विज्ञान प्रविधिद्वारा जनतालाई राहत दिन राष्ट्र
प्रतिबद्ध-राष्ट्रपति डा. यादव
काठमाण्डौं, November
23, 2008-
राष्ट्रपति डा. रामवरण यादवले सङ्क्रमणको अवस्थामा रहेको
नेपालको राजनीतिलाई तार्किक निष्र्कषमा पुर्याई शान्ति सुव्यवस्था सहित
विज्ञान प्रविधिको विकास गरी जनतालाई राहत दिन राष्ट्र प्रतिबद्ध रहेको
धारणा राखेका छन् ।
कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस्द्वारा आयोजित
औषधिमूलक वस्तु तथा उपचार र पुनःउत्पादनसम्बन्धी कार्यशालाको मंसिर ८ गते
उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
तीन दिनसम्म चल्ने सो कार्यशालामा राष्ट्रपति डा. यादवले प्रविधिको
द्रुतत्तर विकास एवम् विस्तारका क्रममा औषधिजन्य नयाँ उपकरण तथा वस्तुका
सन्दर्भमा ताजा जानकारी लिन र द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्ध विस्तार
गर्न अन्तरराष्ट्रिय तहका वैज्ञानिक प्रतिभा सम्मिलित कार्यक्रम सफल हुने
विश्वास गरे ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुरेशराज
शर्मा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा.
होमनाथ भट्टराई र पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर
रामअवतार यादवले स्वास्थ्य तथा विज्ञान प्रविधिको अध्ययन अनुसन्धान फाँटलाई
विस्तार गरी नयाँ आविष्कार भएका वस्तुलाई सामान्य जनताको पहुँचभित्र ल्याउन
पहल गर्न सम्बद्ध प्रतिभाहरुसँग अनुरोध गरेका थिए ।