प्रचण्ड र किरणका प्रतिवेदनमाथि दुई धारमा रहेर
टिकाटिप्पणी
काठमाण्डौं, November 20, 2008- भक्तपुरको खरीपाटीमा जारी नेकपा माओवादी
केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता
मोहन वैद्य 'किरण'का प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुको बोल्ने क्रम
सकिएकॊ छ ।
केन्द्रिय समितिको वैठक लम्बिएपछि मंसिर ५ गतेदेखि हुने भनिएको राष्ट्रिय
कार्यकर्ता भेला ६ गतेमात्रै शुरु हुने भएको छ ।
केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ भोलि विहान अध्यक्ष प्रचण्ड र
नेता वैद्यले दिने कार्यक्रम छ । गणतन्त्रको मोडेल र पार्टीको आगामी
कार्यदिशामा बारेमा केन्द्रीय सदस्यहरु दुई किसिमको विचार राखेको स्रोतको
दाबी छ ।
यसअघि हिजोको बैठकमा नौ जना केन्द्रीय सदस्यहरु स्पष्ट दुई धारमा रहेर
टिकाटिप्पणी गरेका थिए । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा मुख्य कार्यनीति
संविधान सभामार्फत् संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत
गर्दै जनगणतन्त्रको लक्ष्य लिने भन्ने छ भने किरणले तत्कालको कार्यनीति सफल
भइसकेकाले तत्काल जनविद्रोह र जनगणतन्त्रको लक्ष्य लिनुपर्ने बताउनुभएको छ
। यसअघि पनि कार्तिक २५ गतेदेखि शुरु हुने भनिएको माओवादीको राष्ट्रिय
कार्यकर्ता भेला मंसिर ५ गतेका लागि सरेको थियो ।