मधेशमा विभाजन ल्याएर शासन गर्ने खेल भइरहेको मन्त्री गुप्ताको
आरोप
विराटनगर, 12 Mar, 09- मधेशका विभिन्न समुदायलाई उचालेर विभाजित ल्याउन
नेकपा एमाले, नेपाली कांग्रेस र चुरे भावर एकता समाज लगायत लागेको आज
मोरंगमा पत्रकारहरुसंग कृषिमन्त्री जयप्रकाशप्रसाद गुप्ताले आरोप
लगाउंनुभयो ।
मधेशी जनअधिकार फोरमका वरिष्ठ नेता तथा कृषि मन्त्री गुप्ताले मधेशको जायज
मागजलाई सम्बोधन गर्नुको साटो मधेशमा विभाजन ल्याएर शासन गर्ने खेल भइरहेको
भन्दै सशक्त आन्दोलनको चेतावनी दिनुभयो ।
सरकारले ल्याएको समावेशी सम्बन्धि अध्यादेश फिर्ता लिएमा सरकार छाडेर सडकमा
आउने र थारु आन्दोलनको बहानामा अध्यादेश फिर्ता गर्न खोजिएमा परिणाम जे पनि
हुन सक्ने मन्त्री गुप्ताले बताउंनुभयो ।
मन्त्री गुप्ताले थारुको अधिकारका लागि आफुहरु पनि गम्भिर भएको भन्दै
मधेशलाई अधिकारसम्पन्न हुन नदिन चलखेल भइरहेको समेत बताउंनुभयो । थारु
आन्दोलनमा उठेका कतिपय मागहरुको आलोचना गर्दै केही व्यक्ति फटहा र
राजावादीहरुको चंगुलमा फसेकोले जायज माग भन्दा अन्य मागमा जोड दिइदै
आइरहेको मन्त्री गुप्ताले बताउंनुभयो ।
यसरी मधेशलाई समस्यामा पार्न खोजियो भने देश गृहयुद्धमा जाने खतरा रहेको
समेत संकेत गर्नुभयो । यसअघि सदभावना अध्यक्ष मन्त्री राजेन्द्र महतोले पनि
सडक आन्दोलनको कुरा उठाएका थिए ।