काठमाण्डौं, October 22, 2008- जनमोर्चा नेपालले पार्टी अध्यक्ष अमिक शेरचन
माथिको कारवाही फुकुवा गरेको छ । कार्तिक ५ गतेदेखि शुरु केन्द्रीय समितिको
बैठकले अध्यक्ष शेरचनले पार्टी प्रति देखाएको वफादारितालाई सम्मान गर्दै
ससम्मान कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिको चुनावमा पार्टी निर्देशनको उल्लङ्घन गरेको ठहर गर्दै
जनमोर्चाले अध्यक्ष शेरचनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
त्यसपछि लिलामणी पोखरेललाई कार्यवाहक अध्यक्ष बनाइएको थियो ।
यसैबीच बैठकले आउँदो २५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले क्रन्तिकारी कम्युनिष्ट पार्टीहरुसित एकीकरण गर्नुपर्ने ठहर गर्दै
एकीकरणको टुङ्गो राष्ट्रिय सम्मेलनले लगाउने निर्णय गरेको छ । पार्टीको
भावी रणनीति तय गर्न र एकता प्रकृयाका विषयमा टुङ्गो लगाउन राष्ट्रिय
सम्मेलन गर्न लागिएको कार्यवाहक अध्यक्ष पोखरेलले बताए ।