काठमाडौं, August 6, 2008-राष्ट्रपति निर्वाचनमा माओवादी समर्थक उम्मेदवार रामराजाप्रसाद
सिंहलाई भोट नदिएपछि जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनको पद खोसिएको छ ।
जनमोर्चाको साउन २० र २१ गते बसेको केन्द्रिय समितिको वैठकले यस्तो निर्णय
गरेको हो । यस अघि जनमोर्चाको मातृसंगठन एकता केन्द्र मसालले पनि शेरचनलाई
निलम्बन गरिसकेको छ । राष्ट्रपतिको निर्वाचनमा शेरचन वाहेक सातै जना
सभासदले सिंहलाई मत दिएका थिए ।
जनमोर्चा अध्यक्ष पदबाट तीन महिनाको लागि निलम्बित शेरचनलाई संविधान
सभादलको नेताबाट पनि हटाइएको छ ।
शेरचन माओवादीको सहयोगमा चितवन क्षेत्र न. ५ बाट संविधान सभा सदस्यमा
निर्वाचित भएका हुन।
माओवादीको भोटले जितेर उसैको विरोध गरेको भन्दै सभासदबाट फिर्ता बोलाउन
हस्ताक्षर संकलन गरिएको थियो । संविधान सभा अध्यक्ष सुवास चन्द्र
नेम्वाङ्गलाई चितवन ५ का १७ हजार मतदाताको हस्ताक्षर रहेको छ ।
जनमोर्चा नेपालको कार्यवाहक अध्यक्षमा लिलामणी पोखरेललाई ल्याइएको छ ।