किरात स्वायत्त राज्य स्थापनाका लागि किरात राई
विद्यार्थीहरुको अभियान
काठमाण्डौं, December 17, 2008- किरात स्वायत्त राज्य स्थापनाका लागि किरात
राई विद्यार्थीहरुले वृहत अभियान सुरु गर्ने भएका छन् ।
काठमाण्डौंमा ३ दिनसम्म चलेको किरात राई विद्यार्थी संघको बैठकले वृहत
अभियान थाल्ने निर्णय गरेको हो ।
अभियानमा पूर्वी नेपालका सबै जिल्लामा कार्यकर्ता निर्माण गरिने छ । पुष १२
गतेदेखि सुरु हुने अभियान महिना दिनसम्म चल्ने केन्द्रीय सदस्य धर्मेन्द्र
राईले जानकारी दिनुभयो ।
अभियानका लागि ३ वटा टोली खटाइएका छन् । टोलीले मोरङ्ग सुनसरी झापादेखि
अभियान सुरु गर्नेछ । अभियान अन्तर्गत पूर्वी नेपालका सबै जिल्लामा
कार्यकर्ता निर्माण गरिने उहाँले बताउनुभयो ।
'संघीय नेपालको संविधान निर्माण, किरात राज्यको सुनिश्चितताका लागि अभियान
गर्न लागिएको हो' राईले भन्नुभयो ।
कार्यकर्ता निर्माणको कार्य सकिएपछि किरात राई यायोक्खाको वृहत सभामा
सहभागी हुँदै जागरण छलफल प्रचारप्रसार गरिने छ । उहाँले भन्नुभयो 'अभियानको
अन्तिम लक्ष्य किरात राज्य स्थापना हो ।'
किरात राई विद्यार्थी संघको बैठक काडमाण्डौंमा मंसिर २९ गते देखि पुष १
गतेसम्म चलेको थियो ।
यसअघि किरात राई यायोक्खाले पूर्वका १७ वटा जिल्लालाई समेटेर किरात राज्यको
प्रस्ताव सार्वजनिक गरेको थियो ।