राष्ट्रपति व्यवस्था नै नभएको मुलुकमा राष्ट्रपतीय अध्ययन भ्रमण?
काठमाण्डौं, November
21, 2008- राष्ट्रपति कार्यालयको एउटा उच्चस्तरीय टोली राष्ट्रपतिय
व्यवस्था सम्बन्धमा अध्ययन गर्न राष्ट्रपतिको व्यवस्था नै नभएको मुलुकमा
जाने भएको छ ।
आगामी महिना राष्ट्रपति कार्यालयका सचिव डा. रामहरि अर्यालसहितको टोली
जर्मनीको भ्रमणमा जान लागेको हो ।
राष्ट्रपति कार्यालयका अधिकारीहरु राष्ट्रपतीय प्रणालीको अध्ययन गर्न जान
लागेको जर्मनीमा भने राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छैन । सो देशमा
राष्ट्रप्रमुखका रुपमा चान्सलरको व्यवस्था गरिएको छ भने सरकार प्रमुखका
रुपमा प्रधानमन्त्री छन् । आगामी महिना हुने सो अध्ययन भ्रमण ३ देखि ५
दिनसम्मको हुने बताइएको छ ।
नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएपछि डा. रामवरण यादवले कुनै विदेशी
मुलुकको भ्रमण गर्ने अवसर पाएका छैनन् । तर उहाँलाई उछिनेर उहाँको
कार्यालयका वरिष्ठ अधिकारीहरु भने राष्ट्रपतीय व्यवस्थाको अध्ययन गर्न
राष्ट्रपतिको व्यवस्थै नभएको देशको भ्रमणमा जान लागेका हुन् ।
राष्ट्रपति कार्यालयका सचिव डा. रामहरि अर्यालको नेतृत्वमा जाने सो टोलीमा
राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबहादुर बस्नेत, राष्ट्रपति कार्यालयका
उपसचिव काशीराज आचार्य र राष्ट्रपति डा. यादवका निजी सचिव समिर यादव रहने
बताइएको छ ।