुले कर्मचारीहरुलाई
विस्थापित बनाउन खोजिएको भन्दै कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
२०३६ सालदेखि कर्मचारीहरु अन्यायमा परेको भन्दै कतिपय विद्यालयमा
प्रतिमहिना रु ५ सय र रु ८ सय तलबमासमेत काम गरिरहेको उनको कथन छ । उनले
भने-'मासिक ५ सय रुपियाँ तलबमा काम गर्नुपर्ने कहांको न्याय हो ?'
सो समूहले शिक्षामन्त्री रेणुकुमारी यादवलाई भेटी आफूहरुमाथि परेको
अन्यायबारे जानकारी गराएको छ ।