काठमाण्डौं,
December 8, 2008-प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहिद
गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका काँग्रेस
सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति बारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंसिर २३ गते विहान कोइरालालाई भेटगरी
स्वास्थ्यलाभको कामना गर्नुभयो । प्रधानमन्त्री प्रचण्डका साथ अर्थ मन्त्री
डाक्टर बाबुराम भट्टराई पनि सहभागी थिए । करीब पन्ध्र मिनेटसम्म कोइरालालाई
भेटेर बाहिरीएका प्रधानमन्त्री
प्रचण्डले सन्चारकर्मीहरुसँगको कुराकानीमा
कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पूर्वप्रधानमन्त्री कोइरालाले
भने-'मेरो रोग निको हुने र नहुने तपाईंको हातमा छ' । प्रत्युत्तरमा
प्रधानमन्त्री प्रचण्डले निको पारेरै छाड्ने प्रतिबद्धता जनाएको सन्चारकर्मीलाई बताए।
काँग्रेसको जनजागरण अभियानका क्रममा धनगढीबाटबाट काठमाडौं फर्कने क्रममा
एक्कासी अस्वस्थ भएपछि काँग्रेस सभापति कोइरालालाई मंसिर २२ गते बाँसबारी
स्थित गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । उपचारका संलग्न
चिकित्सकहरुले फोक्सोको तल्लो भागमा निमोनिया भएको भएपनि स्थितिमा क्रमिक
सुधार भइरहेको जानकारी दिएका छन् ।
डाक्टर भगवान कोइरालाको नेतृत्वमा चार सदस्यीय चिकित्सकको टोली काँग्रेस
सभापति कोइरालाको उपचारमा संलग्न छ ।