राजिनामा दिईसकेका खेलकुद मन्त्री प्रदीप नेपाल बेइजिङ्ग उडेपछि एमाले
कै स्पष्टीकरण माग काठमाडौं, August 5, 2008-चार महिना पहिले राजिनामा दिईसकेका शिक्षा तथा खेलकुद मन्त्री
प्रदीप नेपाल बेइजीङ्ग ओलम्पीकमा सहभागी हुन गए पछि पार्टीले स्पष्टीकरण
माग गर्ने भएको छ ।
साउन २० गते खेलाडीहरुसँगै मन्त्री नेपाल पनि चीन उडेका हुन् । आफूलाई खरो
स्वभावको बताउने मन्त्री नेपाल यसअघि पनि मन्त्रीको हैसियतमा धेरै
कार्यक्रममा सहभागी बनी सकेका छन् ।
एमाले संविधान सभा दलको कार्यालयमा साउन २१ गते बसेको स्थायी कमिटी वैठकले
मन्त्री नेपालसँग स्पष्टीकरण माग्ने निर्णय गरेको एक स्थायी सदस्यले बताएका
छन् । संविधान सभामा निर्वाचनमा पार्टी पराजित भएकाले सरकारमा बस्ने जनादेश
नभएको भन्दै एमाले निर्वाचन नतिजा आए लगत्तै सरकारबाट बाहिरिएको थियो ।
एमाले स्थायी समिति सदस्य अमृत कुमार बोहोराले मन्त्री नेपाल आएपछि त्यस
विषयमा छलफल गरिने बताए । मन्त्री नेपाल लगायतको टोली ओलम्पीकमा जान
लागेकोमा विमान स्थलमा समेत विरोध प्रर्दशन भएको थियो ।
आज बसेको स्थायी कमिटीको वैठकले राष्ट्रिय सहमतीको सरकारमा मात्रै एमाले
सहभागी बन्ने निर्णय गरेको छ । 'काँग्रेस वा माओवादीसँग मात्रै मिलेर
सरकारमा जाँदैनौ । सबै मिलेर बनेको सरकारमा मात्रै एमाले जान्छ ।' स्थायी
समिति सदस्य बोहोराले युएस नेपाल अनलाइनलसँग भने।
अर्का स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले भने सम्मान जनक हैसियत पाए
मात्रै एमाले सरकारमा जाने बताए । माओवादीले प्रधानमन्त्री लिए गृह मन्त्री
छाड्नु पर्ने ओलीको भनाई थियॊ ।