कृषि प्रधान नेपालमा ०.८
हेक्टर मात्र प्रतिपरिवार भूमि
काठमाडौँ, September 16, 2008-
स्थानीय विकासमन्त्री रामचन्द्र झाले सरकारले वैज्ञानिक एवम्
क्रान्तिकारी भूमिसुधार कार्यक्रमलाई उच्च प्राथमिकताका साथ लागु गर्ने
बताएका छन्।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र एसिया तथा प्रशान्त क्षेत्रको लागि
एकीकृत ग्रामीण विकास केन्द्रले संयुक्त रुपमा आयोजना गरेकॊ 'नेपालमा
ग्रामीण गरिबी र भूमिमाथिको पहुँचः नीति र कार्यक्रममा पर्ने प्रभाव' विषयक
गोष्ठीको उद्घाटनको क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
दुई दिनसम्म चल्ने सो गोष्ठीको भदौ ३१ ग्ते उद्घाटन कार्यक्रममा बोल्दै
मन्त्री झाले भने 'भूमिको असमान वितरणलाई अन्त्य नगर्ने हो भने वर्तमान
राजनीतिक परिवर्तनले स्थायित्व पाउन सक्दैन ।' नेपाल जस्तो मुलुकमा
क्रान्तिकारी भूमि सुधारको विकल्प नभएको उनको भनाई थियो ।
यसअघिका भूमिसुधारसम्बन्धी कार्यक्रम परिणाममुखी हुन नसकेको बताउँदै
मन्त्री झाले भूमि व्यवस्थापनसम्बन्धी अहिलेसम्म भएका अध्ययन तथा
अनुसन्धानलाई आधार मानेर नयाँ ढङ्गले भूमि व्यवस्थापन लागु गर्नु पर्ने
बताए ।
गरिब तथा वास्तविक जोताह किसानलाई भूमिको मालिक नबनाउँदासम्म कृषि उत्पादन
वृद्धि नहुने र गरिबी पनि उन्मूलन नहुने मन्त्री झाले ठोकुवा गरे।
कार्यक्रममा अनुसन्धानकर्ता जगन्नाथ अधिकारीले भूमि क्षेत्रभन्दा भूमि
घरधुरी सङ्ख्या छिटो बढेकाले प्रति परिवार भूमि घट्दै गएको र हाल केवल ०.८
हेक्टर मात्र प्रतिपरिवार भूमिरहेको जानकारी दिए ।