एकतापछि संविधान सभामा माओवादीको संख्या २ सय ३७ हुने
काठमाण्डौं, October 12, 2008-संविधान सभाको सबैभन्दा ठूलो
कम्युनिष्ट दल नेकपा माओवादी र अर्को सत्तारुढ दल नेकपा एकता केन्द्र-मसाल
बीच छिट्टै एकता हुने भएको छ ।
पार्टी एकताबारे माओवादी अध्यक्ष प्रचण्ड र 'एकता केन्द्र-मसाल' का महासचिव
'प्रकाश' नारायणकाजी श्रेष्ठ बीच शनिवार निर्णायक कुराकानी भएको छ ।
जनयुद्ध सुरु हुनुअघि दुवै समूह नेकपा एकता केन्द्रमा आवद्ध थिए । दुई
पक्षबीच जनयुद्ध सुरुवात गर्ने विषयमा मतभिन्नता देखिएपछि
प्रचण्ड-बाबुराम-किरणलगायतका नेताहरुको नेतृत्वमा नेकपा माओवादीको गठन भएको
थियो । अर्को समूहको नेतृत्व निर्मल लामा र प्रकाशहरुले गरेका थिए ।
लामो समयको छलफलपछि दुबै पार्टी एकता गर्न सहमत भएका थिए । यसकालागि दुबै
दलले उच्चस्तरीय संयन्त्रपनि बनाएका छन् । संविधान सभा चुनावअगावै पार्टी
एकता गर्ने भनिएपनि नेतृत्व समायोजनसम्बन्धी विवादका कारण त्यसबेला एकता
सम्भव भएको थिएन । शनिवार यसबारेमापनि सहमति भएको बुझिएको छ ।
एकता केन्द्र-मसालका बहुमत नेताहरु माओवादीसँग एकता गर्न सहमत देखिएपनि
अमिक शेरचन लगायतका नेताहरु भने एकताको विरुद्धमा उभिएको बताइएको छ ।
यद्यपी उनीहरुको विरोधका बाबजुद निकट भविष्यमै दुवै दलबीच एकता हुने भएको छ
। एकता भएपछि संविधान सभामा नेकपा माओवादीको सीटसंख्या २ सय ३७ हुनेछ ।