काठमाडौं, July 17, 2008-
प्रधानसेनापति रुक्माङ्गद कटवालले संघीयताले देश विभाजन गर्ने संकेत
दिदै त्यो स्थितिमा नेपाली सेना परिचालन हुने बताएका छन् ।
मंगलबार विभिन्न साप्ताहिक पत्रिकाका सम्पादकहरुलाई रात्रिभोज
कार्यक्रमको आयोजना गरी कटवालले यो कुरा बताएका हुन् । रात्रिभोजको
आयोजना शशीभवनस्थित प्रधानसेनापतिको सरकारी निवासमा आयोजना गरिएको थियो
।
जानकारी अनुसार उनले संघीयताको नाममा देश विभिन्न टुक्रामा विभाजन हुन
लागेको बताउँदै त्यो स्थितिमा देश जोगाउन संघर्ष गर्नुपर्ने र
त्यसक्रममा रक्तपातको सिर्जना हुनसक्नेपनि बताएका थिए । 'त्यो बेला
सेना परिचालन हुनसक्छ' उनले सम्पादकहरुसँग भने- 'यस्तो स्थितिमा
मानवअधिकार हनन भयो नभनिदिनु होला ।'
'उनले यसरी संघीयताको विरुद्धमा बोल्न थालेपछि हामीले तपाईंले
संघीयताको विरोध गर्नुभएको हो भनेर सोध्यौं र त्यसो हो भने यो
अभिव्यक्तिको विरोध गर्नुपर्ने हुन्छ भन्यौं' एक सम्पादकले
प्रधानसेनापतिसँग भएको कुराकानीबारे जानकारी दिदै भने- 'त्यसपछि उनले
प्रसङ्ग अन्यत्रै मोडे, प्रधानसेनापतिले संघीयतालाई आधार बनाएर वर्तमान
राजनीतिक परिवर्तनका विरुद्ध सेना परिचालन गर्न खोजेको बुझिएको छ ।'