पूर्व राजा ज्ञानेन्द्र वैवाहिक समारोहमा भाग लिन भारत जाँदै काठमाण्डौं, December 28, 2008-गणतन्त्रको स्थापनापश्चात् नागार्जुन र निर्मल निवासमा सौम्य
जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र भारत जान खोजेको खुलाशा भएको छ ।
यसका निम्ति पूर्व राजाले मंसीरको अन्तिम हप्ता भारतीय राजदूत राकेश सुदसँग
कुराकानीसमेत गरिसकेको श्रोतले बताएको छ ।
पूर्व राजा ज्ञानेन्द्रले भारतीय राजदूत राकेश सुदसँग मंसीरको अन्तिम साता
भेट गरेको प्रचार भएको थियो । सन्चार माध्यमहरुले भारतीय राजदूतसँगको उनको
भेट लोकतन्त्र र गणतन्त्र विरुद्ध अभियान सुरु गर्नकालागि भनी प्रचारित
गरेपनि उनले एउटा बैबाहिक कार्यक्रमकालागि भारत जाने सम्बन्धमा कुराकानी
गर्न भेट गरेको श्रोतले बताएको छ ।
जानकारीअनुसार पूर्व राजा ज्ञानेन्द्र भारतको उडिसाअन्तर्गतको कालाहाण्डी
भन्ने स्थानमा जान खोजेका छन् । आगामी फेब्रुअरी २७, २८ र मार्च १ (फागुन
१६, १७ र १८ गते) हुन लागेको एउटा वैवाहिक समारोहमा भाग लिन त्यहाँ जान
लागेका हुन् ।
आगामी फागुन १६ मा उडिसामा ज्ञानेन्द्रकी बहिनी पर्ने एक जना नातेदारको
विवाह हुन लागेको छ । राजा त्रिभुवनकी माहिलीछोरी शाहज्यादी भारतीको विवाह
भारतको मयुरगन्ज निवासीसित भएको थियो । भारतीकी कान्छीछोरी श्रीधरशमशेरकी
जेठी-बुहारी हुन् । उनीहरु यतिबेला लन्डनमा बसोवास गर्छन् ।
तिनै भारतीकी माहिली छोरीको विवाह फागुनमा हुन लागेको हो । नाताले बहिनी
पर्ने बेहुलीको उमेर ३३ वर्षको स्रोतले बतायो । ज्ञानेन्द्र तिनै बहिनी
पर्नेको विवाहमा जान लागेका हुन् । पूर्व राजा ज्ञानेन्द्रले यही वैवाहिक
समारोहमा जानका लागि भारतीय राजदूत राकेश सुदसित आग्रह गरेका थिए।