काठमाण्डौं, December 27, 2008- लोडसेडिङ्गका कारण जनता मर्कामा परेपनि
पेट्रोलियम पदार्थमा भने जनताले थप राहत पाउने भएका छन् । नेपाल आयल निगमले
खाना पकाउने ग्याँस लगायत पेट्रोलियम पदार्थमा शुक्रबारदेखि मूल्य घटाएको छ
। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार मूल्य
समायोजन गरिएको निगमले बताएको छ ।
समायोजित नयाँ मूल्यअनुसार ग्याँस प्रति सिलिण्डरमा ५० रुपैयाँ घटेको छ ।
यसअघि एक सिलिण्डर ग्याँसको मूल्य १ हजार २ सय पर्ने गरेकोमा अब
ग्राहकहरुले १ हजार १ सय ५० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ग्याँस
बिक्रीबाट अझै निगम घाटामा रहेको बताइएको छ । पेट्रोल डिजेल र
मट्टितेलकोपनि मूल्य घटेको छ ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेअनुसार उपभोक्ताहरुले अब ८०
रुपैयाँ प्रतिलिटरमा पेट्रोल प्राप्त गर्न सक्नेछन् भने डिजेल तथा मट्टितेल
प्रतिलिटर ६० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यी दुबैमापनि प्रतिलिटर
पाँच रुपैयाँका दरले मूल्य घटेको छ । हवाई इन्धनमापनि मूल्य घटाइएको निगमले
जनाएको छ ।
यसअघि पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि अनुसार दैनिक उपभोग्य
बस्तुमापनि मूल्यबृद्धि भएको थियो । तर पेट्रोलियम पदार्थको मूल्य घटेपनि
उपभोग्य बस्तुहरुको मूल्य भने व्यापारीहरुले कम गराएका छैनन् । त्यसैले
अहिले पेट्रोलियम पदार्थमा मूल्य घटेपनि दैनिक उपभोगका बस्तुमा
सर्वसाधारणले कुनै राहत पाउने देखिएको छैन ।