नयाँ सरकार २४ सदस्यीय हुने? काठमाडौं, August 16, 2008- नेकपा माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भदौ २ गते
भित्र नयाँ सरकार गठन भईसक्ने बताएका छन्।
शक्ति बाँडफाँडको विषयमा तीन दलवीच सहमती बन्न नसकी रहेको अवस्थामा नेता
भट्टराईको यस्तो भनाई सार्वजनिक भएको हो । उनले सरकारमा सहभागी सबै
मन्त्रीहरुले एकै पटक सपथ ग्रहण गर्ने बताए ।
आफ्नो पार्टीले उद्योग र आपूर्ति मन्त्रालय छुट्टाछुट्टै बनाउन चाहेको उनले
बताए । नेता भट्टराइका अनुसार युवा र खेलकुद मन्त्रालय पनि छुट्टै निर्माण
गरिनेछ । यस हिसाबले अब बन्ने नयाँ सरकार प्रधानमन्त्री सहित २४ सदस्यीय
हुनेछ ।
माओवादीले ९, एमालेले ६ र फोरमले ४ मन्त्रालय लिएपछि बाँकी रहेको मन्त्रालय
साना दलले पाउने छ ।
माओवादी नेता भट्टराईले सरकारमा तीनै दलको सम्मान जनक सहभागिता रहने बताए ।
उता सरकार सन्चालनका लागि न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनेको
कार्यदलले मन्त्रीहरुले पालना गर्नु पर्ने आचार संहिताको खाका तयार
पारिसकेको छ । तर त्यसमा हस्ताक्षर हुन बाँकी रहेकाले सार्वजनिक नगरिएको
कार्यदलका सदस्य भीम रावलले जानकारी दिए । रावलका अनुसार साझा न्यूनतम
कार्यक्रममा पनि सैद्धान्तिक सहमती भईसकेको छ ।
तीन सदस्यीय कार्यदलमा रावल वाहेक माओवादीबाट देव गुरुङ्ग र फोरमबाट
जयप्रकाश प्रसाद गुप्ता सदस्य रहेका छन् ।